जारी निषेधाज्ञा केही खुकुलोः ब्यापार ब्यवसाय गर्न तोकिए वार – फुटपाथ पसल, ठेला व्यापारलाई पनि राहत


काठमाण्डौ, २४ भाद्र, २०७७ । नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्वारा जारि निषेधाज्ञा सम्बन्धमा केही खुकुरो स्वरुपको तयारी सहितको प्रेस विज्ञप्ती जारी गरिएको छ ।

नेपालमा लकडाउन सक्किएको झण्डै महिनादिनपछि जारी निषेधाज्ञाको सन्दर्भमा यो तेश्रो पटक अपडेट सहितको आदेश जारी भएको हो । जारी आदेशमा ८ बुँदामा निषेध गरिएका गतिविधिहरु टुङ्ग्याइएको छ भने १९ बुँदामा सञ्चालन गर्न सकिने क्रियाकलापहरुबारे विस्तृत रुपमा उल्लेख गरिएका छन् ।

ट्याक्सी सूचारु | खाद्य सामाग्री बिहान ११ बजेसम्म तथा बेलुकी ५ देखि ७ बजेसम्म | फुटपाथ पसल, ठेला व्यापारलाई पनि राहत काम गर्ने समय तोकियो

के के छ त आज जारी आदेशमा?
काठमाण्डौ जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७/०५/०३ गते देखि मिति २०७७/०५/२४ गते सम्म निषेध आदेश जारी गरिएकोमा जनजीवनमा परेको प्रत्यक्ष प्रभावलाई मध्यनजर गर्दै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई यस अघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै मिति २०७७/०५/२४ गते राति १२:०० बजे देखि मिति २०७७/०५/३१ गते राति १२:०० बजे सम्मका लागि लागू हुने गरी काठमाण्डौ जिल्ला भरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को अधिकार प्रयोग गरी देहाय बमोजिम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

निषेध गरिएका गतिविधिहरु:
१) खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस आदि गर्न गराउन
२) भीडभाड हुने गतिविधिः जस्तै जात्रा, महोत्सव, भोजभतेर आदि संचालन गर्न गराउन
३) मठ मन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्य पूजा बाहेकका गतिविधिहरु सञ्चालन गर्न
४) बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार/व्यसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलापहरु गर्न
५) चाडपर्व लगायतका धार्मिक सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघटहरु
६) शैक्षिक संस्थाहरु संचालन गर्न
७) सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न
८) उद्योग, व्यापार, व्यवसाय, निर्माण आदि कार्य गर्नका लागि स्वास्थ्य सुरक्षा मापदण्ड विपरित श्रमिक/कामदारको ओसार पसार गर्ने कार्य गर्न

सञ्चालन गर्न सकिने क्रियाकलापहरुः
१) काठमाडौं जिल्लाका भित्र १६ सिट क्षमता भन्दा बढी भएका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिनेछ । साथै भाडाका ट्याक्सीको हकमा चालक सहित ३ जना र परिवार भित्रमा ५ वर्ष मुनीका बालबालिका २ जना सम्म राखी चलाउन सकिनेछ । निजि सवारी साधनहरु (मोटरसाइकल/स्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने तथा भौतिक दूरी कायम गर्ने गराउने गरी सञ्चालन गर्न सकिनेछ । यात्रुबाहक सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्दा मापदण्ड अनुरूप सामाजिक दुरी कायम हुने गरी एक लहरमा एक जना (कूल सीट क्षमताको आधा भन्दा नबढ्ने गरी) मात्र बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुहरूले मास्क अनिबार्य लगाउनु पर्ने, सवारी साधनको ढोकामै स्यानीटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रूपमा सवारी साधनको दैनिक निसंक्रमित गरिएको हुनु पर्नेछ । यसरी सञ्चालन हुने सार्वजनिक तथा निजि सवारी साधनहरु जोर विजोर प्रणालि अनुसार सञ्चालन गर्नु पर्नेछ । तर मालबाहक ढुवानीका सवारी साधनहरु सञ्चालनको हकमा जोर विजोर प्रणाली लागु हुने छैन ।

२) अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल/व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने ।

३) नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु विक्री वितरण गर्ने पसलहरु विहान ११:०० बजेसम्म र बेलुका ५:०० बजेदेखी ७:०० बजेसम्म खोल्न सकिनेछ ।

४) नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी काठमाडौं उपत्यका भित्र विकास निर्माण सँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल/व्यवसाय साथै सो को ढुवानिका लागि प्रयोग हुने सवारी साधन दिउँसो २:०० बजेदेखी बेलुका ७:०० बजे सम्म खोल्न सकिनेछ ।

५) टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई दिउँसो १२:०० बजेदेखि बेलुका ७:०० बजे सम्म सञ्चालन गर्न सकिनेछ ।

६) सहकारी संस्थाहरु स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइ बिहान ११:०० बजे देखि दिउँसो ३:०० बजे सम्म सञ्चालन गर्न सकिनेछ ।

७) सपिङ्ग मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी साताको सोमवार, बुधबार र शनिवार मात्र खोल्न पाईनेछ ।

८) भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आईतबार, मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ ।

९) फर्निचर र अटो मोवाइल सम्बन्धी पसल सातामा सोमवार र बुधवार मात्र खोल्न सकिनेछ ।

१०) फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, ईलेक्ट्रिक र ईलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११:०० बजेसम्म र वेलुकी ४:०० बजेदेखी ७:०० बजेसम्म खोल्न सकिनेछ ।

११) सवारी साधन मर्मत सम्बन्धी वर्कसप विहान ८:०० बजे देखि बेलुकी ८:०० बजे सम्म सञ्चालन गर्न सकिने छ तर स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्नेछ ।

१२) उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरूको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था गरी जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु गराउनु पर्नेछ । साथै आवश्यक पर्ने PPE Set लगायत स्वास्थ्य सामग्री सम्बन्धित उद्योग/कलकारखाना आफैले प्रबन्ध गर्नु पर्नेछ ।

१३) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार Online कक्षा सञ्चालन गर्न ।

१४) माथि उल्लेख गर्न छुट भएका उल्लेखित सेवाहरुसँग मिल्दो जुल्दो सेवाहरु तोकिएको समयमा सञ्चालन गर्न सकिनेछ ।

१५) बिदेश जाने व्यक्तिहरुको लागि आवातजावतमा सहजिकरण गर्न सकिनेछ ।

१६) स्वाब परिक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । कन्ट्याक्ट ट्रेसिंगमा परेका व्यक्तिहरू समेत स्वाब परिक्षण गराउने व्यक्तिहरुको रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रूपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नु पर्नेछ । यस व्यवस्थाको उल्लंघन हुनेगरी जथाभावी हिंडडुल गर्नेहरू उपर संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ ।

१७) सञ्चालन गर्न पाउने सेवाहरु स्वास्थ्य मापदण्ड बमोजिम भए नभएको विषयमा सम्बन्धित नियामक निकायले नियमित अनुगमन गरी सो को प्रतिवेदन तालुक निकाय र जिल्ला प्रशासन कार्यालयमा पेश गर्नु पर्नेछ ।

१८) माथि उल्लेखित सेवाहरु सञ्चालन गर्दा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नु/गराउनु पर्नेछ । यस आदेशको उल्लंघन गरे गराएको पाइएमा वा स्वीकृत मापदण्ड विपरित गरे/गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ ।

१९. यस कार्यालयबाट मिति २०७७।०५। १७ गते जारी आदेश बमोजिम सञ्चालन गर्न सकिने सेवा तथा कार्यहरू यथायत सञ्चालन गर्न सकिनेछ ।

जारी विज्ञप्तीको वास्तविक प्रति


Loading comments...