dr govinda kc

डाक्टर केसीको स्थिति अत्यन्तै जटिलः नेपाल चिकित्सक संघद्वारा आन्दोलनको घोषणा


काठमाण्डौ । जुम्लाको बाबिरा मष्ठो मन्दिरबाट सुरुभएको डाक्टर गोविन्द केसीको १९ औं सत्याग्रहको आज २४ औं दिन हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, यसअघि भएका सम्झौता पूर्ण कार्यान्वयन हुनुपर्ने, लकडाउन र निषेधाज्ञा पूर्ण अन्त्य गरिनुपर्ने, राज्यलक्ष्मी घुसकाण्डदेखि सत्तारुढ दलका नेतामाथि छानबिन गरिनुपर्ने लगायतका माग राखेर उनी सत्याग्रहमा बसेका हुन् ।

उधारो सहमतीहरु पुरा नभएसम्म सत्याग्रहबाट नउठने अडान लिएका डाक्टर केसीको बढ्दो जटिल स्वास्थ्य परिस्थितिलाई मध्यजनर राख्दै वहाँको जीवन रक्षाका निमित्त नेपाल चिकित्सक संघले चरणवद्ध विरोध कार्यक्रमको घोषणा गरेको छ ।

नेपाल चिकित्सक संघद्वारा जारी विज्ञप्तीमा लेखिएको छः
नेपाल चिकित्सक संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द के.सी. को १९ औं आमरण अनशनका सम्बन्धमा संघले मिति २०७७ आश्विन १८ गतेका दिन डा. के.सी.को जीवन रक्षाका निम्ती नेपाल सरकारलाई ७२ घण्टाको समयावधि उपलब्ध गराई वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अबिलम्ब सत्याग्रहको अन्त्य गर्न आग्रह गरेको व्यहोरा अवगत नै छ । तर आज २४ औं दिन पुगी सक्दा समेत सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ । डा. के.सी.को स्वास्थ्य अवस्था अत्यन्तै जटिल अवस्थामा पुगेकोले यस संघ उहाँको जीवन रक्षाका निम्ती निम्न लिखित विरोधका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

तपसिलका कार्यक्रमहरु
१) मिति २०७७ आश्विन २२ गते बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैैै धर्ना गर्ने ।
२) मिति २०७७ आश्विन २२ गतेदेखि संघका शाखा कार्यालयहरुमा र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्ने ।
३) उल्लेखित अवधिभर डा. गोविन्द के.सी.को सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराईएको अवस्थामा नेपाल चिकित्सक संघ बाध्यता बस मिति २०७७ आश्विन २३ गते शुक्रबार १ दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको व्यहोरा अवगत गराउदै संघका सम्पूर्ण शाखा कार्यालयहरुले सोही अनुरुपका कार्यक्रमहरुको कार्यान्वयन गर्न गराउन समेत यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ । साथै उल्लेखित अवधिभित्र बार्ताटोली बनाई सत्याग्रहको अन्त्य नगरिएको अवस्थामा संघबाट थप कडा विरोधका कार्यक्रमहरु सार्वजनिक गरिनेछ ।

संघद्वारा घोषणा गरिएका बिरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ । साथै यस संघ अझै पनि नेपाल सरकारलाई कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सेवा प्रवाहमा उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति गहन रुपमा मनन गरी अबिलम्ब वार्ताटोली गठन गरेर वार्ता र सम्वादको माध्यमद्वारा सत्याग्रहको अन्त्य गर्न हार्दिक आग्रह गर्दछ । यस संघ नेपाल सरकारले चाहेको अवस्थामा जुनसुकै बेला वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।

सम्बन्धीत समाचारहरु

१) उधारो माग पूरा नगरिए सत्याग्रह कुनै बेला पनि शुरु हुनसक्छः डा. केसी
२) डाक्टर केशीको अनशन केही समयको लागि स्थगित
३) सत्याग्रह नं. १९ः जुम्लाको बाबिरा मष्ठो मन्दिरबाट सुरुभयो डाक्टर गोविन्द केसीको सत्याग्रह
४) डाक्टर केसीको इच्छा विपरीत अनसन स्थलबाट जबरजस्ती अस्पताल लगियो
५) डा केसीको स्वास्थ अवस्था गम्भीर

प्रेस वक्तव्यको वास्तविक प्रति


Loading comments...