विपद् तथा महामारीविरुद्ध पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमीः गगन थापा


काठमाडौं । गैरआवासीय नेपाली संघको जारी दोस्रो विज्ञ सम्मेलनमा बोल्ने वक्ताहरुले सरकारले समयमा गम्भिर नहुदाँ कोरोना संक्रमणमा बृद्धि भएको विचार व्यक्त गरेका छन् ।

सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गर्नुभएको छ।

‘सरकार होपलेस देखियो । पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,’ गैरआवासिय नेपाली संघ (एनआरएनए)द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा तुलाधारले भन्नुभयो ।

शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताउनुभयो ।

‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ । जिम्मेवार नेतालाई थाहा छ। तर हामी इमान्दार छैनौं,’ उहाँले भन्नुभयो ।

विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसियु बेड पाउन नसकिने अवस्था आइलागेको बताउनुभयो । उहाँले विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताउनुभयो । विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्नसने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गर्नुभयो ।

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताउनुभयो ।

एनआरएनए, आईसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनलेले जहिल्यै पनि सहयोग गर्दै आएको बताउनुभयो । नेपालमा बाढीपहिरो, आगलागी जस्ता विपद्का घटना हुन् वा २०७२ को भूकम्पमा एनआरएनएले प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै डा केसीले अहिलेको कोभिड–१९ मा पनि उच्चस्तरीय समिति गठन गरेर संक्रमित एवं उद्दारको दस्तावेज बनाएर काम भइरहेको बताउनुभयो ।

एनआरएनए, स्वास्थ्य समिति संयोजक डा सन्जीव सापकोटाले पूर्वतयारीबिना महामारी नियन्त्रणको काम गर्न नसकिने बताउनुभयो । यो सत्रमा गैरआवासिय नेपाली संघका डा अलिनी सुवेदी, डा कुस श्रेष्ठ, डा द्रोण रसाली, डा हेमराज शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


Loading comments...