आप्रवासी कामदारको पुनःएकीकरण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुग्यो


काठमाण्डौ । वैदेशिक रोजगारबाट फर्किएका कामदारको आप्रवासी पुर्नएकीकर कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिएका छन् । हाम्रो सम्मान परियोजनाको सहयोगमा बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको आप्रवासी कामदार पुर्नएकीकरण योजना र कार्यक्रम विषयक छलफलमा कार्यकारी निर्देशक श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोर्डको कार्यकारी निर्देशक श्रेष्ठ , सर्लाही जिल्लाको बागमति नगरपालिकाका उपमेयर लिला मोक्तान तथा प्राविधिक तथा व्यवसायिक तालिम विज्ञ खेम लेकाई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठले पुर्नएकीकरणको नीतिगत परिभाषामा नै समस्या भएको बताए । पुर्नएककीरण कार्यक्रम सञ्चालन गर्नुअघि सामाजिक, आर्थिक र मानसिक समस्यालाई परिभाषित गरिनु पर्ने उनले बताए ।

कार्यक्रममा कसलाई सहभागी गराउने ?उनीहरूलाई बोर्डको तर्फबाट के कस्तो कार्यक्रम दिने ? कार्यन्वयनको चरणमा कुन–कुन तहसँग समन्वय गरेर जाने ? भन्ने विषयलाई समेटेर कार्यविधि बनेको बताउँदै श्रेष्ठ हाल कोरोनाको प्रभावले गर्दा स्थानियस्तरमा गएर कामगर्न निकै समस्या रहेको भन्दै काठमाडौंमा मात्रै नभई स्थानीय तहमा नै गएर काम गर्ने योजना रहेको बताए ।

गत असोज ५ गतेको बोर्डको वैठकले पुर्नएकिरकणको कार्यविधि तयार पारेको जानकारीदिदै श्रेष्ठले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत सहमति प्रदानगरेपछि कार्यान्वयनमा ल्याउने जानकारी दिए । उनका अनुसार असोज महिनाभित्रमा कार्यविधि स्वीकृत भएर आउने छ ।

पुर्नएकीकरण कार्यक्रमको लागि नै चालु आर्थिक वर्षको बजेट नै विजिनयोजन भएको उल्लेख गर्दै कार्यकारी निर्देशक श्रेष्ठले कार्यान्वयनका विषयमा समग्र प्याकेजमा छलफल भएको जानकारी दिए ।

आन्तरिक श्रम बजारमा आउने श्रमिकहरू मध्ये बाध्यतावश वैदेशिक रोजगारीमा जाने प्रवृतिलाई न्यूनिकरण गर्दै जाने योजना कार्यविधिमा रहेको बताउदै श्रेष्ठले वैदेशिक रोजगारीबाट समस्यामा परेर फर्किने श्रमिकलाई सबैभन्दा पहिले पारिवारिक पुर्नमिलन गराई त्यसपछि सामाजिक तथा आर्थिक हिसाबले शसक्तिकरण गर्दै अगाडि बढाउने योजना रहको बताए ।
कार्यक्रम कार्यन्वयनको क्रममा सबैभन्दा पहिले स्थानीय तहसँगै समन्वय र सहकार्य गरेर लागत साझेदारीको आधारमा जानुपर्ने भन्दै श्रेष्ठले कार्यक्रमसँग जोडिने कृषि, पर्यटन, नीजी तथा सरकारी क्षेत्रलाई सामाजिक आर्थिक रूपमा आवद्ध गराउने बताए । त्यसैगरी यही क्षेत्रमा काम गरिरहेका गैरसरकारी संघसंस्थाहरू, दातृनिकायहरू, विकास साझेदारीहरूलाई पनि आवद्ध गराउने कार्यविधिमा उल्लेख गरेको उनले जानकारी दिए ।

‘अलेखबद्ध ढङ्गले काम गरेर फर्केका श्रमिकहरूमा पनि महिलाहरूको समस्या जटिल रहेको भन्दै श्रेष्ठले कार्यविधिमार्फत दातृनिकाय, विकास साझेदार, नीजि क्षेत्र तथा स्थानीय क्षेत्रले समेटेर आर्थिक तथा प्राविधिक हिसाबले सहयोग गर्ने श्रेष्ठले बताए ।

सबैभन्दा समस्या नै स्वदेश फर्किएका कामदारको एकीकृत तथ्याङ्क रहेको भन्दै उनले विभिन्न श्रेत्रबाट तथ्याङ्क संकलन भएता पनि त्यो तथ्याङ्कले श्रमिककको पहिचान नहुने बताए ।

स्थानीय तहमा एकिन तथ्याङ्क छैन – बागमति नगरपालिका

सर्लाही जिल्लाका बागमति नगरपालिकाका उपमेयर लिला कुमारी मोक्तानले वैदेशिक रोजगारीमा गएका श्रमिकको स्थानीय तहमा यकिन तथ्याङ्क नभएको जानकारी दिइन् । हालसम्म कुन ठाउँकोे श्रमिक कुन देशमा श्रम गर्न गएका छन् र आन्तरिक श्रममै कति श्रमिक छन् भन्ने कुनै तथ्याङ्क नभएको भन्दै उनले कोरोना महामारीले स्वदेश फर्किएका श्रमिकको तथ्याङ्क संकलनमा जुटेको उनले बताइन् । यसका साथै, मन्त्रालय वा संघीय सरकारबाट कुनै निर्णय वा निर्देशन नआएको कारण पनि नगरपालिकाले खासै ध्यान नदिएको उनको भनाइ छ ।

नगरपालिकाले विदेशमा रोजगारी गुमाएर फर्केका श्रमिकलाई स्वदेशमै श्रम गर्नको लागि विभिन्न आयोजनाको छनौट गरेको जानकारी दिदै उनले नगपालिकाले १२१ विघामा ताल अर्थात पोखरी, १२५ विघामा बागवानी वृक्षरोपण र ५ विघामा फनपार्क बनाउने योजना बनाएकोले धेरै श्रमिकले रोजगारी पाउने पाउने दावी गरिन ।

विदेशबाट सीप सिकेर फर्केका श्रमिकलाई ध्यान दिनुपर्ने – व्यवसायिक तालिम विज्ञ

रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर श्रम गरि सीप सिकेर फर्केका श्रमिकलाई सरकारले ध्यान दिनुपर्ने प्राविधिक तथा व्यवसायीक तालिम विज्ञ खेम लेकाइले वताए ।लेकाइले बाध्यताले विदेशिनु परेता पनि फर्केको बेला सीप ल्याएको हुनाले विदेशबाट ल्याएको सीप कहाँ प्रयोग गर्ने भन्नेमा सरकारले ध्यान दिएमा सबैभन्दा उत्तम हुने बताए ।

उनले देशमा रोजगारीको अथाह संभावना भएपनि दक्ष जनशक्ति र सूचनाको अभाव रहेको भन्दै उनले वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा नै रोजगारी दिलाउन तालिम केन्द्र स्थापना गरी उद्यमशिलता बनाउनुपर्ने बताए ।

कार्यक्रममा रेडियो कान्तिपुरकि ईन्द्रलक्ष्मी घिमिरेले स्वदेश फर्किएका कामदारको पुर्नएकिकरण सम्वन्धमा कार्यपत्र पेश गरेकी थिईन ।


Loading comments...