प्याजको कालोबजारी बढ्यो, बारामा एकजना पक्राउ


बारा, २ असोज, २०७७ । भारतले नेपालका लागि प्याज निर्यातमा रोक लगाए लगत्तै नेपालतर्फ योजनावद्ध कालोबजारीले ब्यापक्ता पाएको छ । बढ्दो कोरोना संक्रमण तथा चाडबाड नजिकिंदै जाँदा कालोबजारीका घटनाहरु देखिन थालिएका छन् । कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका संचालक सोही ठाउँ बस्ने चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले प्याजको कालोबजारी गरेको अभियोगमा पक्राउ गरेको छ ।

प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्दा प्रतिकिलो ४३ रुपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरेको हो । स्टोरमा लुकाई राखेको ४ सय ५८ किलो प्याज समेत प्रहरीले बरामद गरेको छ ।

साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । किसानको खेतदेखि उपभोक्ताको घरसम्म खाद्यवस्तुको वित्तरण तथा पहुँचमा अवैज्ञानिक धारका कारण विचौलियाहरु मोटाएका छन् भने किसानले मिहिनेतको मूल्य समेत नपाउँदा सदियौंदेखि पीडित बनेका छन् ।

हिजो मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफै पनि प्याज खरिदका क्रममा ठगिएका थिए । उपभोक्ताको ब्यापक गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमनका लागि बल्खु बजार पुगेका थिए ।


Loading comments...