Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार
rajendra

भट्टिमा राजेन्दरको वयान १

१९ मंसिर २०७५, बुधबार १९:५६

लोकप्रिय

ललीपप लागेलु जिल्ला टप लागेलु राजेन्दरको मोबाइलमा बजिरहेको बखत गीतको हरेक बदलिँदो हरफसंग उ लोकल दारुको नीट सिप लाइरहेको छ । हल्लाखल्ला छ, भट्टि छ, राजेन्दर छ, गीत छ, आधा बोतल स्ट्रगं बियर बाँकी छ, काठको बेन्चमा म उसंग बसिरहेको छु अनि मेरो हातमा पनि बियरको ग्लास छ ।

हामी दशैलाई बिदा गर्दै छौं, राजेन्दर आज नवरात्रिभरि पूजा गरिएको दुर्गाको मुर्ति छेउको खोलामा सेलाएर आएको हो । नवरात्रिमा तराईका पूज्ने दुर्गाका मुर्तिहरु माटो र परालले बनाइएको हुन्छ जस्लाई नवरात्रि पश्चात नजिकको नदिमा बगाएर बिसर्जन गरिन्छ । आज राजेन्द्रको ट्याक्टरको डालीमा दुर्गाको मुर्तिसहित एकहुल जन्ती नै गएका थिए रे, मुर्ती भसाउन ।
नदि पवित्र छ, त्यहाँ मुर्दा देखि मुर्तिसम्म सेलाइन्छ । राजेन्द्रसंग धेरै पराल अनि माटोका र धेरै हाड अनि मासुका दुर्गाहरु खोलासम्म पूर्याएको अनुभव छ ।

नवरात्रि अघि मटिहानीमा सासु र जेठाजुले दाइजो नपाएको झाेंकमा जलाएकी हाड र मासुले बनेकी दुर्गाको लाश पनि राजेन्दरकै ट्याक्टरमा सदरमुकाम सम्म पोष्टमार्टम गर्न लगिएको हो ।
संझदा पनि मेरो मन दिगमिग्ँयाउछ, राजेन्दर मुख बिगार्छ । मेरो टेलारीमा मुर्ति, जन्ती, जानवर, मलामी, परदेशीको काठको बाकस अनि गिटी बालु सब चढेको छ । उसको मोबाइलमा नयाँ गीत शुरु हुन्छ, तनिसा जिन्स ढिला कर तनिसा जिन्स ढिला कर

अब केही कुरा राजेन्दरका बारे, हिन्दी फिल्मका जुब्ली स्टार राजेन्द्र कुमारका फ्यान भएका बुवाले यिनको नाम राजेन्द्र राखेका हुन् । तराइमा नामको पछाडि आउने र पछि जान्छ, सुरेन्द्र सुरेन्दर बन्छ, धिरेन्द्र धिरेन्दर बन्छ अनि राजेन्द्र भए राजेन्दर । उ म भन्दा जेठो हो, उसले मलाई तँ भन्छ र म उसलाई तपाँई भन्छु । स्थानीय भाषामा तँ तँपाईमा खासै फरक छैन् । मेरो अनन्य छिमेकी र बालसखा राजेन्दर एउटा धमिलो इतिहास भएको आलिशान वर्तमान हो, म क्रमश उक्काँउदै जाँउला उसका बारे ।

राजेन्दर हाम्रो खेतको पूर्व मोहीको नाती, आफ्नो समयमा गुण्डागर्दिमा नामुद अनि कुख्यात राजेन्दर अहिले पनि हक्की छ, डराँउदैन् । गतवर्ष मेयरको टिकट पाएको राजेन्दरले चुनावमा हारे, अर्को चुनावमा ठोकुवाका साथ जित्छु राजेन्दरले बाजि नै थापेको छ । अहिलेको मेयरको पनि उ अनन्य व्यापार सहयोगी भने पनि हुन्छ । व्यापारमा पार्टी हुँदैन राजेन्द्र थप्छ, उसले मलाई हरायो त के भयो ? उसको सबै रोड, घर, पूल वाला ठेक्काको काममा गिटी बालु बोक्न मेरै टेलारी र टिपर त जान्छ, कमिशन पनि दिन्छु उसलाई म , राजेन्दर म संग कानेखुशी गर्छ । बुवाको पुरानो माटो र फाटकको घरलाई राजेन्दरले अहिले तिन तल्ला रगिंन पक्काको घरमा परिवर्तन गरेको छ, उसको आर्थिक प्रगति ज्यामितिय अनुपातमा बढेको छ । तराई आन्दोलन ताका राजेन्दर भूमिगत थियो, उ माथि धेरै आरोपहरु पनि छन् । टिकुलीयाका कुमार काँपरलाई मारेको अभियोग उमाथि अझै छ । प्रहरी प्रशासनमा के गरि कुरा मिलायो कुन्नी ? तर राजेन्दर खुद आफूले काँपरको हत्या गरेको प्रत्यक्षदर्शी धेरैले खासखुस गरेको सुनेको छु । उसलाई यो बिषयमा सोध्ने साहस मैले यो पाली गरें ।
उसले भन्छ मिडिया र भिडियामा कहिलेपनि बिश्वास नगर्नु, भिडिया अर्थात भेडा भनेंर उ गाँउसमाजलाई भन्दोरहेछ । यो उत्तरमा मैले थोरै दार्शनीक टच पाए, म रोजेन्दरलाई सुन्दै गएँ ।

दु महिना अघि बनवासा भन्ने ठाँउमा कुन्दन नाम गरेको केटालाई बलात्कारको कारणले समातियो, तैंले न्यूज पढिस?
मैले कता कता सुनेको झैं लाग्यो भनें, त्यो त राम्रो हो बलात्कारीलाई समात्न पर्छ अनि त्यो समात्ने पुलिसको जयजयकार भएको कुरा पनि गरें ।
हो ठिक हो त्यो त ? तर यो कुरामा मिडिया र भिडियाले जे देखे त्यो गलत छ बुझिस, राजेन्दर ले बोल्दै गयो । त्यो लड्का मेरो चेलवा हो, साला नराम्रो गरि फस्यो । कुरा के हो ( फाइनल दारुको सीप मार्दै उ बोल्यो) त्यो केटा र त्यो केटिको लभ थियो, एकदिन मिथिला परिक्रमामा घरपरिवार सबै गएको ट्याममा केटि खुदले केटालाई घरमा बोलाई, साला केटा न हो, मख्ख पर्यो गयो । खटिया गरम त गर्यो दुबैको मन्जुरीमा तर केटा साला बच्पना वाला, आएर आफ्नो मिल्ने साथीलाई सुनायो । उसले उस्लाई, उस्ले उस्लाई, उस्ले उस्लाई बात पुग्यो केटिको दाइको कानमा । आएर लड्कीलाई सोध्यो, अब लड्कीलाई डर भइगो, आफु फस्नुभन्दा बताइदिई कि लड्काले आएर जबरजस्ती गर्यो भनेंर । पुलिस हिट, पत्रिका टिभी फिट अनि साला लड्का चक्की पिस्दै छ । अब भन के त्यो बलात्कार थियो?
यस्तै हो रे मेरो पनि कुरा, जे सुन्छस त्यो हैन । जे हो त्यो सुक्दैनस् ।

यहाँनेर राजेन्दर आफ्नो वयान दिए जस्तो लाग्यो मलाई तर म उसमाथि बिश्वास गर्दिन, शायद म एउटा हत्यारासंग बसेर पिँउदै छु ।
राजेन्दर ३ कुराको शौख राख्दछ, उस्को शब्दमा । गीत, लोकल दारुको प्रित आ ब्याजसंगको मीत । उसको मोबाइलमा गीत हरबखत बज्छ, घरमा त स्पीकरको धुडुक धुडुक अनि रातमा किशोर कुमार सँधै नै । लोकल दारु उ शौखका कारणले खान्छ, पुरानो आदत हो, मजबुर छु ।

भूमिगत जिवन पछि गाँउमा राजेन्दरले एउटा गज्जबको धन्दा चलायो । आन्दोलन र द्धन्दले आक्रान्त तराइमा यूवाहरु अवसका खोजीमा बिदेश जाने क्रम बढ्दो थियो र त्यसै क्रममा राजेन्दरले बिदेश जानेलाई बिनाधितो क्रृण सयकडा ४ का दरले शुरु गरेको हो रे । नो रिस्क नो गेन्, उस्को रिस्कमा गेन बढ्न थाल्यो, उस्को लगानी, आसामी, साँवा, ब्याज सबै बढ्दै गयो । एउटा सानो राजेन्दर बैंक नै खडा गर्यो उस्ले, तमसुक त यति बनायो र छाप लगायो कि बुढि औंला अझै पनि छाला उक्कीएको छ रे, उ हाँस्दै सुनाँउछ । अहिले उस्ले अपग्रेड गर्यो, गाँउको एकमात्र रेमिट्यान्स उसैको हो अनि यो ब्याजवाला धन्दा कान्छो भाइले हेर्छ । नाकाबन्धीमा पेट्रोल काठमाडौ ठेकाएर मात्र पनि आधा करोड कमाँए रे भाई, उसमा शान झल्किन्छ । उ मलाई दुइटा सहयोग गर्न आतुर देखिन्छ, एउटा मेरो बिहेमा म बसेको गाडी उसको चारचक्के आँफै चलाएर जन्त लाने अनि अर्को मैले काठमाडौंमा घर बनाँउदा उस्को आफ्नै इटा भट्टिबाट बिशेष छुटमा काठमाडौ इटा पठाउने ।

उसंगको उठबस मेरो घरमा उति मनपराइदैन तर मेरो हरेक दशैं उसंगको भेटघाट बिना अपुरो हुन्छ । हरेक बर्ष उसमा नयाँ प्रगति हुन्छ, मैले उसको नयाँ पहिचान थाहा पाँउछु, पुराना याद केलाइन्छ अनि एक बोतल बियर राजेन्द्रको वयानसंगै भट्टिमा खाइन्छ ।

उ माथि धेरै पटक सांघातिक आक्रमण पनि भएको हो, सरमा कफन बोकेर हिँड्छु म भनेंर दारु खाएपछि उसले भन्ने फेबरेट डायलग उस्को । अहिलेपनि उ गाँउठाँउमा गोडाचार लठेद केटाहरु नबोकी हिँड्दैन्, गाँउका ४ जना केटाहरु त रातदिन उसैकोमा बस्छन खान्छन् । यो लफडामा छोराछोरी नपरुन भनेंर राजेन्दरले सन्तानलाई काठमाडौंमा बोर्डस गरेको छ, नाम चलेको स्कुलमा ।
उसको एउटा सेक्रेट छ, जुन मलाई लगायत अन्य केही थोरै लाई मात्र थाहा छ । गौरी डाँडामा एउटा घर बनाएर उसले एउटी अर्की श्रिमती राखेको छ, हप्तामा केही पार्टीगत मिटिगंहरु भनेंर उ घरबाहिर रहँदा उसको बास त्यही हुन्छ । मैले उस्को त्यो घर देखेको चाँही छु तर भित्र पसेको भने छैन, नपरोस पनि ।

उसको घरमा भारतिय नबंर प्लेट भएका देखि पार्टीका झण्डा झुण्डिएका सम्म, कहिलेकाँही सरकारी देखि गैरसरकारी सस्थाँका गाडीसम्म आउने जाने गर्दछन् । मैले राजेन्दरलाई कहिलेपनि सहि मान्छे मानेको छैन, उसलाई यो कुरा राम्रोसंग थाहा छ । उ बनिया हो, उसले हिसाब किताब जोड घटाउ जानेको छ, आउने र जाने बुझेको छ । उ मसंग चाँही कुनै कारोवार राख्दैन रे भन्छ । तँ रेडियोमा काम गर्दा तँ रेडियोमा बोल्दा बजारको पिपल गाछीमा प्यानसोनीक को रेडियो झुण्ड्यार दश गाँउलाई सुनाएको मै हुँ रे, तेरो फेसबुकको स्ट्याटसमा तडातड लाइक्स मार्ने गर्छु बुझिस ?

शायद उ हत्यारा हो, तस्कर हो अनि अरु थुप्रै । उ संग मेरो केही पुरानो छ, केही घनत्व छ हामी बिच, म बुझ्दछु । उ आफ्नो छोरा म जस्तै होस भन्ने चाहन्छ, तँ जस्तै लेखोस्, पढोस् अनि साला देश बिदेश जाओस्, शायद उस्ले मलाई भएको भन्दा धेरै आँकेको छ । साला पैसामा केही छैन्, उ आँफै भन्छ । पैसा थिएन साला फ्रिडम थियो, पैसा छ साला घरगाँउ नै जेल जिखन लाग्न, जिखन अर्थात जस्तै । कुन दिन साला कसले धाँई धाँई गोली दाग्छ अनि खेल खत्तम । उसमा भय पनि छ, उ अक्सर ठुलो स्वरमा बोलेपनि भावुक हुँदा मसिनो आवाजमा बोल्छ ।

उ मसंग अपनत्व को वयान दिन्छ अनि सुनाँउछ तराई आन्दोलनमा रकम असुलीका क्रममा कसरी हाम्रो परिवार र स्कूललाई आफैले जोगाएको भनेंर ।
यो आन्दोलन गज्जबको थियो, सैयौं बर्षदेखि तराइका फाँटमा खनिखोस्रि बसेका हामीलाई पहाडे भनियो अनि मेरै घर अघि मेरै स्कुलमा तोडफोड गर्दे पहाडे चोर देश छोड भन्दै धेरै जुलुसहरु आए । आमाले एकफेर यस्तै जुलुस आँउदा मलाई कोठामा थुनिदिनु भयो, म जुलुससंग कुरा गर्न जान तम्सिएको थिँए । जुलुसलाई देखेर हाम्रो तगारो लगाइयो, सबैजना घरभित्र पस्यौं, धेरै चिनेको अनुहार थिए अनि धेरैजसो भर्खरै नागरिक्ता पाएका नयाँ अनुहारहरु । तत्कालिन सरकारले सत्यनारायणको पूजा प्रसाद बाँढेझै नागरिक्ता बाँढेको थियो । शहरतिर धमाधम चोक चौराहका घरहरु सस्तो सस्तो दाममा बेचेर हेटौंडा लगायत स्थानमा बसाँइसराई गर्नेको लाम बढ्यो, सस्तोमा घर जग्गा किन्ने लुकेका अनुहारहरु आन्दोलनमा कारणले मालामाल भए । मेरै देश भित्र मेरै देशवासीहरुलाई शरणार्थि बनाइएको यो आन्दोलनका छिटाहरु घरिघरि अझै पनि मैले सहन गर्नुपरेको छ ।

यो बिषयमा मैले उसंग धेरै प्रश्न र गुनासो राखेको छु । म ठान्दछु कि उ पनि यस आन्दोलनको आयोजक मध्यको टुक्रा हो, उ जहिल्यै टारेर डिँड्दछ । उ मलाई पनि राजनितीमा ल्याउन तम्सिएको ३ बर्ष भयो, मैले त्यसमा कहिल्यै दिलचस्पी देखाइन । म उसंग राजनैतिक हिसाबमा साथ हुन्न उसले बुझेको छ, उ कहिलेकाँही मेरा बिचारहरु सापट लिन्छ अनि मलाई कहिलेकाँही उसका बिचारहरु सापट दिन खोज्छ ।

म पर्सि उ भूमिगत हुँदाको पार्टीका एकजना बरिष्ट नेता ज्यू लाई भेट्न उसंगै जाँदैछु । घरमा यो भनें भने मलाई जान दिँदैनन् तर राजेन्दरको यो पुरानो रिक्वेष्टलाई म नकार्न सक्दिन, उसका अनुसार ति नेताज्यू कै मातहतमा हतियार, फिरौती अनि थमौति सब हुनेगर्दथ्यो । दिलको बहुत अच्छा मान्छेका रुपमा उसले पटक पटक उसको जिक्र मसंग गरेको छ, दिलको अच्छा मान्छेले हतियार उठाँउदैन, फिरौति माग्दैन मैले भन्दै आएको छु । यसरी भेट्न जानु एउटा रिस्क त हो तर म राजेन्दरलाई बिश्वास गर्छु, पर्सि कुनै एउटा अमुक ठाँउमा म ति मान्छेलाई भेट्न राजेन्दरसंग जाँदैछु । राजेन्दर उ मान्छेलाई बडो मान्दछ, केही बिग प्लानींग मा छन् उ भन्छ । ति नेता ज्यू अहिले निजगढ बिमानस्थलको निर्माण बिरोध कार्यक्रममा आगो थप्न सक्रिय छन् रे, राजेन्दर ले भनेंको । बिमानस्थल बनेंर के घाटा छ र? राजेन्दरसंग त्यसको उत्तर छैन्, गएर आँफैं भेटेर सोध् उ भन्छ ।

म जाने भएर राजेन्दर खुशी छ । खुशी र मातको उन्मादले घरि घरि उ काठको बेन्चमा हातले ढोलक झैं गीतको तालमा बजाँउछ, म त्यसै तालमा मुखले आवाज निकालेर अर्को ताल थपिदिन्छु, जोगिन्दर सारारारा झैं भएको थियो । राजेन्दरको वयान भाग २ मा बाँकी बिवरणहरु सहित भेट्न आँउछु ।

-सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान