वैदेशिक रोजगारीबाट फर्किएका महिला गर्भधारण गरेर मात्रै आउँछन् भन्ने कुरा गलत मानसिकताको उपजः मन्त्री पार्वत गुरुङ


काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले कोरोना भाईरस (कोभिड—१९) का कारण वाध्यतावश रोजगारी वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको रोजगारी र पुर्नस्थापनाकालागि काम गरिरहेको बताउनुभएको छ ।

हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक पत्रकार समाजले शुक्रबार आयोजना गरेको ‘वैदेशिक रोजगारबाट समस्यामा परी फर्किएका महिला, बालबालिका तथा गर्भवती महिलाहरूको विषयक’ वेविनार कार्यक्रममा बोल्दै मन्त्री गुरूङले नेपाली समाजले उनीहरुलाई सकारात्मक व्यवहार गर्नु पर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका महिला गर्भधारण गरेर मात्रै आउँछन् भन्ने मानसिकता गलत रहेको र त्यसलाई परिवर्तन गर्नुपर्ने बताउँदै मन्त्री गुरुङ्गले भन्नुभयो, “सम्मानजनक रुपमा रोजगारी गरेर फर्किएका महिलालाई विदेशमा गएर कहाँ बस्यो, कोसँग बस्यो भन्दै समाजबाट बहिस्कृत, तिरस्कृत तथा परिवारबाट अपिहेलित गर्न हुँदैन ।”

“रोजगारीबाट फर्किएका महिलाका समस्यालाई सकारात्मक रुपमा लिएर रुपान्तरणमा सबै पक्ष एकाकार हुनुपर्नेमा जोडदिदै मन्त्री गुरुङ्गले भने विदेशबाट आएका महिलालाई हामीले अपमान मात्र होईन अनुचित शंका नगरौं, विदेशमा जाने महिला के कारणले बाध्य भएका छन् । फर्केर आएपछि त्यसको विश्लेषण गरौं र सुखदुख सुनौं ।”

मन्त्री गुरुङ्गले विदेशमा जाँदा पनि ठगिएर रुँदै, शोषित भई जानुपर्ने र फर्केर आउँदा पनि समाजले बहिस्कार गर्ने परिस्थितिलाई कसरी परिवर्तन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो । “समाजमा रहेको गलत मानसिकता तथा विचारलाई कसरी रुपान्तरण गर्ने र कसरी जनचेतना दिने भन्ने विषयमा विभिन्न संघसंस्थासँगको सहकार्यमा सरकारले कार्यक्रम ल्याउने छ ।”

साथै वहाँले ‘सामाजिक संघसंस्थाले सामाजिक सेवाको भावनाले कुनै पनि व्यापार नगरी समाजका मानिसको मानसिक परिवर्तनको लागि काम गरेमा यस्ता विभिन्न विसङ्गती, विकृति आउन नसक्ने उनले दाबी गरे । ‘सच्चा मानवताको हिसाबले काम गरेमा यसको अन्त्य साँच्चै हुने र विगतको दिनमा दर्दनाक अवस्था भोगेर नेपाल फर्केका महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ ।’

त्यति मात्रै नभई विदेशबाट गर्भवती भएर फर्किएका महिलाले एउटा वेवारिशे बच्चालाई जन्म दिने जस्ता समस्यालाई कसरी मुक्त गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नुपर्ने बताउनुभयो ।

पौरखी नेपालका कार्यकारी निर्देशक अध्यक्ष मञ्जु गुरूङले विदेशबाट गर्भधारण गरी वा बालबच्चासँग आएका महिलाले निकै चुनौतीको सामना गरी समाजमा बाँच्नुपर्ने बाध्यता रहेको भन्दै विदेशमा यौनहिंसा गरेर गर्भवती हुने र समझदारीमा यौन गरेर गर्भवती भएको महिलालाई एउटै रूपमा हेर्न नहुने बताउनुभयो ।

‘विदेशमा गएर पनि विभिन्न यौन हिँसा, विभेद भोगेर फर्केको हुन्छ,’ उनले भनिन्, ‘नेपाल आउँदा पनि परिवारले विश्वास नगर्ने, समाजले तिरस्कार गर्ने जस्ता धेरै समस्याले महिलाले झन नेपाली समाजमा विभिन्न विभेद सहनु पर्ने बाध्यता रहेको छ ।’

साथै, विदेशबाट आएका महिलालाई परिवार तथा समाजले स्वीकार नगर्ने, गर्भवती भई नेपालमा जन्म भएका बच्चाले नागरिकता नपाउने, राज्यविहिन हुनुपर्ने, विद्यालय भर्न गर्न नपाउने समस्या भएकाले सरकारले सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिनुभयो ।

त्यसैगरी सरकारले घरेलु कामदारको लागि द्विपक्षिय सम्झौता गरी महिला र घरेलुमैत्री बनाउनुपर्ने वहाँले बताउनुभयो ।


Loading comments...