कोरोनाभाइरस र संक्रमितको मृत शरिरबारे ‘मनगढन्ते भ्रामक हल्ला’ फिजाउने पक्राउ


काठमाण्डौ, २२ भाद्र, २०७७ । महामारीका क्रममा ‘मनगढन्ते भ्रामक हल्ला’ फिजाउने ५१ वर्षिय पुरुष पक्राउ परेका छन् । कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु झिकेर बेचबिखन भईरहेको भन्दै आम-सर्वसाधारणलाई दिगभ्रमित गराउने तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरेको अभियोगमा सुबास सुब्बा लिम्बुलाई ललितपुर नक्खिपोटबाट पक्राउ गरिएको छ ।

एक YouTube Channel मा उनले अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘कोरोना नै छैन सरकारले हावा पिटेको छ । कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी ,आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले माङमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ’ भन्ने ‘मनगढन्ते भ्रामक हल्ला’ फिजाएर समाजमा उत्तेजना फैलाउने, तर्साउने, आम-सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोनाभाइरस संक्रमणबारे अवैज्ञानिक हल्ला फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरी सार्वजनिक शान्ती भंग गर्ने कार्यमा संलग्न ५१ वर्षिया सुब्बा आफुलाई प्राकृतिक डाक्टरको रुपमा परिचय गराउँदै आएका छन् ।

तेहथुम स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने सुबास सुब्बा लिम्बुलाई आज ललितपुर प्रहरीले नक्खिपोटबाट पक्राउ गरी थप अनुसन्धानका गरी कारवाही अगाडी बढाउन प्रहरी परिसर ललितपुर पठाएइको छ ।

एकातर्फ कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ भने अर्कोतर्फ यस्ता हावा हल्ला फिजाएर भ्रमको खेती गर्ने मनगढन्ते सूचना तथा विज्ञहरु छ्यापछ्याप्ती भेटिन्छन् ।

अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास  छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । र सामाजिक दूरी कायम राख्दै नियमित सार्वजनिक दैनिकिमा परिवर्तन ल्याउनु नै कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बच्न सकिने उत्तम उपाय हो । र यही वैज्ञानिक कारणले गर्दा उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन् ।

कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई सङ्क्रमणको बढी जोखिम छ, कोभिड-१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ ।

यस महामारीबाट आफू पनि बच्न तथा अरुलाई जोगाउन हामी सबैले एउटा काम गर्न सक्छौं त्यो भनेको अनुमान, कन्स्पिरेसी र होला, रे जस्ता अवैज्ञानिक सूचना तथा श्रोतहरुमा ध्यान नै नदिने । 


हावा, हल्लाले भरिएका मनगढन्ते अवैज्ञानिक जानकारीहरुको पछि दगुर्नु भनेको ‘कागले कान लग्यो’ भन्दै कागको पछि लाग्नु जस्तै हो ।

उसो भए के हो त कोरोनाभाइरस, यसबाट कसरी जोगीने?

आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए । भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ पनि भन्न सकिन्छ । तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो ।

के गर्मी महिनामा कोरोनाभाइरस महामारी कम होला

कोरोनाभाइरसका कारण संसारभरि नक्कली औषधिको बिगबिगी

कोरोनाभाइरस: के गर्भमैं आमाबाट बच्चामा सर्न सक्छ र?

सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो । चीनको वुहाननजिकै झण्डै सबैखाले समुन्द्री जीवनजन्तु तथा पशुपंक्षीहरुको व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो ।

उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो । सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (कोभिड-१९) भनिन्छ ।

कोरोनाभाइरस सङ्क्रमण कसरी हुन्छ?
कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्ने सम्भावना अत्याधिक हुन्छ ।

संक्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा प्रवेश गर्न सक्छ । यो भाइरसले सर्वप्रथम घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन् ।

कोरोनाभाइरस सङ्क्रमण भएको कसरी थाहा पाउने?
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड-१९ का मुख्य लक्षण हुन् । केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पाखाला लाग्ने गरेको पनि पाइएको छ । केही बिरामीमा ‘घ्राणशक्ति’ अर्थात् सुँघ्ने क्षमता (बास्ना) पनि शिथिल भएको पाइएको छ । केही संक्रमितहरुमा कुनैपनि लक्षण नदेखिएका कारण लक्षण नै नदेखिएरै अचानक संक्रमण भेटिने घटनाहरु किन र के कारणले हुन्छ भन्ने कुरा वैज्ञानिक अध्ययनकै क्रममा छ ।

लक्षण नै नदेखिएका त्यस्ता संक्रमितहरुले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन् ।

कोरोनाभाइरस शरीर बाहिर कति बाँच्छ?

कोभिड-१९ का लक्षण देखियो भने के गर्ने?
यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ । झण्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ ।

तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन् ।

कसरी सतर्क बस्ने, सामान्य समय भन्दा यो वैश्वीक स्वास्थ्य संकटका बेला के गर्ने के नगर्ने?

  • नाक, मुख र आँखा नछुनुहोस् । किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ अनि हात नधोई अनुहार छुँदा भाइरस शरीरभित्र छिर्न सक्छ ।
  • खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल वा टिशूले नाक र मुख छोप्नुहोस् । अथवा हात उचालेर कुहिनोले ढाक्नुहोस् । त्यसो गर्दा भाइरस फैलिन पाउँदैन ।
  • दूषित रुमाल र टिशू सुरक्षित रूपमा तुरुन्त फाल्नुहोस् । त्यसो गर्दा भाइरसयुक्त छिटाबाट अरू मानिसलाई जोखिम हुँदैन ।
  • एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुहोस् । त्यसो गर्दा एक व्यक्तिमा भएका भाइरस अर्कोमा सजिलै पुग्न सक्दैनन् ।
  • भिडभाडमा नजानुहोस् । सकेसम्म घरमै बस्नुहोस् । त्यसो गर्दा भाइरस फैलिने सम्भावना कम हुन्छ ।
  • बाहिर जाँदा वा अरू व्यक्तिलाई भेट्दा हात नमिलाउनुहोस् । नमस्कार गरेर वा हात हल्लाएर पनि अभिवादन गर्न सकिन्छ ।

के मास्क तथा पन्जाहरु उपयोगी छन्?
सामान्य मास्क धेरै खुकुला हुन्छन् र तिनले आँखा छोप्न पनि मिल्दैन। अनि त्यस्ता मास्क लामो समयसम्म लाउन मिल्दैन ।

मास्कले सङ्क्रमण हुन नदिने सुनिश्चित नगरे पनि सङ्क्रमित व्यक्तिले अथवा संक्रमित व्यक्तिको सम्पर्कमा भएकाले मास्क लगाउँदा संक्रमितले खोक्दा वा हाछ्युँ गर्दा उत्सर्जन हुने छिटा धेरै मात्रामा मास्क भित्र नै रोकिदिन्छ र तपाईंलाई सम्भावित संक्रमणको खतराबाट जोगाउछ ।

नेपालमा स्वास्थ्य मन्त्रालयले निम्नलिखित नम्बरमा फोन गरेर सल्लाह लिने सुविधा दिएको छः

•१११५ र ११३३ (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म)

•९८५१-२५५-८३४, ९८५१-२५५-८३७ र ९८५१-२५५-८३९ (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म)

 


Loading comments...