yoga baby

बच्चाहरुलाइ योगा गराउदा हुन्छन् यस्ता फाइदाहरु


बच्चाहरूलाई योगासन गराउँदा उनीहरूको शरीर स्वस्थ र सक्रिय बन्छ र बुद्धि पनि तेज हुन्छ भनी थाहा पाउनुभएको छ ?प्रत्येक मातापिताले आफ्ना बच्चाहरूको तनमन स्वस्थ रहोस् र उनीहरू प्रत्येक कदममा सफल हुन् भन्ने इच्छा राख्छन् । तपाईंले आफ्ना बच्चाहरूलाई योग गराउनुभयो भने यो इच्छा सजिलै पूरा गराउन सक्नुहुन्छ । यहाँ हामी केही योगासनको चर्चा गर्दैछौं ।

भ्रामरी
आजकल बच्चाहरूलाई थकान र तनाव हुनु सामान्य कुरा भएको छ । यसले गर्दा बच्चाहरू पढाइमा ध्यान दिँदैनन् अनि खेलकुदमा पनि सक्रिय हुँदैनन् । बच्चाहरूलाई भ्रामरी गराउनुभयो भने समस्या समाधान हुन्छ । ब्राह्मरी गर्दा स्वरयन्त्र बलियो हुन्छ, अनिद्रा भाग्छ अनि रिस, थकान तथा तनाव हट्छ । यो गर्न सुखासनमा बस्नुस् र आँखा बन्द गरेर सास लिनुस् अनि कानमा औंला घुसाएर हम्म्म्म्म आवाजका साथ सास छोड्नुस् । थोरै अभ्यासपछि नै बच्चाहरूले सजिलै यो योग गर्न सक्छन् ।

ऊँ को उच्चारण
ऊँको उच्चारण गर्दा ध्यान केन्द्रित गर्ने शक्ति विकसित हुन्छ । उच्चारणले मानसिक शान्ति प्राप्त हुन्छ तथा मस्तिष्कमा रक्तसञ्चार पनि बढ्छ । यसो गर्नका लागि सुखासनमा बसेर हातहरूलाई ज्ञानमुद्रामा राख्नुस् । अनि लामो सास लिएर ऊँको उच्चारण गर्दै सास छोड्नुस् । यस्तो तीनदेखि पाँचचोटि गर्नुस् ।

त्रिकोणासन
शरीरलाई तन्काउनका लागि यो राम्रो आसन हो । यसले हात, गोडा, कम्मर, मेरुदण्ड र छाती बलियो बनाउँछ । यसले स्नायुप्रणाली पनि राम्रो बनाउँछ ।
यो आसनका लागि सीधा उभिनुस् अनि गोडाहरूका बीचमा दुई फीटको ग्याप राख्नुस् । दुवै हातलाई साइडमा लानुस् । अब बिस्तारै देब्रेतर्फ झुक्नुस र देब्रे हातले देब्रे गोडाको पैताला छुने कोशिश गर्नुस् । यसबेला तपाईंको दाहिने हात ठाडो हुनुपर्छ । यस स्थितिमा केही बेर बस्नुस् अनि सामान्य स्थितिमा आउनुस् । यही क्रिया अर्को हातले पनि गर्नुस् ।

भुजंगासन
यो आसन गर्दा बच्चाहरू मेरुदण्ड र पिठ्युँ बलियो हुन्छ अनि हातको मांसपेशी पनि शक्तिशाली बनाउँछ । यसो हुँदा बच्चाहरूलाई लेख्न सजिलो हुन्छ । अनि यो आसनले पाचन क्रिया पनि बलियो बनाउँछ र फोक्सोलाई शक्तिशाली बनाउँछ ।

यो आसन गर्नका लागि पेट तल पारेर पल्टिनुस् । अब दुवै हत्केलालाई छातीनजिक राख्नुस् । सास लिँदै शिर, काँध र छातीलाई माथि उठाउनुस् । सास छोड्दै शिरलाई तलतिर ल्याउनुस् । एकछिन आराम गर्नुस् र यस क्रियालाई दोहो–याउनुस् ।

वृक्षासन
वृक्षासन गर्दा मस्तिष्कमा स्थिरता र सन्तुलन आउँछ । एकाग्रता बढ्छ र शरीर पनि सन्तुलित रहन्छ । यो आसन गर्नका लागि सीधा उभिनुस् । अब दाहिने घुँडालाई मोडेर दाहिने पञ्जालाई देब्रे तिघ्रामा राख्नुस् अनि देब्रे गोडालाई सीधा राखेर सन्तुलन बनाउनुस् । सन्तुलन बनेपछि गहिरो सास लिएर दुवै हातलाई नमस्कार मुद्रामा राख्नुस् । केही क्षण यसै स्थितिमा बसेपछि हात तल ल्याउनुस् र दाहिने गोडा पनि सीधा गर्नुस् । अब अर्को गोडाले पनि त्यही क्रिया दोहो–याउनुस् ।

एजेन्सी

 


Loading comments...