upendra yadhav

गुणस्तरीय स्वास्थ्य सेवाका लागि एनआरएनएसँग सहकार्य आवश्यकः पूर्व मन्त्री यादव


काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा आयोजित बोल्दै पूर्व स्वास्थ्य तथा कानुन मन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारको समन्वयकारी भूमिका बनाउनुका साथै एनआरएनए लगायत विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

‘पब्लिक हेल्थ एण्ड पेन्डामिक मिटिगेसन’ विषयक कार्यक्रममा बोल्दै मन्त्रीले महामारीको मौकामा स्वास्थ्य क्षेत्रमा गुणस्तरहीन सामग्री खरिद गरी भ्रष्टाचार गर्ने प्रवृति बढेकाले एनआरएनए लगायत अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गरे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिने बताएको हो ।

स्वास्थ्य मानिसको आधारभूत अधिकार भएको तर नेपाल जस्ता विवेकशील मुलुकहरूमा आधारभूत अधिकारबाट नै नागरिकहरु बञ्तित बन्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

‘सबै नागरिकका लागि प्राथमिक स्वास्थ्य सुविधा निः शुल्क भन्ने छ तर सरकारी अस्पताल जाँदा औषधी छैन । निजीमा महंगो शुल्क तिरेर उपचार गर्न बाध्य बन्नुपर्ने अबस्था छ,’ कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले भने ।

कोरोना महामारीको समयमा पनि आर्थिक रुपले असक्षम नागरिकहरू खासगरी विपन्न तथा दलित समुदायहरु आवश्यक स्वास्थ्य सुविधाबाट बञ्चित बन्न बाध्य रहेको उल्लेख गर्दै कोरोनाका कारण यही वर्गका व्यक्तिहरुले ज्यान गुमाउनु परेको प्रष्ट पारे । कोरोना महामारीले जटिल रुप लिँदै गएकाले अबस्था नेपालको सामथ्र्यभन्दा बाहिर जाने हो की भन्ने आशंका व्यक्त गरे ।

‘एकातिर खुल्ला सीमाना, चेतनाको अभाव, र विभिन्न कारणले नेपालमा तीव्र गतिमा कोरोना फैलिएको छ,’ उनले भने, ‘यसबाट बचाउन कुनै लापरबाही नगरी राज्य लाग्नुपर्ने देखिएको छ ।’

महामारीकै समयमा स्वास्थ्य क्षेत्रमा भइरहेका भ्रष्टाचार रोकेर स्वास्थ्य सेवालाई चुस्त बनाउन उनले जोड दिए ।

कार्यक्रममा बोल्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वास्थ्यसँगै रोजगारी क्षेत्रमा पनि कोरोना महामारीका कारण निकै ठूलो असर परेको बताए ।

‘खाडी क्षेत्रसहित समग्र विश्वको श्रम बजारमा कोरोनाको प्रभाव रहेको छ । खाडीमा मात्रै १० प्रतिशतले रोजगारी गुमाउने अनुमान छ,’ उनले भने ।

कोरोना महामारीका कारण महिला, घरेलु कामदार तथा दैनिक ज्यालादारीमा काम गर्ने, अस्थायी मजदूरहरू बढी मारमा परेको बताउँदै उनले पछिल्लो समय गन्तव्य मुलुकहरुले विदेशी कामदार प्रतिस्थापन गर्ने रणनीति अघि सारेकाले नेपाली श्रमिकहरू प्रभाािवत बन्ने जानकारी दिए ।

‘सम्पूर्ण खाडी मुलुकहरुले आफ्ना नागरिकहरुलाई रोजगारीको प्रत्याभूति गर्ने रणनीतिहरू लागू गरेका छन् । ओमानले पनि २०१९ बाट ८० प्रकारका काममा विदेशी कामदारहरु नलिने घोषणा गरेको छ । थियो भने २०२१ बाट सरकारी कामदार नराख्ने नीति लिएको छ,’ राजदूत ढकालले भने ।

महामारीको समयमा नेपालले पनि अन्य राष्ट्रहरूले लिएको रणनीतिअनुसार सहकार्य गरेर अगाडी बढ्न आवश्यक रहेको उनले सुझाव दिए ।

स्वास्थ्य विभागका निर्देशक डा दिपेन्द्र रमण सिंहले नेपालमा कोरोना संक्रमणले जटिल रुप लिँदै गएको उल्लेख गरे । ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको उनले जानकारी दिए । त्यस्तै पछिल्लो समय संक्रमितहरू मध्ये ७० प्रतिशत पुरुष तथा ३० प्रतिशत महिला रहेको उनले जानकारी दिए ।

‘संक्रमितमध्ये अहिलेसम्म एक्याक्टिभ केस २७ प्रतिशत छन् ७३ प्रतिशत निको भइसकेका छन्, उनले भने,’ ‘अहिलेको अवस्थाबारे हामी थप अध्ययन गरिरहेका छौँ ।’

कोरोनासँग जुध्न निकै चुनौतीपूर्ण अबस्था रहेकाले सहयोगका लागि उहाँले एनआरएनएलाई समेत आग्रह गरे ।

विदेशमा कोरोना नियन्त्रणका अनुभव तथा प्रविधिहरु नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग साटेर विदेशमा रहेका स्वास्थ्यकर्मीहरुले सहयोग गर्न आबश्यक रहेको उनले उल्लेख गरे ।

एनआरएनए अन्तर्गत स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ सँगसँगै हामी यात्रा गरिरहेको उल्लेख गरे ।

कोरोनाका कारण हामीले थुप्रै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गुमाइसकेको बताउँदै ठूलो संख्यामा संक्रमित निको हुनु भएको महामारीसँग जानकारी दिए । जुध्न अझ धेरै संघर्ष आवश्य रहेकाले सबैजना हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा डा. भगवान कोइरालाले महामारीसँग जुध्न स्वास्थ्यकर्मीहरुको निकै महत्वपूर्ण भूमिका रहेको बताए । तर स्वास्थ्यकर्मीहरुको सुरक्षा अबस्था चाहिँ निकै दयनीयपूर्ण रहेको उनको भनाई थियो ।

समितिका अध्यक्ष डा. संजिव सापकोटाको संयोजनमा स्रिया गजुरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यक्रममा सांसद रिना गुरुङले पनि आफ्नो धारणा प्रस्तुत गरे । त्यस्तै प्रोफेसर डा. पदम सिम्खडा, भोमा लिम्बु एनआरएनए महिला संयोजक, डा. इसान अधिकारी, डा. निस्हिता पाठक, डा. दिपेन्द्र पराजुली, रवि नायक नेश्नल ल स्कुल अफ इन्डिया युनिभर्सिटी, लगायतले आफ्नो धारणा व्यक्त गरे ।

गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली


Loading comments...