प्रचारबाट टाढा रहन रूचाउने साहित्यकार नवराज रिजाल


काठमाण्डौ, २४ भाद्र, २०७७ । नवराज रिजाल नेपाली साहित्यमा सुपरिचित नाम हो । नियात्रा, कथा,लघुकथा,गजल,समालोचना तथा वालसाहित्यमा उनको विशेष अभिरूचि र संलग्नता छ । अध्यापन प्राध्यापन पेशामा लामो समयदेखि क्रियाशील उनका विभिन्न विधाका डेढदर्जन कृति प्रकाशित छन् ।

 

२०५० सालदेखि बाराजिल्लाबाट उनले प्रकाशन आरम्भ गरेको नवप्रज्ञापन साहित्यिक पत्रिका अहिले पनि निरन्तर प्रकाशित भइरहेको छ । खोज अनुसन्धानमा रूचि राख्ने उनीद्वारा सम्पादित यो पत्रिकाका (गजल विशेष, गीत विशेष, राष्ट्रकवि माधव घिमिरे विशेष, सरूभक्त विशेष, श्यामप्रसादका रचना विशेष, नारायणीका स्रष्टाहरू पद्यखण्ड,नारायणीका स्रष्टाहरू गद्यखण्ड, वाल्यकालीन संस्मरण, स्वर्ण अङ्क, बालसाहित्य विशेषाङ्क, भानुभक्त विशेषाङ्क, छन्दकविता विशेषाङ्क, लघुकथा विशेषाङ्क, स्वअभिलेख विशेषाङ्क, मुक्तक विशेषाङ्क, बहुभाषाकथा विशेषाङ्क र गीत विशेषाङ्क समेत १७ विशेषाङ्क सहित ८८ अङ्क प्रकाशित छन् ।

नवप्रज्ञापनमा नेपालका वहुसङ्ंख्यक साहित्यकारहरूको रचना प्रकशित भएका छन् । नेपाली साहित्यमा, निजी क्षेत्रबाट प्रकाशित हुने पत्रिकाहरूमा नवप्रज्ञापनको एउटा छुट्टै स्थान छ । तराईको जिल्ला बाराबाट २८ वर्षअघि प्र्र्र्र्र्र्र्रकाशन आरम्भ भएको यो पत्रिका यतिखेर राष्ट्रिय क वर्गमा वर्गीकृत छ ।

अघिल्लो वर्ष नेपालका प्रमुख दश मातृभाषाका कथा समेटेर बहुभाषा कथाविशेषाङ्क प्रकाशित गरेका रिजालद्वारा सम्पादित प्रकाशित यो पत्रिकाले यो वर्ष १६३ स्रष्टाहरूका १६७ रचना समेटेर गीत विशेषाङ्क प्रकाशित गरेको छ ।

“कोरा प्रचारमा मरिमेट्नु भन्दा काम गरेर देखाउनु जाति । स्व प्रशंसामा रम्ने रमाउने प्रवृतिले कसैको पनि उंचाई बढाउँदैन । भाषा साहित्यको सेवा आम्दानीको लागि होइन देशको उत्थानका लागि हुनु पर्छ” यस्तो विचार राख्छन् रिजाल । उनमा आफ्ना भनाइहरूमा अडिग विश्वास छ । यो विश्वासले साहित्यमा निरन्तर विना कुनै स्वार्थ लाग्न प्रेरित गरेको छ । नवप्रज्ञापनको निरन्तरता त्यसको प्रमाण हा्े । उनको एकल प्रयासमा त्यो पत्रिका गतिशील बनिरहेको छ । नेपालमा पत्रकारिताको सुरुवात साहित्यिक पत्रकारिताबाट भए पनि वर्तमानमा यसको अवस्था सन्तोष जनक छैन । त्यसैले यो मानिसको नजरमा नपरेको हो ।

पत्रकारिता, साहित्यिक पत्रकारिता वा अन्य साहित्यिक क्रियाकलापमा संलग्न भएर कतिपयले लाभ पनि प्राप्त गरेका छन् । तर उनले यसको प्रकाशनमा आफ्नै आर्जन (तलब) पनि लगाएका छन् । नेपालमा साहत्यिक पत्रिकाको बिक्री आएको रकमले निरन्तर रुपमा साहित्यिक पत्रिका प्रकाशन गर्न सकिंदैन भन्ने कुरा सर्वविदितै छ । नवप्रज्ञापनको प्रत्येक अङ्क बिक्रीबाट आएको राशीले अर्को अङ्क प्रकाशित गर्न पुग्दैन । यो कारणले गर्दा प्रकाशकले आफ्नै खल्तीबाट पैसा लगाउनु पर्दछ । तर यति हुँदा हुँदै पनि उनले पत्रिकालाई निरन्तरता दिने कार्य परित्याग गरेका छैनन् । यसैको कारण २८ वर्षदेखि निरन्तर रूपमा यो प्रकाशित हुँदै आएको छ ।

नेपालमा साहित्यिक पत्रिका पढ्ने चलन नै छैन भने पनि हुन्छ । निशुुल्क बाँड्दा समेत पत्रिका पढ्न रुचाउँदैनन । यस्तो अवस्थामा पनि अनवरत रुपमा रिजालले साहित्यिक पत्रिका प्रकाशन गरिरहेका छन् । यो एक स्तुत्य कार्य हो । प्रस्तुत छ विश्व दर्पणका ब्लगर विश्वराज अधिकारीले नवराज रिजालसँग गरेको कुराकानी )

प्रस्तुत छ विश्व दर्पणका ब्लगर विश्वराज अधिकारीले नवराज रिजालसङ्ग लिएको अन्तरर्वाता

साहित्यको सेवामा लाग्न तपाइँलाई के कुराले प्रेरित गर्र्या?
कुनै पनि देशको नागरिक आफ्नो मुलुकप्रति सधैँ जिम्मेवार हुन्छ र हुनु पनि पर्छ । जो आफ्नो राष्ट्रप्रति जिम्मेवार छैन त्यो व्यक्ति त्यो देशको असल नागरिक हुन सक्दैन । आजसम्म कसैको गुलाम नबनेको देश नेपालको नागरिक भएर जन्मन पाएकोमा मलाई गर्व छ । असल नागरिकले यो मुलुक बनाउन र आजको अवस्थामा ल्याइपुर्याउन अग्रज पुस्ताले गरेको अमुल्य योगदानलाई कुनै हालतमा भुल्न पनि सक्दैन । जो भूल्छ त्यो कृतघ्न हो । बाँकी रह्यो सुखदुखको कुरा, त्यो त व्यक्तिको कर्ममा निर्भर गर्छ । जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ । पूर्खाहरूको अमूल्य त्याग, पसिना र बलिदानले बनेको र बचेको यो माटोमा मैले पनि आफ्नो ठाउँबाट केही न केही गर्नु पर्छ भन्ने सोचले र मेरो पनि साहित्यमा सामान्य अभिरूचि रहेका कारण यसको अभ्युथ्थानका निम्ति म यो क्षेत्रमा प्रवेश गरेको हुँ भन्ने मेरो धारणा छ ।

साहित्य लेखन के का लागि हुनु पर्छ? साहित्यकारको आत्मसन्तुष्टिका लागि वा समाज सुधारका लागि र प्रसिद्धि पाउनका लागि?
हेर्नुस, पहिलो कुरो साहित्य समाज र जीवनका लागि हुनुपर्छ । त्यो कुरा कहिल्यै बिर्सन सकिँदैन । यो तथ्य बिर्सिएर लेखिएको साहित्यले त्यो देश, समाज र जनताको प्रतिनिधित्व गर्न सक्दैन । संसारमा सबै ठाउँको समाज र जीवन एकै किसिमको पनि छैनन् । अनि मानिसका रूचि, क्षमता र आवश्यकता समेत् पृथक पृथक छन् । तसर्थ संसारमा लेखिएका र लेखिँदै गरेका साहित्य रूप,आकार र अवस्थामा अलग छन् । यसलाई अन्यथाको आँखाले हेर्न सकिँदैन । त्यसपछि मात्र आत्मसन्तुष्टि,समाजसुधार र प्रसिद्घिका कुरा जोडिने हुन् ।

नेपालमा साहित्यको भविष्य कस्तो देख्नु हुन्छ?
राम्रो छ, नराम्रो छैन । हाम्रा आँखा परायको हेर्दै आफ्नो मूल्याङ्कन गर्छन् । हाम्रो राम्रो हुन त हामीले पनि काम गर्नु पर्र्यो नि । अर्काको हेरेर आफ्नो सही मूल्याङकन कुनै हालतमा हुन सक्दैन । एउटा कुरा नि, हामीले हाम्रो भाषासाहित्यको उत्थानका निम्ति गर्नुपर्ने जति काम गरेकै छैनौँ । पिता पूर्खाले जति गरे अहिलेसम्म त्यसकै व्याज खाएर हामी बाँचिरहेका छौँ । सिमाना काटेर कुनै पनि नेपाली पत्रपत्रिका वैधानिक रूपमा भारत छिर्न सक्दैनन् । यतातिर कसैको दर्विलो आवाज आउँदैन । उताका नेपाली भाषीले चाहेर पनि नेपाली पत्रपत्रिका र पुस्तक पढ्न सक्दैनन् । यतातिर काम हुनु पर्र्यो नि खै भएको ? अर्काको टाउकोमा दोष आफू पन्छिने गलत प्रवृति हामीमा छ । तसर्थ सबै नागरिक यथास्थानमा जिम्मेवार बन्ने हो भने नेपाली साहित्यको भविष्य म त असुन्दर दैख्दैदेख्दिन ।

नेपालका साहित्यकारहरूमा आफ्ना रचना अरूले पढि दिउन् तर अरूको आफूले पढ्न नपरोस भन्ने सोच राख्छन् भन्ने मान्यता देखिन्छ । तपाइँलाई पनि त्यस्तो लाग्छ?
त्यो प्रवृति देखिन्छ । त्यसलाई म अन्यथाको आँखाले भने हेर्दिनँ । ठीकै छ कसको पढ्ने अनि कसको नपढ्ने त्यो आफ्नो अधिकारको कुरा हो । यसमा चित्त दुखाउनु बहस र गरिरहनु आवश्यक पनि छैन । एउटा, कुरा हामी कहाँ गम्भीर पाठकको सङ्ख्या कम भएको भने यथार्थ हो । केही सङ्घसंस्था हाम्रो मूल्यमान्यताबाट च्यूत गराउन साहित्य लेख्न सिकाइरहेका छन् र हामी पनि आफूलाई पूर्ण रूपमा खाली मानेर लेख्ने तालीम लिन मरिहत्ते गरिरहेछौँ 犀利士
। आजको हाम्रो मूल समस्या आफ्नो औगात ठम्याउन नसक्नु हो । त्यसले हामीलाई सबैतिर पछि पारिरहेको छ र तपाईले माथि उठाउनु भएको सन्दर्भ पनि त्यहीँ आएर जोडिन्छ ।

नेपालमा लेख्नेहरूको तुलनामा पढ्नेहरूको सङख्या कम छ भन्नेहरू पनि छन् । तपाइँलाई हो जस्तो लाग्छ?
मलाई त त्यस्तो लाग्दैन । तर नेपालमा पठन संस्कृतिको विकास भएको वा गरिएको छैन र जति भएको वा गरिएको छ त्यो अपूग छ भन्ने कुरामा भने म पूरापुर विश्वास राख्छु । अर्को कुरा हामी कहाँ अवसर जोडिने बित्तिकै अलेखक पनि लेखक बनेका उदाहरण मनग्गे भेटिन्छन् । लेख्नेहरूको जोड पनि लिनमा भन्दा बढी दिनमा देखिन्छ । अचेलको पेशेवरी लेखनले त परिस्थितिलाई झन गोलमटोल बनाएको छ । यसैले तपाइलाई त्यस्तो लागेको हुन सक्छ तर स्थिति त्यो मोडमा पुगेको सत्य होइन ।

नेपाली साहित्यले पाठकहरूलाई आकर्षित गर्न नसक्नुको प्रमुख कारण के होला? स्तरीय साहित्यको अभाव वा पठन संस्कृतिको विकास हुन नसक्नु?
हामी कहाँ एकातिर पठन संस्कृतिको राम्रो विकास भएको छैन भने अर्कोतिर भाषा साहित्यप्रतिको मोह पनि विस्तारै कम हुँदै गइरहेको छ । आजका अधिकांश अभिभावक आफ्ना सन्तानलाई पाश्चात्य संस्कृतिमा दीक्षित गराउनुलाई गर्व गरिरहेको गरिरहेका छन् तसर्थ हाम्रा पाठक घट्नुलाई अन्यथा मान्न सकिँदैन।

कुनै कृतिले पुरस्कार पाएको अवस्थामा, के कुनै पुरस्कारले कृति उत्कृष्ट रहेको पुष्टि गर्छ । उत्कृष्ट कृतिको आधार पुरस्कार हो त?
गर्दैन , तर आम मनोविज्ञान भने त्यस्तो देखिन्छ । पुरस्कार त सेटिङ पनि हो । आफ्नो र आफ्नालाई मात्र दिइने पुरस्कारहरू पनि छन् तर सबै पुरस्कारलाई एउटै आँखाले हेर्न भने हुँदैन । राशीको कुरा छाड्नुस अत्यन्तै सम्मानित र पूजनीय पुरस्कार पनि छन् । पुरस्कार पाउँदैमा कृति उत्कृष्ट हुन्छ भन्ने कुरा होइन । ठुलो पुरस्कार पाएर पनि नबिकेका किताबहरू समेत छन् । हुन त धेरैले पढेको, बुझेको र चर्चित हुनु पर्ने हो तर त्यस्तो कमै हुने गर्छ ।

उत्कृष्ट कृति हुनुका आधारहरू के के हुन सक्छन?
हुनुपर्ने मुख्य आधार त पाठकीय नै हो नि तर के गर्नु ? हुँदैन र पो । अनि अन्य आधार त पछि बन्ने बनाउने पो हो त ।

अधिकांश कृतिहरू प्रकाशन पछि, कृतिकारको घरमा नै थन्किन्छन, किन त्यस्तो?
यसका धेरै कारणहरू छन् । एकाथरीलाई लेखक भनाउने हतारो हुन्छ । बजार,पाठक र वितरण व्यवस्थाको मूल्याङ्कनै नगरी पुस्तक छाप्छन् तर पुस्तक विक्रि हँदैनन् । त्यसकारण पुस्तक घरमै थन्कन्छन् । अर्काथरीलाई मैले जे लेखे पनि राम्रो लेख्छु भन्ने आभिमान छ । लेख्छन् अनि छाप्छन् ती पुस्तक पनि विक्रिको कुरा छाडौँ वितरण नै हुन सक्दैन अनि ती घरमै थन्कन्छन् । अझ अर्काथरी भनसुनद्वारा किताव छपाउँछन् । ती किताव पनि बजारमा पुग्न सक्दैनन् र सके पनि विक्रि हुँदैनन् । तिनीहरूले थन्कने ठाउँ पनि लेखकको घर नै हो । यी केही उदाहरण मात्र हुन् । खोजी पसे यस्ता उदाहरण धेरै भेटिन्छन् । हामी कहाँ अनेक थरीका लेखक छन् । उनीहरूको लेखक बन्ने आधार फरक फरक छन् । अहिले त्यता नजाउँ । एउटा कुरा के सत्य हो भने लेखन जागीर,व्यापार,व्यवसाय वा राजनीति होइन । अपवादलाई छाड्दा अन्यत्रको सन्दर्भमा जे भएपनि नेपालको परिप्रेक्षमा यो आय आर्जनको पाटो हुन सक्दैन ।

नेपालमा पाठकहरूको माग भन्दा कृतिहरू बढी प्रकाशित हुन्छन् भन्ने हो?
त्यसो होइन , पाठकहरूको रूचि भन्दा बाहिर गएर साहित्य लेखिन्छ भन्ने चाहिँ हो । हाम्रा पाठक कस्ता छन् ? उनीहरूका आवश्यकता केके हुन्,हामीले दिनु पर्ने कुरा के हो, देशको इतिहास भूगोल र परिवेश चिनाउन लेखकको दायित्व कस्तो हुनुपर्छ भन्नेतिर हामी कहिल्यै नगएको भन्ने मेरो अवधारणा छ ।

नेपालमा साहित्यिक विकासको वाधक साहित्यकारहरू नै हुन । एक साहित्यकारले अर्को साहित्यकारको को हात होइन खुट्टा तान्ने चलन छ । सहयोगात्मक भावना छैन भन्ने गन्छि । यो आरोप सहि हो?
मलाई त्यस्तो कुरामा विश्वास लाग्दैन । लेखन क्षमताको कुरा हो । जसको क्षमता जस्तो छ त्यस्तै लेख्छ । लेखनको सम्बन्ध अध्ययन,मनन र चिन्तनसँग पनि छ । यसमा अन्य कुराहरू पनि जोडिन्छन् । कसैले हात र साथ दिनासाथ स्वाट्ट लेखक बनि हाल्ने र नदिँदा नबन्ने होइन । अरूको पनि साथ नचाहिने त होइन चाहिन्छ तर केवल अर्काको साथले मात्र सफल लेखक बन्न सकिएला जस्तो लाग्दैन । यो मेरो नीजि धारणा हो । साहित्यकारमा त्याग ,तपस्या ,निष्ठा, समर्पण र धैर्यता पनि चाहिन्छ । हेर्नुस त भानुभक्त,मोतीराम,देवकोटालगायतका श्रष्टाहरूलाई कसैले बनाएको हो र ? होइन उहाँहरू आफैँ बन्नु भएको हो । हाम्रो सन्दर्भमा मात्र होइन विश्व साहित्यमा पनि लागूहुने कुरा त्यही हो ।

गहन अध्ययन ,अनुसन्धान पछि लेखिएको साहित्य स्तरीय मानिन्छ । तर नेपालमा केवल लहडको भरमा, बिना गहन अध्यन अनुसन्धान साहित्य लेखिने हुनाले पनि नेपाली साहित्यले गति लिन नसकेको हो कतिपयको मत छ । यो भनाइ उचित छ?
म साहित्यको सामान्य पाठक हुँ । मैले कुनै ठुलो गहन अध्ययन, विश्लेषण र अनुसन्धान गरेको पनि छैन । जसले त्यो कुरा भन्नु भयो वा धारणा राख्नु भयो उहाँले आफू विश्वस्त भएर सम्भवतः भनेको हुनुपर्छ । उहाँको पाटोतिर म प्रवेश गर्न चाहान्न । मेरो विचारमा कहिँ कतै कमीकमजोरी भएन होला भन्न त सकिन्न । तर समग्र नेपाली साहित्यलाई त्यसरी दोषारोपण गर्न मिल्दैन । एउटा कुरा चाहिँ म छाती खोलेर भन्न सक्छु । आधुनिक बन्ने रहरमा हामीले हाम्रा भन्दा अर्काको कुरा धेरै लेख्यौँ । हाम्रा त्यति धेरै लेख्ने कुरा थिए वा छन् त्यता जाँदै गएनौँ । किन गएनौँ थाहा छैन तर गएनौँ । हाम्रै बारेमा जान्न पनि विदेशीले लेखेको पुस्तक नपढी नहुने भयो । उनीहरूले हाम्रो बारेमा सबैकुरा सही र सत्यमात्र भन्लान भन्न सकिन्छ ? उनीहरूले आवेगमा लेखिदिएका कुराले हामीलाई बेलाबेलामा कसरी दुःखाउँछ ? यतातिर हाम्रो ध्यान पटक्कै जान सकिरहेको छैन । जानु पर्छ ।

कथा कविता मात्र साहित्य हैन । देश पनि साहित्य हो । जनता पनि साहित्य हुन् । उनीहरूका जीवनपद्घति, संस्कार, संस्कृति, प्रचलन, पहिरन, सुख, दुःख, हर्ष, पीडा सबै साहित्यका विषय हुन् । यतातिर सघन किसिमले ध्यान पुग्न सकिरहेको छैन । साहित्यकार देशको प्रवुद्घ वर्ग भएकाले आजको पुस्तालाई देश चिनाउन,पढाउन,बुझाउन र सिकाउन पनि उनीहरूको महत्वपूर्ण रहन्छ । साहित्यमा यी र यस्ता कुराहरूको कमी भएका कारण हाम्रो साहित्यले गति लिन नसकेको हो।

वहुसङ्ख्यक व्यक्तिहरूले साहित्य पढ्ने वातावरण निर्माण गर्न के गर्नु पर्छ होला?
मेरो विचारमा पढ्ने र लेख्ने कुरा दवावमा हुन सक्दैन । भयो भने पनि त्यो लामो समयसम्म टिकिरहने सम्भावना कम रहन्छ । पढ्ने र लेख्ने मात्र होइन दवावमा गरिएका वा गराइएका अन्य क्रियाकलाप पनि दीर्घकालसम्म टिक्ने वा सकारात्मक परिणाम आउने सम्भावना न्यून रहन्छ । यो कुरा साहित्यमा अझ मजाले लागूहुन्छ । हिजो र आजको समय फरक छ । पढ्ने र पढिने कुरामा पनि रूचि परिवर्तन भएको छ । हिजोसम्म गरिआएका अधिक क्रियाकलापलाई हामी आफैँ अनावश्यक ठान्न थालेका छौँ । आज हामी धेरैका छातीमा आफ्ना जम्मै क्रियाकलाप रूढीग्रस्त तर अरूका सबै आधुनिक भन्ने सोच हुर्किरहेको छ । आफ्ना सन्तानलाई पितापूर्खाको त्याग,तपस्या र योगदानमात्र होइन इष्ट मित्र अनि नातागोता चिनजान गराउन समेत हिचकिचाई रहेका छौँ । राजादेखि रङ्कसम्म सबको मस्तिष्कमा अङ्ग्रेजीको भूत सवार छ । एउटा कुरा बाहिरी नपढ्ने पटक्क भनेको होइन, पढ्नु पर्छ । तर बाहिरको पढ्ने बहानामा आफ्नो सबै बिर्सने ? अनि आजको पुस्तालाई नेपाल र नेपाली नसिकाए पछि कसरी हुन्छ त भाषासाहित्यको विकास ? यतातिर सबैको ध्यान जान जरूरी छ । बाहिरको सिकाउने र बुझाउने हदसम्म मेरो कुनै विमती छैन तर त्यसको बहानामा आफ्ना कुरा पनि नछुटाउँ भन्ने मेरो धारणा हो । बस् बाहिरको सिक्ने नाममा आफ्नो भाषा साहित्यलाई पनि माया गर्न जानियो भने मात्र हाम्रो साहित्य गतिशील बन्न सक्छ ।

नेपालमा कृति वहुचर्चित गराउन खुबै हल्लाखल्ला (सशुल्क समालोचना, सशुल्क अन्तर्वाता, भोज भतेर, खान पिन आदि) गर्नु गराउनु पर्छ भन्छन् के त्यस्तो हो?
बडो रमाइलो कुरा गर्नु भयो । यसखालका कुरा यदाकदा मेरा कानमा पनि पर्ने गरेका छन् । यी कुरा सुनाउँदा साथीहरूका मुहारमा आक्रोश अनि पीडा देख्छु । उहाँहरूका विचार सुन्छु र हाँस्छु पनि । त्यति बेलाको साथीहरूको मनोविज्ञान अनौठो हुन्छ तर त्यसले मलाई छुन सक्दैन । त्यस्ता कुराबाट धेरै ठाउँमा डामिई सकेको छु । त्यस्ता कार्य क्षेत्र क्षेत्रमा देख्न सकिन्छ । अङ्कुसेका कारण योग्य अयोग्य र अयोग्य योग्य भएका उदाहरण पनि अनगिन्ती छन् । पैसाको कुरा हो सक्नेले खर्च गर्दा पनि हुन् । अझ पत्रपत्रिका र सञ्चारका अन्य माध्यममा पनि सेटिङ् मिलाइएको हुन्छ रे । बाँच्ने कृति हो जति नै हो । आफ्नो लेखनमा विश्वास हुनेलाई यसबाट हानी हुँदैन । जेजे गरे पनि फरक पर्दैन । चर्चा परिचर्चा गराए पनि नेपालमा वास्तविक लेखेर लेखक बाँच्लान् जस्तो लाग्दैन ।

अन्त्यमा, केही थप भन्ने इच्छा छ कि?
छैन, म भाषासाहित्यको सामान्य पाठक हुँ । मलाई माया गर्दै यति लामो कुराकानी गर्ने मौकादिनु भयो । यहाँ मार्फत मैले आफ्नो अभिमत जाहेर गर्ने सुअवसर पाएँ । तपाइका गहकिला र जिम्मेवार प्रश्नहरूका आफूले जानेसम्मको उत्तर दिएको छु । मलाइ यस्तो अवसर प्रदान गर्नु भएकोमा तपाईप्रति आभारी छु ।


Loading comments...