सतर्क रहनुहोलाः “तपाईलाई रु. २५ लाखको चिठ्ठा परेको छ” भन्दै IMO को प्रयोगगरी ठगी गर्ने २ जना पक्राउ


काठमाण्डौ, ८ आश्विन, २०७७ । सामाजिक सञ्जाल इमो (IMO) को प्रयोग गरी ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जिल्ला, बिराटनगर वडा नं. ११ बस्ने २७ वर्षका साहिल हुसेन अन्सारी तथा मोरङ, बिराटनगर वडा नं. ९ का २७ वर्षिय कामेश्वर स्वर्णकार रहेका छन् ।

दुवैले “तपाईलाई IMO APPs मा रु.२५,००,०००।–(पच्चिस लाख) को चिठ्ठा (Lottery) परेको छ” भनि झुक्याउँदै आएका थिए । कथित चिठ्ठामा उल्लेखित रकम दावी गर्न नेपाली नागरिकताको प्रतिलिपी एवं बैंकको खाता नम्वर समेत मागी चिठ्ठा परे बापतको निश्चित रकम राज्यलाई कर तिर्नु पर्ने र तिर्नु पर्ने कर वापतको रकम IME मार्फत मोरङ पठाई दिनु पर्यो भनि पटक पटक फोन गरेका थिए । साथै फोन गर्नेले चिठ्ठा परेको विषयमा प्रहरी तथा अन्य मानिसलाई जानकारी गराएमा चिठ्ठामा परेको रकम पठाउन नसक्ने भन्दै पटक पटक सतर्क गराउँदै आएका थिए ।

निरन्तरको प्रलोभन एवं दवावमा पारी रु. २,८०,०००।- (दुईलाख असी हजार) ठगीएको भनि भनि जिल्ला चितवन कालिका न.पा., ०४ वस्ने वर्ष ४४ को महिलाले आश्विन ४ गते ईलाका प्रहरी कार्यालय टाँडी, चितवनलाई दिएको सूचनाको आधारमा प्र.ना.उ. रविन कार्की समेतको अनुसन्धान टोलीले अनुसन्धान गरी ठगी गर्ने दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा पक्राउ गरी ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी ल्याई सम्मानित चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ ।


Loading comments...