यस पटकको ‘आइटेक दिवस २०२०’ कोभिड–१९ व्यवस्थापन बारे ज्ञान तथा अनुभव केन्द्रित


काठमाण्डौ स्थित भारतीय राजदूतावासले मिति २०७७ असोज १७ गते “कोभिड–१९ व्यवस्थापन बारे ज्ञान तथा अनुभव आदानप्रदान” विषयमा वेबिनार मार्फत भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस २०२० को ५६ औं वार्षिकोत्सव मनायो । आइटेक भारतको महत्वपूर्ण क्षमता अभिवृद्घि सहयोग प्रयास कार्यक्रम हो जुन नेपाल लगायत विश्वभरका १६० विकासशील राष्ट्रहरुमा फैलिएको छ ।

कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीहरु सम्बोधन गर्न हेतु आफ्ना विचार तथा अनुभव साटासाट गर्नका लागि नेपालबाट आइटेकका विशिष्ट भूतपूर्व छात्र छात्रा तथा भारत र नेपालका सरकार र उद्योगका विज्ञहरुलाई उक्त वेबिनारमा निम्त्याइएको थियो । सो कार्यक्रममा नेपालका लागि भारतका राजदूत महामहिम विनय मोहन क्वात्रा, नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र नेपाल सरकारका नायव महान्यायाधिवक्त्ता पद्मप्रसाद पाण्डेयको उपस्थिति थियो । भारतको तर्फबाट भारत सरकारका बायोटेक्नोलोजी विभागकी सल्लाहकार डा. अल्का शर्मा र हैदराबाद स्थित भारत बायोटेक इन्टरनेशनल लिमिटेडकी सह–प्रबन्ध निर्देशक एवम् सह–संस्थापक सुचित्रा एलाले सो कार्यक्रममा सहभागीता जनाएका थिए ।

भारतीय राजदूत विनय मोहन क्वात्राले आइटेक प्रयास कार्यक्रम अन्तर्गतका सहकार्य लगायत नेपालमा मौलिक क्षमता अभिवृद्घि गर्न जारी द्विपक्षीय सहयोगको सराहना गर्नुभयो । गत वर्षदेखि नै नेपालको विभिन्न संस्थाहरुमा कार्यरत अधिकारीहरुका लागि भनेर विविध क्षेत्रहरुमा जस्तैं नेपालको सर्वोच्च अदालतका लागि न्यायिक सेवाहरु, अर्थ मन्त्रालयका लागि सार्वजनिक वित्त व्यवस्थापनमा भारतका प्रमुख संस्थाहरुमा कैयौं आइटेक कार्यक्रम आयोजना गरिएको छ । यी बाहेक राजस्वका अधिकारीहरुका लागि प्रशिक्षण, सम्पत्ति शुद्घिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा प्रशिक्षण, जलस्रोत तथा विकासमा गहन प्रशिक्षण र कोभिड–१९ महामारी व्यवस्थापनको लागि भनेर ई–आइटेक कार्यक्रम पनि सम्पन्न भएका छन् ।

राजदुत क्वात्राले दुई देशबीच महामारी नियन्त्रणका लागि भएको सहकार्यबारे पनि चर्चा गर्नुभयो जस अन्तर्गत भारतले गत अप्रिल यता रेमडेसिभिर लगायतका अत्यावश्यक औषधी, पीसीआर टेष्ट कीट तथा आइसीयु भेन्टिलेटर जस्ता सामाग्रीको वितरण मार्फत नेपाललाई सहयोग गर्दै आएको छ । अन्य वक्ताहरुले पनि महामारी नियन्त्रण र निकट भविष्यमा खोप उपलब्धताको सम्भावनाबारे आ–आफ्नो विचार प्रस्तुत गरे ।

भारत सरकारको प्रायोजनमा गत अप्रिल यता भारतका प्रमुख शैक्षिक संस्थाहरुमा कोभिड–१९ महामारी संकट र यसको व्यवस्थापन सम्बन्धी ई–आइटेक कोर्ष अध्ययनमा भाग लिएका झण्डै १०० जना ई–आइटेकका पूर्व छात्र छात्राले यस वेबिनारमा भाग लिई विचार आदानप्रदान गरेका थिए । #AIIMS -जोधपुर, #AIIMS-रायपुर र PGIMER-चण्डीगढ लगायत भारतका प्रतिष्ठित संस्थाका चिकित्साविदहरु पनि आफ्ना विचार तथा दृष्टिकोण प्रस्तुत गरेका थिए ।

आइटेक कार्यक्रम भारत सरकारको पूर्ण सहयोगमा सञ्चालित छ । यस कार्यक्रमले नेपाल लगायत विभिन्न १६० विकासशील देशहरुसँग भारतको विकास अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्न सघाउ पुर्‍याउँछ । नियमित ई–आइटेक तथा विशेष आइटेक कोष मार्फत नेपाल सरकार अन्तर्गतका धेरै संस्था लाभान्वित भएका छन् ।


Loading comments...