व्यापारका नयाँ–नयाँ अवसर खोजौं


“हिम्मत गरेमा कठिन केही छैन, व्यापारीहरूका लागि टाढा भन्ने हुँदैन” – यो भनाइको विस्तृत चर्चा गरौं ।

नेपालीहरूको डाएस्पोरा (कुनै एक देश वा समुदायका व्यक्तिहरूको विदेश बसाइ (समूह) बृहत् हुँदै गएको छ र यो अझै बृहत हुने क्रममा छ । कुन सङ्ख्यामा नेपालीहरू विदेशमा बसोवास गरिरहेका छन् भन्ने ठोस तथ्याङ्क छैन । अनुमानको आधारमा, अहिले ५० लाखभन्दा बढी नेपाली स्थायी एवं अस्थायी गरी विदेशमा बसेको पाइन्छ ।

विदेशमा नेपालीहरूको बसोवास दुई किसिमको पाइन्छ । पहिलो बसोवास स्थायी प्रकृतिको रहेको छ र स्थायी बसोवास गर्नेहरू नेपालबाट स्थायी किसिमले विदेशमा बसोवास गर्न गएको पाइन्छ। स्थायी किसिमले विदेश बसोवास गर्न गएकाहरूमध्ये ज्यादै कम मात्र नेपाल फर्कने गरेका छन् । धेरै पहिले क्यानडा, अस्ट्रेलिया, अमेरिका, युरोप आदि पुगेका नेपाली परिवारका तेस्रो पुस्ता (नातिनी, नाति) प्रवासमैं जन्मे, हुर्केर विद्यालय जाने उमेरका भइसकेका छन् । र यो तेस्रो पुस्ता नेपाल फर्कने सम्भावना न्यून छ । तेस्रो पुस्ताका व्यक्ति जहाँ जुन देशमा छन्, त्यहीं उनीहरूको स्थायी बसोवास हुने प्रबल सम्भावना छ। तर आश्चर्य के छ भने यो तेस्रो पुस्ताले, प्रवासमा रहेर पनि नेपाली वस्तु रुचाएको पाइन्छ । तेस्रो पुस्तासमेतले पनि नेपाली वस्तुहरू रुचाउनुले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको बिक्री हुने सम्भावना ह्वात्त बढेर गएको छ । विदेशमा बस्ने पहिलो र दोस्रो पुस्ताका व्यक्तिहरूमाझ नेपाली वस्तु मन पर्ने स्थिति त अटुटरूपमा छ नै । यी कारणहरूले गर्दा मौलिक नेपाली वस्तु विदेशी बजारहरूमा र खासगरी अमेरिका, क्यानडा, अस्ट्रेलिया, ग्रेट ब्रिटेन आदिमा ठूलो परिमाणमा बिक्री हुने ज्यादै बलियो सम्भावना छ ।

लेखकः विश्वराज अधिकारी

अमेरिकामा नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा रहेको अनुमान छ । अमेरिकामा स्थायी र अस्थायी किसिमले गरी करीब तीन लाख नेपालीको बसोवास रहेको अनुमान गरिएको छ। भूटानी शरणार्थीहरूलाई पनि समावेश गर्ने हो भने अमेरिकामा नेपालीभाषीको सङ्ख्या ठूलो रहेको पाइन्छ । पुनर्वासका लागि नेपालबाट अमेरिका आएका नेपाली मूलका भूटानीहरूको सङ्ख्या ५० हजारभन्दा बढी छ । टेक्सास, न्युयोर्क, इन्डियाना, नोर्थ केरोलाइना, जर्जिया जस्ता अमेरिकी राज्यहरूमा ठूलो सङ्ख्यामा भूटानी शरणार्थीहरूको बसोवास छ । अमेरिका मात्र होइन, विश्वका अन्य राष्ट्रमा पनि पुनर्वासका लागि नेपाली मूलका भूटानीहरू पुगेका छन् र उनीहरूको सङ्ख्या पनि पचास हजारको हाराहारीमा छ । विदेशमा बसोवास गर्ने नेपाली मूलका भूटानीमाझ पनि नेपाली वस्तु अति लोकप्रिय छ । विश्वका अनेक राष्ट्रमा नेपाली मूलका भूटानीहरूको ठूलो सङ्ख्यामा बसोवासले विदेशी बजारमा नेपाली वस्तु बिक्री हुने सम्भावना झनै बढाइदिएको छ ।

विदेशमा नेपालीहरूको दोस्रो किसिमको बसोवास भने अस्थायी प्रकृतिको छ । मुख्यगरी रोजगारका लागि खाडीका मुलुकहरूमा पुगेका नेपालीहरूको आप्रवास छोटो अवधिको हुन्छ । बहराइन, युनाटेड अरब इमिरेट्स, साउदी अरेबिया, इराक, कतारजस्ता खाडी मुलुकमा नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा छ । यसबाहेक मलेसिया, थाइल्यान्ड, फिलिपिन्सजस्ता मुलुकमा पनि नेपालीहरू रोजगारका लागि पुगेका पाइन्छन् । मलेसियामा भने नेपालीहरूको ठूलो सङ्ख्यामा बसोवास रहेको पाइन्छ ।

मलेसिया, साउदी अरेबिया र कतारमा बसोवास गर्ने नेपालीहरूले ठूलो परिमाणमा स्वदेशी वस्तु खरीद गर्ने सम्भावना प्रबल छ । उपरोक्त मुलुकमा नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा रहेकोले उनीहरूबाट हुने नेपाली वस्तुको मागको आकार पनि ठूलो नै हुनेछ । नेपालका व्यवसायीहरूले यी मुलुकहरूमा पनि विभिन्न मौलिक नेपाली वस्तु बिक्री गरेर राम्रो आय हात पार्ने सम्भावना छ ।

मौलिक नेपाली वस्तुहरूको बिक्रीको सम्भावना

नेपाली व्यापारीहरूले विदेशी बजारमा र खासगरी अमेरिकी बजारमा मौलिक नेपाली वस्तु ठूलो परिमाणमा बिक्री गर्न सक्छन् । नेपाली स्वादका मौलिक वस्तु–चाउचाउ, मस्यौरा, तितौरा, चकलेट, बिस्कुट, अचार, गुन्द्रुक, दाल, तोरीको तेल, भटमास आदि ठूलो परिमाणमा बिक्री गर्न सक्छन् । यसैगरी, उपहारका सामग्री (पहाड, मन्दिर, बस्ती आदिको तस्वीर), काष्ठकलाका सामान, पूजाका सामग्री, देवीदेवताका तस्वीर, नेपाली कागजले बनेका अनेक चित्र पनि राम्रो परिमाणमा बिक्री गर्न सक्छन् । नेपाली व्यापारीहरूले विदेशी बजारमा बिक्री गर्न सक्ने नेपाली मौलिक वस्तुको सूची लामो हुन सक्छ । मुख्य कुरा, नेपाली व्यापारीहरूले खोजी गर्नुप–यो । र हामीकहाँ खोजी गर्ने प्रचलन कम छ । हाम्रा व्यापारीहरू परम्परागत व्यापार गर्नमा नै रमाउँछन् । व्यापारका नयाँनयाँ अवसरको खोजी गर्दैनन् । अहिले स्थिति यस्तो छ, विदेशमा बस्ने नेपालीहरूले नेपाली स्वादका वस्तुहरू विदेशस्थित भारतीय भण्डारबाट खरीद गरिरहेका छन् । नेपालीहरूले ठूलो परिमाणमा भारतमा उत्पादित दाल, चामल, पीठो, भुजिया, मसला (जीरा, धनिया, बेसार, मरिच आदिको धूलो), चाउचाउ आदि विदेशस्थित भारतीय भण्डारबाट खरीद गरिरहेका छन् । नेपालीहरूलाई नेपाली स्वादका वस्तु बिक्री गर्न सक्ने अवसरको फाइदा विदेशमा रहेका भारतीय भण्डारहरूले लिइरहेका छन् । नेपाली व्यापारीहरूले यो सुनौलो अवसर गुमाइरहेका छन् ।

विदेशमा रहेका भारतीय भण्डारहरूले भने राम्रो परिमाणमा भारतीय वस्तु स्थानीय भारतीय र नेपालीलाई बिक्री गरिरहेका छन् । भारतले मौलिक भारतीय वस्तु विदेशी बजारमा ठूलो परिमाणमा निर्यात एवं बिक्री गरेको पाइन्छ । विदेशमा र खासगरी अमेरिकामा भारतीयहरूको बसोवास ठूलो सङ्ख्यामा रहेकोले अमेरिकामा बसोवास गर्ने भारतीय व्यक्तिहरूलाई मौलिक भारतीय वस्तु बिक्री गरेर भारतले ठूलो लाभ प्राप्त गरिरहेको छ । एउटा सुन्दर व्यापारिक अवसरको भरपूर लाभ भारतले लिइरहेको छ । नेपालले आफूलाई प्राप्त भएको अवसरको उपयोग गर्न सकेको छैन । कारण, हामीमा उद्यमीसिलता (entrepreneurship) को सर्वथा अभाव छ । हामी परम्परागत व्यापार गर्न रुचाउँछौं, व्यापारका नयाँ–नयाँ अवसरको खोजी गर्दैनौं ।

भारतीयहरूले मौलिक भारतीय वस्तु विदेशी बजारमा बिक्री गर्दा दुई किसिमबाट लाभ प्राप्त गरिरहेका छन् । पहिलो, मौलिक किसिमको वस्तु भएकोले ती वस्तुहरूले स्थानीय बजारमा भएका समान किसिमका अन्य वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्दैन र तिनलाई राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ । दोस्रो, भारतीयहरूको विदेशमा ठूलो सङ्ख्यामा बसोवास रहेकोले भारतका निर्यातकर्ताहरूले ठूलो परिमाणमा भारतीय वस्तु बिक्री गरेर राम्रो लाभ प्राप्त गरिरहेका छन् ।

नेपाली व्यापारीहरूले विदेशी बजारमा, खासगरी अमेरिकी बजारमा विभिन्न सामग्री बिक्री गर्न मुख्यतः दुई कुरामा ध्यान दिन आवश्यक छ । पहिलो, नेपाली व्यापारीहरूले त्यस्ता नेपाली वस्तु निर्यात गर्नुपर्छ, जुन मौलिक नेपाली प्रकृतिको होस्, जुन विदेशमा उत्पादन गर्न नसकिने किसिमको र मौलिक नेपाली स्वादको होस् । जस्तै– तितौरा, मस्यौरा, गुन्द्रुक आदि । यस्तो भएमा ती मौलिक नेपाली वस्तुले स्थानीय समान किसिमका वस्तुहरूसँग प्रतिस्पर्धा गर्नुपर्दैन र सजिलै बिक्री गर्न सकिने मात्र होइन, लाभ पनि राम्रो प्राप्त गर्न सकिन्छ ।

दोस्रो ध्यान दिनुपर्ने कुरा हो तौल । नेपाली व्यपारीहरूले विदेशी बजारमा सामान निर्यात गर्दा, निर्यात गर्ने वस्तु कम तौलको हुनु आवश्यक छ । यस्तो भएमा यातायात लागत जोगिएर स्थानीय बजारमा नेपाली वस्तु महँगो हुन पाउँदैन । उत्पादन लागतमा पनि ध्यान दिन आवश्यक छ । नेपालमा उत्पादन लागत अति चर्को छ । नेपालले उत्पादन लागत नियन्त्रण गर्न अति आवश्यक छ । नेपालले निर्यात गरेको वस्तु विदेशी बजारमा महँगो भयो भने बिक्री हुने सम्भावना क्षीण भएर जाने मात्र होइन, निर्यातकले घाटा बेहोर्नुपर्ने हुन सक्छ । नेपालमा उत्पादन लागत कम गर्ने नयाँ–नयाँ आधुनिक प्रविधिको खोजी अति आवश्यक छ ।

नेपाली डाएस्पोरा बृहत् हुँदै गएको परिप्रेक्ष्यमा यसबाट आर्थिक फाइदा लिन सकिने पर्याप्त अवसर देखिएको छ । यो स्थिति सुनौलो व्यापारिक अवसर हो ।

मौलिक नेपाली वस्तु निर्यात गरेर नेपाली व्यापारीहरूले राम्रो लाभ प्राप्त गर्न सक्छन्, भारतीय व्यापारीहरूले झैं । मुख्यतः अवसर खोजी गर्नुपर्छ र त्यसको उपयोग गर्नुपर्छ ।

अब माथिको सन्दर्भलाई जोडौं । “हिम्मत गरेमा कठिन केही छैन, व्यापारीहरूका लागि टाढा भन्ने हुँदैन ।” नेपाली व्यापारीहरूले प्रयत्न गरेमा विदेशी बजारहरूमा मौलिक नेपाली वस्तु बिक्री गरेर राम्रो लाभ आर्जन गर्न सक्छन् । थप रोजगार सृजना गर्न सक्छन् । र देशलाई धनी बनाउन सक्छन्। यस्ता असीम सम्भावना छन् ।

 


Loading comments...