picnic

सम्झनामा खोला पारीको बनभोजको


अर्जुन भण्डारी
अर्जुन भण्डारी

मंसिरको सिजन विहेको मात्र कहाँ हो र ? लगन जुर्नेको लागि पो विवाहको महिना हो नत्र अरुलाइ त पिकनिक/बनभोज जाने महिना हो । चाडपर्वको रमाइलो चाडपर्व सकिएपछि पुन त्यस्तै रमाइलो थप्ने कार्य पिकनिकले गर्दछ । खेतिपाति भण्डारण सकेपछि फुर्सदको बेलामा रमाइलो गर्नका लागि घर बाहिर कुनै स्थानमा भेला भइ मिलेर रमाइलो गर्ने कार्य गरिन्छ ।

धेरै जना कुनै नौलो स्थानमा भेला भएर गरिने सामुहिक भोजनलाइ बनभोज बुझिन्छ । खासगरी पिकनिकमा साथि साथिहरु जम्मा भएर गरिन्छ, भने कोही परिवार-परिवार मिलेर, विभिन्न संघ संस्थाबाट, विभिन्न समुहवाट गरिन्छ । विशेष त देउसी भैलो खेल्दा जोरिएको समुह बनभोज गर्दछन ।

मलाइ मंसिर विहेको महिना भन्दा पनि बनभोजको महिना जस्तो लाग्छ । यस महिनाको शनिवार वा विदाको दिनमा पिकनिक स्पटहरुमा कोचाकोच मानिसहरुको हुल हुन्छन । कतै पकाउँदै गरेको, कर्त फोटो खिच्दै गरेको भने कतै नाच्दै गाउँदै गरेको दृष्यहरु देख्न पाइन्छ अनि बेलुका फेसवुकको भित्तामा फोटोहरुको झिलिमिली पनि देख्न पाइन्छ ।

पोखराको लुम्ले, तनहुँको बन्दिपुर, काठमाण्डौको नगरकोट, नुवाकोटको ककनी, चितवनको नारायणी किनार, जस्ता विभिन्न प्रख्यात स्थानहरुमा मानिसहरु आजभोली बनभोज कार्यक्रमका लागि जानेहरुको घुुँइचो देखिन्छ ।
picnic
बनभोज ब्यबस्थापन चुनौति पुर्ण कार्य हो । कलेज पढदा सवैको फुर्सद मिलाउन नसकेर अनि पिकनिकको स्थान छनोट गर्न नसकेर पिकनिक स्थगित भएको कुरा सम्झना आउँछ । जस्मा साथिहरुले संकलन गरेको रकम पनि पुन फिर्ता दिएका थिए ।

यस्तै पिकनिकको सम्झनामा म करिव ८ बर्षको हुँदा देउसी खेलेका साथिहरु धेरै जसो पिकनिक गएका थिए । अनि म लगायत मेरो दाजु अनि केही २-३ जना बाँकी साथिहरुलाइ साना केटाकेटी हरुलाइ नलग्ने भनि इन्कार गरेपछि हामी नलगेका मध्येबाट चार जना मिलेर अर्काे पिकनिक जाने योजना बनायौँ । सायद साना केटाकेटीहरुको जिम्मेवारी बढि हुने भएर होला । उनीहरु घरबाट गएको करिव १ घण्टा पछि हामी साना पाटी पनि केहि छिन मै रु ७ प्रति ब्यक्ति संकलन गरि केहि सामान घरबाट र केहि सामान किनेर ल्यायौँ ।

त्यसपछि उनीहरु नजिकै खोलाको पारी सामान लग्यौँ । संख्या थोरै अनि सवै कुरा थोरै भएका कारणले गर्दा सामान पनि धेरै थिएन । हामी पनि आँफु भन्दा ठुला अग्रजहरुको नजिकै जाने निर्णय गर्यौँ । जस्ले गर्दा सुरक्षाको अनुभुति पनि हुन्थ्यो । जानासाथ हामी चिया बनायौँ, अनि नास्ता पनि गर्यौँ । मःम बनाउने निष्र्कषमा पुगेका हामी आलु उमाल्न राखेपछि हामीसंग क्यासेट नभएकाले अग्रजहरु कै गीतमा आफ्नै यरियामा नाच्न थाल्यौँ । उनिहरु नास्ता बनाउँदै थिए । हामी पनि आलु उम्लेपछि बोक्रा फाली बन्दा प्याज जस्ता तरकारी काटेर मर मसला हाल्यौँ । अनि पिठो मुछेर मःमको डल्लो बनायौँ । केहि बेरमै मःम पाक्यो ।

मःम पाक्नासाथ हामीले अर्काे लट भाँडोमा बसाली खान लाग्यौँ । एक लट मःम खाएपछि नै हामी अघायौँ । सामान भएसम्म मःम बनायौँ । अनि उता अग्रजहरुको भने खाना पाक्दै थियो । भोकले आकुल ब्याकुल भएका उनिहरुको सामान अनि परिकार धेरै भएकाले निकै समय लागेको थियो । करिब २ बजेको थियो अनि आँफुले खाएपछि अग्रजहरुलाइ पनि मःम दिने योजना बनायौँ, सवैलाइ २/२ वटा बाँड्यौँ अनि घर तिर फर्कियौँ ।

विभिन्न कामको बोझ तथा ब्यस्ततालाइ विर्षेर आफ्नो वास्तविक जिन्दगी जिउन पाउने भएकाले नै होला बनभोज रमाइलो लाग्ने । यस्तो कार्यक्रमले खुसीयाली बढाउनुको साथसाथै मानिसहरु विच आत्मीयता पनि बढाउने कार्य गर्दछ । आज भोली बनभोजमा केहि नयाँ पन आएता पनि घर बाहिर कुनै शान्त तथा रमणीय स्थानमा गइ खाना खाने चलन बढ्दै गएको पाइन्छ । यस्तो कार्यक्रमले आन्तरिक पर्यटनमा पनि निकै महत्वपुर्ण योगदान गर्दछ भने रमणिय स्थानको प्रचार पनि गर्दछ । जे जसरी बनभोज आयोजना गरिएता पनि रमाइलो भने अनुभव गर्न सकिन्छ । बनभोजमा सवै जना सचेत भने हुन आवस्यक रहन्छ ।


Loading comments...