Lifestyle Portal
  •   ८ असार २०७८, मंगलवार
suyog dhakal

ब्याकं ब्यालेन्स नभएको मान्छे म ।

२० मंसिर २०७५, बिहीबार १४:२६

सुयोग ढकाल- मेरो दिमागमा केवल एउटा प्रश्न छ, आजका लागि । छन त अरु थुप्रै छ तर आज एउटा प्रश्नको चिरफार गर्न मन छ । म मात्र हैन हामीमध्य धेरै लाई यो प्रश्नले पिरोलेको छ, आउनुहोस् बात मारौं ।
मेरो पैसा, मेरो हात या ब्याकंको पैसा । एटीएम घोटेपछि या चेक साटेपछि निस्कने नोटहरु, यि पैसाहरु संग किन म आँफै पनि भजिन्छु । ब्याकंमा टन्न पैसा हुने सही अनि म जस्ता कम या थोरै पैसा हुने हरु खराब भइन्छ त ? यदि भइन्छ भने किन ?
हो म त हरेक महिना नागींन्छु , तलब आँउछ अनि घरको भाँडा र पसलको उधारो तिरेरै सकिन्छ । एक प्लेट मोमो खान १० पटक सोच्न पर्दछ, कहिलेकाँही खाई हालें भनें पनि दश वटा डल्लाहरु लाई दश पटक ओल्टाई पोल्टाई झोल थपेर सिनित्त पार्दछु । के म गलत भए ?
म संग पर्याप्त ब्याकं मा सन्तुलन अर्थात ब्यालेन्स रहन पाँउदैन तसर्थ मलाई खराब भनिन्छ ।
तलब आएपछि साथीहरु पोखरा घुम्न जाने कुरा गरिरहँदा म २३ रुपैयाँको लुगाधुने साबुन ले २३ पटक रगडेर मेरो दुई बर्ष पुरानो सर्ट लाई धोइरहेको हुन्छु, आइरन लगाँउने ठाँउमा क्रिज बिग्रेर च्यातिन आँटेको छ । पोखरा जान नपाएर म प्लाष्टिकको भाँडोमा पानी हालेर पोखरी बनाएर लुगा धोइरहेको हुन्छु, शायद खराब भनेंको यही हो ।

मेरो कोठाको परतिर छिमेकी परिवार अर्को कोठा लिएर बसेका छन्, ४ जनाको । बुवा सुरक्षा गार्डको काम गर्दछन् अनि आमा यता उता कोठाहरुमा लुगा धोइदिने र भाँडा मोलिदिने काम गर्दछिन् ।
मलाई नि भाई एक्लै हुनुहुन्छ भाँडा मोल्न अनि लुगा धुन परेमा भन्नुहोला भन्दै थिइन, मैले त्यो आँट्न सकिन । राती अबेर आएर खाली भाँडा ठटाउनु मेरो नियती जस्तो लाग्न थालिसक्यो तर सत्य कुरा के हो भनें मैले चित्त बुझाउने यदि कोही छन भनें यिनै परिवार लाई हेरेर बुझाउने गर्दछु ।

जिन्दगीमा यदि केही भए भनें म यो परिवारलाई थोरै भए नि अवसर दिन्छु भन्ने मैले ठानेको छु ।
यस परिवारको १३ बर्षको कान्छो छोराले अहिले सम्म पिज्जा खाएको छैन्, उसको मुखमा पिज्जा परेको छैन् । आमालाई डर छ, यदि छोराको मुखमा पिच्जाको टुक्रो परिगयो र भोली पिज्जा मनपरायोे भनें कहाँ वाट ल्याउने भन्न,े , नत्र एकफेर म पिज्जा खुवाउन लिएर जान आँटेको थिए तर आमाले दिइनन। पुराना भित्ताहरु ले आवाज छान्न सक्दैनन्, छोरीलाई साथीहरु ले झैं लेहेगां लाउन मन परेको कुरा ले झगडा परिरहन्छ, अर्को दशैंको भाका हुन पर्छ शायद किनकि यसपाला दशैंमा सामान्य झलमले कुर्ता किनेर ल्याएको देखेको छु ।
शायद मध्यमवर्ग परिवार भनेंको यस्तै हो, न्यून मध्यमवर्ग भन्छन् क्यार ।
अब फेरि म प्रश्न सोध्छु, के तिनीहरु पनि म जस्तै खराब छन् ?
के पैसा नहुनु खराब हो ?

बिर गोर्खाली का गाँथाहरु १३ बर्षको भाई ले पुस्तक मा पढ्ने गर्दछ, एउटा देशभक्ती कविताको पश्नोत्तर घोकिरहेको थियो बिहान । शौचालय जाने समयमा उनिहरु को ढोका खुल्लै भएर मैले सुनें, मनमनै सोचें गोर्खाली को देश अनि बिरताका गाँथाहरु त छन्, बग्रेल्ति छन् । तर यो सैनिक अनि बलले हामीलाई शत्रुवाट त जोगाउन सक्ला तर भोक अनि अभाव वाट ति सैनिक हरुले हामीलाई जोगाउन सक्दैनन्, सिमा भित्र भएका सबैभन्दा ठूला शत्रुहरु नै भोक अनि अभाव हो । पछि म आफ्नै काममा लागें, भाई पनि पाठ घोकि सकेर स्कूल गयो शायद ।

थोरबहुत त अर्थशस्त्र मैले नि पढ्या छु, लगभग १ प्रतिशत भन्दा कम नेपालका सभ्रान्त जनसख्याँ ले ६० प्रतिशत भन्दा धेरै सम्पती र श्रोतमा स्वामीत्व राखेका छन् । मेरो सपना उनिहरु लाई टुटाउने त हैन तर न्यूनतम जिवनको प्रत्याभूति दिलाउन सके हुन्थ्यो भन्ने छ ।

घरमा दाईले तँ ठूलो कुरा गर्छस भनेंर गाली गर्छ । उ सानो कुरा गरेरै होला गाँउमा पशुको डाक्टर भएको छ ।
अस्ती कुसुमी काकीको गाई ब्याउन नसक्दा हातै हालेर दाईले बाच्छो निकाल्न उक्ति लायो, मेरो दाई ले कुरा सानै गरेपनि बिगौती र दुध भनें प्रशस्त खान पाउने भयो, मैले सोचे ।
दशैंमा टीका लाँउदा पनि उसको हात गनाँयो कि भन्ने तर्कनाहुने भयो यसपाला, हाहा । काममा सानो ठूलो हुन्न, दाईले गरेको काम मा सम्मान गर्दछु ।
दशैंकै कुरा गर्दा यसपाला घरमा ठूलो आवाजले मेरो बारेमा एउटा कुरा चल्ने छ भन्ने थाहा छ । कुरा हो मेरो बिहेको । यो कुराको पनि मेरो ब्याकं ब्यालेन्ससंग ठूलो लेनदेन छ, आउनुहोस आज यो पनि लेखिनै दिँउ, कि कसो ?
बिहे एउटा अचम्मको रित रहेछ जहाँ ब्याकंको वयान महत्वपूर्ण हुने रहेछ । पैसाको वयानको अगाडि मेरो प्रेमले कुनै अर्थ राखेन, एउटा दौड प्रतियोगीता झैं अब अर्को प्रतिस्पर्धिले बाजि मार्नेछ तर मलाई बाल छैन् । जिवनमा समबन्ध यदि अर्थशास्त्रको भकारीमा निर्भर हुन्छ भनें समाजशास्त्रको के काम? दर्शन शास्त्रको के काम< म त हजुर समाजशास्त्र अनि दर्शनशास्त्रको फ्यान, थोरवहुत बजारशास्त्रको अनुयायि पनि । तर जतिसुकै खोकेपनि आफ्ना छोरीचेली दिँदा भनें हामीले पनि केटाको घर अनि जागिर त हेरिने रहेछ । काकाकी छोरीको बिहे गर्दा केटा ठम्याउने काम मलाई दिए, मैले केटालाई भेटेर जागिर सोधें, घर परिवार सोधें अनि आधाघन्टा चियागफ गरेपछि काकालाई कल गरेर प्रस्तावित केटा हुन्न भनिदिँए । उसको व्यक्तिगत आनीबानीमा समस्या थिएन, मिजासिला मान्छे थिए तर उन्को सामान्य जागिर र घरपरिवारको सम्पती वयानमा ब्याकं व्यालेन्सको अवस्थाले मलाई बहिनीको भविष्यप्रति प्रश्न उब्जायो । भोली उस्को जागिर भएन या घरै बसेर जिवन चलाउन पर्यो भनें भन्ने कुराले चिन्ता उब्जायो । त्यसमाथि उनीहरु ३ जना दाजुभाई अनि बुवाको घरखेतको सोतो ४ भाग पार्दा उसको भागमा पर्ने एक् सोतो जमिन र एकधर्का घरमा मैले बहिनीको भविष्य देखिन् । मैले त्यस केटालाई अपमान गरे झैं भएको छ तर समाजको रित यस्तैरहेछ मैले उस्को भविष्यको संभावना भन्दा वर्तमानको अवस्थालाई बढि मुल्य दिँए । दुइटा प्रण गरें त्यो दिन्, पहिलो मेरो प्रेम तुहिँदै जानुमा मैले मेरै दोष पाएं र दोश्रो यस जिवनमा बुवाआमाको सम्पतीको एक धर्कोपनि नलिइकन अघि बढ्ने सकंल्प । जे हुन्छु आफ्नै बलले हुन्छु, एकबोरा चामल र एक थान ओढ्ने ओछ्याउने लिएर काठमाडौ आएको हुँ, जे गर्छु आफ्नै बलले गर्छु भन्ने आँट झन प्रगाढ भएर ल्यायो ।

मेरो प्रेम पनि त्यसैत्यसै ब्याकं ब्यालेन्सको कमिमा तुहिएर गयो, म कसैलाई दोष दिन्न किनकि समाजको रित यहि नै हो । म एउटा दौड बिहिन सामान्य समबन्धको स्थापना गर्नेछु भन्ने सोच छ तर घरमा दशैमा सबैजना भेला हुँदा यो बुझाउने कसरत म गर्न सकुँदा त < यो बर्ष दशैंमा बिहेको निँहुमा कौन बनेगा करोडपति वाला प्रश्नोत्तर मसंग सबैले गर्नेछन् अनि म राउण्ड १ मै आउट पनि हुनेछु । मोफसलको प्रेम न भयो, शायद ब्याकंमा प्रशस्त सन्तुलन भएको भए आज उनले र मैले यो बिछोड सहन गर्न पर्थेन होला, पर्खनेछु त्यसवर्ष सम्म जब कोही ग्रिन कार्ड होल्डरले उन्लाई डोलीमा चढाएर लानेछ। यो मुला ब्याकंको ब्यालेन्स वाला कुराले प्रेम जिवनसम्म तहसनहस पारिदियो तर म कन्भिन्सड छु। बरु आँट बढेर गएको छ आजभोली, ब्यापार शुरु गरेको छु यसै झोँकमा ।
मलाई त हजुर ठूलो गर्न छ, सानो कोठामा बस्छु अनि सानै तलब छ तर सपना ठूलै छ । पुरा पनि गरेरै छाड्छु तर कसैले पैसा नभएकै कारणले खराब भन्दा चाँही र असक्षम भन्दा चाँही दुख्ख लाग्छ ।
यदि म खराब हो भनें म जस्ता धेरै खराब हरु देशमा छन् ।
धनी मात्र सही हो भनें यो देश गरिबहरु ले भरिएको छ, बहुमत को कदर हुन्छ तसर्थ यो खराबहरुको देश हो ।
बसोवासको मुद्धाहरु, निशुल्क स्वास्थ अनि निशुल्क शिक्षा जस्ता मुद्धाहरु सदनमा बिवाद हुने बिषय बनेंको छ, घिन लाग्छ मलाई ।
जनताको लागि चाहीने मुलभूत बिषयमा बिबाद गर्ने सदन अनि संसदमा म कसरी बिश्वास गरौं, मलाई त एकदिन सदन नै उल्टाउन पनि मन लागेको छ ।

मेरा मुद्धाहरु लैजाने मान्छेहरु चाहीएको छ । छेउको भाईलाई डाक्टर बन्न मन छ, मैले नि जिस्क्याँउछु उसलाई डाक्टर भाई भनेंर ।
तर फेरि मलाई थाहा छ, डाक्टरको सेतो कोट उसको आगंमा पर्न कत्ति अफ्ठेरो छ भनेंर ?
यहाँ पैसा बोल्छ त्यसैले होला, पैसा नहुने हामी खराब भएका छौं ।
खाना कम अनि बाटाको धुलो धेरै ले हामी अघाएका छौं, मलाई त धुलो पनि सरकारको गरिब जनताका लागि ल्याएको निशुल्क भोजन जस्तो लाग्न थालिसक्यो ।
उपचार अभावमा धादिगंका एकजना तामागं दाई ले प्राण त्यागे । रगत दिन जाँदा चिनजान भएको थियो, क्यान्सर पीडित उनीसंग केमो गर्ने पैसो थिएन् ।
त्यो दिन म मुर्दाघर सम्म लाश हेर्न गएँ, खराब मान्छेहरु को नियती शायद यस्तै हुन्छ यो देशमा । म पनि कुनै दिन त्यसै गरि उपचार नपाएर लड्छु भन्ने तर्कना आयो ।
पैसा नहुँदैमा खराब भइने रहेछ, म पनि खराब छु ।
मेरो सपना ठूलो छ, पुरा गरेरै छाड्छु । शुन्य वाट शुरु गरेको छु, गुमाउने कुरा केही छैन् । म पर्खिरहेको छु एक दिन, शायद गंगा उल्टो बग्नेछ अनि खराबहरु को कुरा सुनुवाई हुनेछ । मलाई किन किन खराब नै राम्रो लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।