
कोरोनाभाइरस: कहिले नाक, मुख त कहिले आँखामा हाम्रो हात किन गइराख्छ?
काठमाण्डौ, २७ भाद्र, २०७७ । यो रोमाञ्क लाग्न सक्ला तर यो सत्य हो की मानवलाई अन्य जीवहरुबाट भिन्न देखाउने सरल गुणमा अनुहार छुने अथवा स्पर्श गर्ने स्वभाव पनि एक हो । वास्तवमा आम जिज्ञासा हुन सक्दछ: “मानिसहरू आफ्नो अनुहार नछोएर किन बस्न सक्दैनन्? कहिले नाक, मुख त कहिले आँखामा हात किन जान्छ?”
हामीले थाहै नपाई आफ्नो अनुहार छोइराख्ने स्वभाव भएको सम्भवत: मानव एकमात्र प्रजाति हुनसक्छ । यही स्वभावले कोरोनाभाइरस (कोभिड-१९) जस्ता रोग फैलाउन सघाउँछ । त्यसकारण कोरोनाभाइरस संक्रमणबाट जोगिन प्रथमपटक गरिएको सचेतनाका अभियानहरुमा राम्ररी साबुन पानीले नधोइएका हातले अनुहारका कुनैपनि भाग छुदै नछुने ।
हामी किन आफ्नो अनुहार छुन्छौं, र हामीले यो स्वभावलाई कसरी नियन्त्रण गर्न सक्छौं ?
हाम्रो बानी कस्तो छ?
हामीले बारम्बार आफ्नो अनुहार छोईनै रहेका हुन्छौं । सन् २०१५ मा अस्ट्रेलियामा चिकित्साशास्त्रका विद्यार्थीहरूको स्वभावको अध्ययन गरियो । त्यति बेला उनीहरूमा समेत अनुहार छोइराख्ने आनीबानी रहेको पाइयो ।
त्यस स्वभाव अध्ययनका क्रममा सहभागीहरूले एक घण्टामा कम्तीमा २३ पटकसम्म आफ्नो मुख, नाक तथा आँखा छोएको भेटिएको थियो । सरुवा रोग विशेषज्ञ अथवा स्वास्थ्य विज्ञहरूका अनुसार त्यसरी अनुहार छोइराख्ने बानी खतरनाक हुन सक्छ ।
आफ्नो आनीबानीबाट सचेत हुँदै स्वास्थ्यसँग सम्बन्धीत बेहोराहरुमा परिवर्तन ल्याउन समेत यस वैश्विक स्वास्थ्य संकट कोभिड-१९ ले एउटा अवसर दिएको छ । यसबाट जोगिन हामीले आफ्ना हातलाई अनावश्यक अनुहारमा ल्याउने र खुल्ला भागहरु जस्तै आँखा, नाक, मुख तथा कानमा अनावश्यक हात अथवा औंलाहरु नराख्ने । र नियमित साबुन पानीले हात कम्तीमा २० सेकेण्डसम्म सफा गर्ने तथा यो बानीलाई नियमित व्यवहारमा लागू गर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
तर साँच्ची, हामी बारम्बार किन अनुहार छोइरहेका हुन्छौं त?
यस सम्बन्धमा एउटा अध्ययनबाट रोचक तथ्य आएको थियो । त्यस अध्ययन अनुसार मानव र बाँदर प्रजातिका केही जीवहरु हात नचलाई बस्नै नसक्ने भेटिएको थियो । हुनसक्छ त्यही स्वभाव तथा जीनका कारण हाम्रो हात चलिरहेको हुन्छ र केही न केही चलाई नै रहेको हुन्छ ।
तनावमा हुँदा, खुशीमा हुँदा, आक्रोशमा हुँदा अथवा आफ्नो अनुभूती लजाएर, फकाएर अभिव्यक्त गर्दा मान्छेले हात आफ्नो अनुहारमा लगिरहेको हुन्छ । त्यस्तै केही प्रजातिले मान्छे झै अनुहार राम्रो बनाउन वा कीरा धपाउन समेत अनुहारमा हात लैजाने गर्छन्।
विज्ञहरु यसबारे के भन्छन्?
मानव र केही वानरजातिले विभिन्न कारणले अनुहारमा हात लगिरहन्छन् । यूसी बर्कलीका मनोवैज्ञानिक तथा प्राध्यापक ड्याचर केल्ट्नर भन्छन्, “अनुहारलाई सहज बनाइराख्न हामीले हात प्रयोग गर्ने गरेका हुनसक्छौं । तर अरू बेला हामीले थाहै नपाई अनुहार छोएर “जिस्किने वा सामाजिक नाटकको एक चरणबाट अर्को चरणमा प्रवेश गरिरहेका हुन्छौँ ।”
अन्य विज्ञहरूले हामीले आफैँलाई छोएर आफ्ना संवेग र ध्यानलाई नियन्त्रणमा लिन खोज्ने गरेको निष्कर्ष निकालेका छन् । लाइप्सिग विश्वविद्यालय जर्मनीका मनोवैज्ञानिक एवं प्राध्यापक मार्टिन ग्रुन्वाल्ड भन्छन्, “यो हाम्रो प्रजातिको आधारभूत स्वभाव नै हो ।”
“आफैलाई छुने स्वभाव कसैले कुनै सन्देश दिनको लागि बनाएको होइन, यो त प्राय: थाहै नपाई हुने गर्छ,” ग्रुनवाल्डको निश्कर्ष छ । “यो स्वभावले हाम्रो सबै चेतनशील र संवेगात्मक प्रक्रियामा प्रमुख भूमिका खेल्छ । यो सबै मानिसमा हुने गदर्छ ।”
आफ्नै अनुहारमा छुँदा हुन्छ चैं के?
आफैलाई छुने यस्तो स्वभावको एउटा समस्या के हो भने हाम्रा आँखा, नाक र मुखबाट खराब वस्तु वा कीटाणु सहजै हाम्रो शरीरभित्र पस्न सक्छ ।
उदाहरणका लागि कोरोनाभाइरस कुनै सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा ससाना बिन्दुको रूपमा नाक वा मुखबाट सहजै प्रवेश गर्न सक्छ र यदि तपाईंको हातले संक्रमितलाई छोएको छ र हातलाई साबुन पानीले नछोएर अथवा संक्रमणरहित नगरेर अनुहार छुँदा, नाकमा औंला राख्दा, मुखमा औंला राख्दा अथवा आँका कुनामा औंला लैजाँदा संक्रमितमा रहेको कोरोनाभाइरस तपाईंको शरिरमा सजिलै प्रवेश गर्नसक्छ र तपाईंलाई संक्रमण सार्न सक्छ ।
कति शक्तिाशाली हुन्छ भाइरस?
भाइरसको यही शक्ति र हाम्रो अनुहार छोइराख्ने बानीको मेल खतरनाक हुनसक्छ । सन् २०१२ मा अमेरिका र ब्रजिलका अनुसन्धानकर्ताहरूको एउटा टोलीले कुनै मानिसहरूको एउटा समूहले सार्वजनिक स्थलका सतहहरूमा एक घण्टामा तीन पटकसम्म हातले छोएको पायो ।
त्यस अनुसन्धानका क्रममा मानिसहरूको त्यो समूहले प्रतिघण्टा ३.६ पटकसम्म नाक वा मुख छुने गरेको तथ्य रेकर्ड गरेको थियो । ती अस्ट्रेलियाली विद्यार्थीहरूले घण्टामा २३ पटकसम्म अनुहार छोएको भन्दा कम हो ।
कक्षाकोठा भित्र भन्दा बाहिर अन्य कुराले ध्यान भङ्ग गरेको हुनाले बाहिर रहेका मानिसको अनुहार छुने क्रम कम भएको हुन सक्छ ।
मानिसहरूको यस्तै अनुहार छोइराख्ने स्वभावका कारण पनि केही विज्ञहरूले हातको छुवाइबाट बचाउन पनि नाक र मुख छोप्ने मास्क लगाउने सल्लाह दिइरहेका छन्।
यो ब्यवहार बदल्न हामी के गर्न सक्छौँ?
हामीले हातले आफ्ना अनुहार छोइराख्ने दर कम गर्न के गर्न सक्छौँ होला? कोलम्बिया विश्वविद्यालयमा स्वभावबारे अनुसन्धान गरेका वैज्ञानिक माइकल हल्स्वर्थ भन्छन्: सल्लाहसुझावलाई व्यवहारमा बदल्न निकै गाह्रो हुन्छ।
“मानिसले थाहै नपाई गर्ने गरेको कामलाई रोक्नुहोला भन्नु आफैँमा एउटा समस्या हो । “अनुहार ‘नछुनू’ भन्नुभन्दा पनि मानिसलाई हात धोइराख्नू भन्न सजिलो हुन्छ।”
के छ त यसको समाधान?
हल्स्वर्थका विचारमा, “हामीले आफैलाई छोइराख्ने कारण पत्ता लगाएर पनि समाधाननजिक पुग्न सकिन्छ । हामीले छुनुपर्ने कारणहरू पत्ता लगाएर पनि त्यसको समाधान निकाल्न सक्छौं । आँखा छोइराख्नुपर्ने मानिसले घामचस्मा लगाउन सक्छन् ।”
हल्स्वर्थका अनुसार, “जोखिमबारे आफैँलाई सम्झाइरहने गर्नाले पनि स्वभाव बदल्न सहयोग पुग्न सक्छ । यदि कसैमा कुनै स्वभाव डरलाग्दो छ भने साथी वा आफन्तलाई त्यसबारे आफूलाई चेतावनी दिइरहन सुझाव दिएमा पनि सहयोग पुग्न सक्छ ।”
सबैभन्दा राम्रो उपाय के हो?
अरू जेसुकै गरे पनि नियमित रुपमा साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म मिचिमिचि हात धुने बानीले जति फाइदा अरू उपायबाट हुँदैन ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले फेब्रुअरी अन्तिम साता एउटा पत्रकार सम्मेलनमा भने, “हामीले खोप वा औषधिलाई कुरिरहनै पर्दैन । हामीले यस्तै ससाना कदम चालेर आज आफूलाई बचाउन सक्छौँ।”