सकारात्मक सामाजिक परिवर्तनका पक्षधर: कथाकार खेमराज पोखरेल


अमेरिकामा बस्दै आउनु भएका श्रष्टा खेमराज पोखरेल (२०१३), त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा ३३ वर्ष प्राध्यापन गरी हालै सेवा निवृत हुनु भएको छ । उहाँका सबै थोक छ, केही छैन (निवन्ध सङ्ग्रह-२०६६), सडक र बुढो सिमल (कविता सङ्ग्रह-२०७३), दहो लौरो (लघुकथा सङ्ग्रह-२०७३), पछ्यौरीको आइसक्रिम (लघुकथा सङ्ग्रह-२०७३), ऊनको डल्लो (कथा सङ्ग्रह-२०७३), मोलुङ लघुकथा सङ्ग्रह (सम्पादन-२०७३), पमाहा (कथा सङ्ग्रह-२०७५). सिमानामा आमा (लघुकथा सङ्ग्रह-२०७५) र राम शाहको चौतारो (लघुकथा सङ्ग्रह-२०७५) प्रकाशित छन् । उहाँ लघुकथा कुनोको एडमिनको रूपमा लघुकथाको उन्नयनका लागि सङ्कल्पित हुनुहुन्छ।

उहाँका इतिहास, संस्कृति र पर्यटनका पाठ्यपुस्तक तथा अनुसन्धानमूलक करिब एक दर्जन पुस्तकसमेत प्रकाशन भएका छन् ।

हालै प्रकाशित कृति, कथासङ्ग्रह, ‘पगाहा’ का कृतिकार खेमराज पोखरेलसँग गरिएको कुराकानीमा पगाहालाई केन्द्रमा राखेर कुराकानी गरिएको थियो । कथाकार खेमराज पोखरेल र विश्वदर्पणका ब्लगर विश्वराज अधिकारी बिच भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

शिक्षण सेवामा लामो समय बिताउनु भयो । विभिन्न कलेजहरूमा अध्यापन गर्नु भयो। प्रध्यापन–अनुभव कस्तो रह्यो?
हार्दिक आभार विश्वराज सर । स्कुलमा एक वर्ष २०३८ सालमा खोटाङको दुर्छिम माविमा हेडमास्टरको जागिर खाएको कुरालाई गणना नगर्ने हो भने मैले २०४१ माघ १५ देखि २०७४ असार मसान्तसम्म लगभग ३३ वर्ष त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा इतिहास प्राध्यापन सेवामा बिताएँ । म अहिले जुन आर्थिक, सामाजिक, प्राज्ञिक धरातलमा जे–जस्तो उभिएको छु, त्यो त्रिभुवन विश्वविद्यालय हो । प्राध्यापन–अनुभव हृदयस्पर्शी रह्यो । प्राध्यापन गरेको हुँ भन्दा गौरव लाग्छ । जीवन सार्थक भएको महसुस हुन्छ यो क्षणले ।

कथा लेख्ने रुचि कसरी जागृत भयो?
कथा लेख्ने रुचिभन्दा पनि साहित्यमा लाग्ने रुचिको कुरा हो । म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा प्राध्यापक पदको त्रिवि सेवा आयोग खुलेको थियो । म छनौटमा परिनँ । भित्रिया कुरा जे होला, तर मेरो दिमागले त्यो कुरालाई सेटिङ मिलाएर नदिइएको भन्ने लाग्यो । नलाग्नु पथ्र्यो, तर अझै लागिरहेको छ । यो एउटा सामान्य घटना मात्र हो । विशेष भने होइन, जसले मलाई पछिल्लो कालखण्डमा साहित्य लेखनमा अभिप्रेरित गर्यो ।

मेरो साहित्यमा रुचि बालखकालदेखि नै थियो । १० कक्षा पढ्दा एउटा उपन्यास नै लेखेको थिएँ । कविता त नोटकपीको पहिलो पेजमा लेख्ने गर्थेँ । तर ती अहिले मसँग छैनन् । २०३५ सालदेखिका लेखनी रहेछन् । त्यसैलाई मैले जस्ताको तस्तै रहर र लहडमा २०६६ सालमा कवितासङ्ग्रह र निबन्धसङ्ग्रह प्रकाशन गरिसकेको थिएँ । जागिरको अन्तिम पनि हुन आँटेको थियो । रिटायर जिन्दगी कसरी काट्ने भन्ने चिन्ता एकरात दिमागभरि आयो । सुत्न नै सकिनँ । भोलिपल्टदेखि सघन रूपमा लघुकथा र कथा पढ्न थालेँ । नारायण तिवारीले स्थापना गर्नु भएको ‘लघुकथा कुनो’मा सक्रिय हुन थालेँ – पहिले पाठक, अनि लेखक, अनि एडमिन भएर । त्यसपछि नारायण तिवारीले स्थापना गर्नु भएको ‘कथा’ समुहमा आबद्ध भएँ । पढेँ । लेखेँ । र एडमिन भएँ । र कथा लेख्न मजा लाग्न थाल्यो । आफूलाई लागेका, अनुभूत गरेका घटना वा चिन्तनलाई मजाले खेलाएर लेख्न सकिने हुनाले मलाई कथा लेखन मन परेको हो ।

नेपाली साहित्यमा तपाइँको मन परेका कथाकारहरू को को हुन्?
नेपाली साहित्यमा मलाई मनपरेका पुराना कथाकारहरू भन्न नै परेन । किनभने ती असाध्य मनपरेर पढिए । असाध्य दिल छोयो त्यसले । बिचको एउटा कालखण्ड गरिमा र मधुपर्कबाहेक अन्य सामग्री पढ्ने त्यति मेसो मिलेन । तथापि टल्सटोयको ४ भोलुम उपन्यास ‘युद्ध र शान्ति’ लगायत गोर्कीको ‘आमा’ उपन्यास पढेको हुँ । खास गरेर मधुपर्क र गरिमाको नियमित पाठक भएकाले करिव करिव सबै स्थापित कथाकारहरूका कथाहरू पढेकै हो । मनु ब्राजाकी त्यो मध्यपुस्ताका कथाकारमा निकै मनपर्ने कथाकार हुन् । इस्माली, नगेन्द्र शर्मा, किशोर पहाडी, नारायण तिवारी आदि मन पर्ने कथाकार हुन् । पुरानो तथा मध्यपुस्ताका कथाकारलाई छोड्ने हो भने अहिले वर्तमानमा आएर मलाई महेशविक्रम शाह, महेश थापा, सानु शर्मा, अनुपम रोशी, मन्दिरा मधुश्री, रामलाल जोशी आदिका कथाहरू असाध्य मन पर्छन।

कस्ता कथाहरू लेखिनु पर्छ ? कथाकार स्वयंलाई मन परेका वा समाजले माग गरेका ?
समाज भनेको अमूर्त चिज हो । समाजले जे पनि माग्दछ । समाजमा रहेका परम्परावादी, यथास्थितिवादी, प्रगतिशील र क्रान्तिकारी व्यक्तिको चेत फरक हुनाले समाजको माग फरक हुन्छ । त्यसकारण मेरो विचारमा कथाकारले आफूलाई अनुभूत भएका कुराहरू इमान्दारीपूर्वक लेख्ने हो जस्तो लाग्छ । कथाकार पनि समाजको एउटा सदस्य भएकाले उसले गरेको अनुभूतिले समाज परिवर्तनमा पक्का पनि योगदान दिन्छ भन्ने मेरो ठहर छ । किनकि जुन समस्या कथाकारले बोकेको वा बुझेको हुन्छ, त्यो सामाजिक समस्या नै हुन्छ । कथाकारले समाजको प्रगति नै चाहेको हुन्छ ।

तपाइँका कथाहरूमा यौनको निकै चर्चा हुन्छ । यसै गरी तपाइँका कथाहरूले महिला(स्वतन्त्रता र महिला(हकमा नै जोड दिन्छन । यी कुराहरू नियोजित हुन वा कथाले माग गरेर आएका हुन?
समाजमा टाउकाको कुरा याने बुद्धिको कुरा, हृदयको कुरा याने सम्वेदनाको कुरा, पेटको कुरा याने भोकको कुरा, तथा पेटमुनिको कुरा याने यौनको कुरा सबैको महत्तव हुन्छ । अर्थ हुन्छ । पहिलो ३ वटा कुरामा छलफल गर्न, लेख्न, बोल्न समाजमा कुनै समस्या छैन । तर बराबर महत्त्व भएको यौनको कुरा लेख्न, बोल्न तथा प्रकाशन गर्न समाज त्यति उदार भएको छैन । यो चुनौतीको विषय हो । त्यसकारण मैले आफ्ना कथाहरूमा यो चुनौती स्वीकार गरेर लेख्ने गर्छु । याने कि म ४ वटै धारमा कथा लेख्छु । यौनका कथा लेख्ने भएकाले मेरा समकालीन पुस्ताको खप्की मैले खाएकै छु ।

मेरा कथामा महिलाका स्वतन्त्रता तथा हकमा जोड दिएको हुन्छु । किनभने म त्यो चाहन्छु । समाजमा महिलाले अझै पूर्ण मुक्त आकाश भेटेका छैनन् । यो सवालमा समाजमा महिला शतप्रतिशत हो, र पुरुष शतप्रतिशत हो भन्ने मान्यता राख्छु म । अर्धाङ्ग अर्धाङगिनी होइन । महिला र पुरुषको बिचको सम्मोहन केही ओपेन सेक्रेट स्वार्थको कारण हो । यो स्वार्थको इक्युलिब्रियम विवाह वा यौनसम्पर्क हो । यसोभन्दा प्रचलित मान्यताभन्दा फरक र स्वच्छन्द विचार भनिन्छ । परम्परावादी तथा यथास्थितिवादी समाजलाई यो कुरा मन नपर्न सक्छ ।

वर्तमानमा नेपालमा लेखिएका कथाहरूको स्तर कस्तो लाग्छ ? माथि उक्लेको वा तल झरेको ?
कथाले समसामयिक समाजको प्रतिनिधित्व गरेको हुन्छ । पुरानो पुस्ताले लेखेका कथाहरू त्यो त्यही जमानाका सुन्दर र अग्रगामी सन्देशका कथा हुन् । त्यसको तुलना वर्तमानसँग हुन सक्दैन । समय जहिले पनि प्रगतिशील छ । त्यसकारण तुलना नगरी भन्ने हो भने सधैँ कथाको स्तर माथि उक्लेको पाउँछु म । कल्पना गर्नुस् त्योे जमानामा अत्यधिक चर्चित र सफल सरदार रुद्रराज पाण्डेयको ‘रूपमती’ टाइपको उपन्यास आज कसैले लेख्यो भने के होला ! जल्छ । संस्कृतज्ञले भानुभक्तले नेपाली लोकभाषामा लेख्दा साहित्यको स्तर खस्केको भनेकै थिए त ! त्यसकारण आजको नेपाली कथाको स्थिति समाजसापेक्ष भएर उक्लेको छ । बरु संसारको विषयवस्तुको तथा दृष्टिकोणको गतिमा पुगेको भने छैन ।

के पुरस्कृत कृति (केही निर्णायकहरूले यो कृति राम्रो छ भनेको आधारमा पुरस्कृत) मात्र लोकप्रिय हुन्छन् ?
हुँदैनन् । हुनु पनि हुँदैन । तर अहिले प्रचार–प्रसार, प्रोपोगण्डा र होहल्लाको युग हो । तकनिकीको वृद्धिले पनि यो कुरा प्रमाणित गरेकै छ । त्यसैले नाम चलेका पुरस्कार पाएका पुस्तकहरू बढी लोकप्रिय हुन्छन् । लोक प्रिय हुनु र गुदी हुनु दुई भिन्न कुरा हुन् । लोक प्रिय हुँदैमा गुदी नहुन पनि सक्छ । गुदी हुँदैमा लोकप्रिय नहुन पनि सक्छ । फेरि पुरस्कार पाउने प्रक्रिया त साँघुरो घेराबाट निसृत हुन्छ । त्यो साँघुरो घेरामा आम पुस्तकको पहुँच नै कहाँ हुन्छ र ! म नाम नभनी भनूँ कि मैले एउटा मदन पुरस्कार प्राप्त कृति पढ्न नै सकिनँ र विसाएँ ।

नेपालमा पठ्न संस्कृतिको विकास गर्न के गर्नु पर्ला ?
वर्तमान नेपाली साहित्यमा यति धेरै पुस्तक प्रकाशित भएका हुन्छन् कि ती चाहेर पनि पढ्न सकिन्न । पुस्तक प्राप्त गर्ने व्यापारी बाटो पनि निकै दुरुह छ । मान्छेले चाहेर पनि दुरदराजमा पुस्तक पाउन सक्दैन । यसै सन्दर्भमा सञ्जाल प्रविधिको बढोत्तरीले पुस्तक पढन संस्कृतिमा ह्रास आएको हो । त्यसकारण पठन संस्कृतिको विकास गर्न जमानासँग हिँड्ने साहित्य सिर्जना र जमानाको तकनिकी विकासको प्रयोगमा व्यापकता ल्याउनु पर्ला जस्तो लाग्छ ।

नेपालमा र मुख्यगरी साहित्यको क्षेत्रमा कम पढ्ने धेरै लेख्ने चलन छ । यो कुरा सत्य हो?
साहित्यको क्षेत्रमा कम पढ्ने र धेरै लेख्ने चलन छ । यो कुरा पक्का हो । शुद्ध पाठकको त अभाव हुँदै गएको छ । सामान्यतया लेखकले नै बार्टर ट्रेड गरेझैँ पढ्ने र लेख्ने गरेका छन् जस्तो लाग्छ । यदि प्रश्नको आशय दुवैमा सम्बन्धको कुरा गर्ने हो भने पढ्ने र लेख्ने दुवै कुरा भिन्न हुन् । तर धेरै साहित्य पढेर ज्ञान हासिल गरेको लेखकको लेखौटमा पक्कापक्की सघन स्तरीयता आउँछ । त्यसो त लेखन हृदय, दिमाग र लगनको त्रिकोणात्मक स्पन्दनबाट निस्कन्छ । पढनका लागि इच्छा मात्र भए पुग्छ ।

तपाइँ आफू स्वयं कत्तिको पुस्तकहरु पढ्न हुन्छ । तपाईँले पढेका केही कृतिहरूको नाम भन्न सक्नु हुन्छ ? सन् २०१९ मा कुन कुन किताब पढ्नु भयो?
म विभिन्न परिवेशीय कारणले कम पुस्तक पढ्ने गर्छु । जति पढ्छु गहन पढ्छु । त्यसको अन्तरकुन्तर पसेर पढ्छु । मन परे लेख्छु पनि । खास गरी म सामाजिक सञ्जाल लघुकथा कुनो, र कथा समुहमा पोष्ट भएका प्राय सबै पढ्छु । कसैले मलाई मेरो पुस्तक पढिदिनु भनेमा पढ्छु । साहित्यका सबै विधाका पुस्तक वा फुटकर रचना पढ्छु । तर मेरो साहित्य पठनको रुचि भनेको आख्यान हो । त्यसमा पनि लघुकथा र कथा हो।

सन २०१९/२०को अहिलेसम्ममा मैले लघुकथाका धेरै सङ्ग्रहहरू पढेँ । सबैभन्दा धेरै । लघुकथा समाजको ‘आजका लघुकथा’, विधान आचार्यको ‘कमाइ’, धनराज गिरीको ‘साथी’, ब्राजाकीका ‘छोटा कथा’, लक्ष्मण अर्यालको औँला, गायत्री चापागार्इँको साइत, गङ्गा कर्माचार्यको ‘मौन प्रश्न’, कथासङ्ग्रहका हकमा महेशविक्रम शाहको ‘भुइँ खाट’, मन्दिरा मधुश्रीको बुधनको घोडी, नन्दलाल आचार्यको उपन्यास ‘गरुराहा’, सुमी लोहनीको भावका तरङ्ग कथासङ्ग्रह, माया ठकुरीको ‘आमा जानुहोस्’ कथासङ्ग्रह आदि आदि । तारा केसी, सुनिल पुरी, रवीन्द्र भट्टराई तथा राधेश्याम भट्टराईका कवितासङ््र्हहरू, नारायण तिवारी र लक्ष्मी उप्रेतीका संस्मरणहरू लगायतका पुस्तकहरू पढेँ । यी प्रतिनिधि नाम मात्र हुन् ।

नेपाली साहित्यले विभिन्न भाषा ( अंग्रेजी, स्पेनिस, फ्रेन्च, अरबी, हिन्दी आदि) का बजारमा किन राम्रो स्थान पाउन सकेको छैन ?
मलाई लाग्छ कि यसका प्रमुख दुई कारण छन् । पहिलो नेपाली भाषाका अब्बल साहित्यिक कृतिहरूलाई ती भाषाहरूमा उल्था गर्ने प्रवृृति, प्रज्ञा र चिन्तनको अभाव छ । फाट्टफुट्ट भएका होलान् । दोस्रो कुरा अन्य भाषामा उल्था हुने साहित्यिक सामग्रीमा कालजेयी विषयवस्तु हुनुपर्दछ । नेपाली परिवेशको कालजेयी मात्र भएर पनि पुग्दैन, विश्व चिन्तन हुनुपर्दछ । विश्वको ध्यान तान्ने किसिमको हुनुपर्दछ । त्यो कुरा भने सर्वथा अभाव छ । मैले मेरै नेपालमा अत्यन्त राम्रो भनिएको लघुकथा अङ्ग्रेजीमा उल्था गराउँदा, त्यसले अङ्ग्रेजीका पाठकको ५ प्रतिशत पनि ध्यान तान्न सकेन । यो भनेको विषयवस्तुको घेरा हो ।

तपाइँ स्वयंले नेपाली साहित्यको विकासमा के योगदान पुर्याउनु भएको जस्तो लाग्छ?
मैले साहित्य सिर्जना गर्नुको भित्री आशय म आफ्नै सिर्जना हेरेर रमाउनु मात्र हो । जसरी आफ्ना सन्तान हेरेर आनन्द आउँछ, त्यसरी नै म आफ्ना कृतिहरू आफैँ पढेर रमाउँछु । मेरो आनन्दले निकालेको प्रभावले समाज वा नेपाली साहित्यमा योगदान पुर्याउला वा नपुर्याउँला भन्ने विषयमा मैले चाहे पनि नचाहे पनि द्रष्टादीर्घाले बोल्ने नै छन् ।

समकालीन नेपाली कथा साहित्यमा के कस्ता समस्याहरू देख्नु हुन्छ ?
नेपाली साहित्यमा यतिबेला राष्ट्रिय पत्रिकामा छाप्ने प्रयोजनका लागि कथा लेख्ने एकथरि कथाकारहरू हुनुहुन्छ । कुनै खास अभिष्ट राखेर लेखिने कथाको खास स्तरीयता म मापन गर्न सक्दिनँ । अर्काथरि मैजस्ता रहरे र लहडे कथाकार पनि छन् साहित्यवृत्तमा । यसभित्र जानेर वा नजानेर इगो अगाडि आएको देखिन्छ । राम्रो भनिदिए खुसी, ठिक्कै भनिदिए बेखुसी । यो प्रभाव सामाजिक सञ्जालको हो । अर्कोतिर साहित्यकारका समुह छन् । ती आफ्नो ग्रिपभन्दा बाहिर साहित्यिक सत्ता नजाओस् भन्ने चाहन्छन् । यो पनि त समस्या नै हो नि । कथानकको विविधीकरणको समस्या नेपाली कथाले पनि बेहोर्दै छ । एउटै ढर्राको कथानकलाई ओल्टाइ–पल्टाइ गरेर लेख्ने पनि छन् । कथानकको विविधीकरण हुन नसक्नु अर्को समस्या हो ।

नेपालमा ‘मेरो पढिदेऊ, तिम्रो पढ्दै गरौला’ भन्ने संस्कृति छ । यसमा सुधार कसरी गर्न सकिन्छ होला?
हो यो कुरा । धेरै कम स्थापित वा लपसिक्खाले अर्काका कृति पढ्छन् । तर आफूले लेखेको अरूले पढेनन् भनेर गुनासो पनि गर्दछन् । यो प्रवृतिगत समस्या हो । प्रवृतिमै सुधार नआइ कसरी सुधार गर्न सकिएला र खै !

१५ “म त वरिष्ठ हुँ, मैले आलाकांचाहरूका साहित्य ९सृजानर्० के पढ्ने”, यस्तो भन्नेहरूलाई तपाइँ के भन्न चाहनु हुन्छ? तपाइँले नव(युवा पिढीको कुनै कृति पढ्नु भएको छ?
कस्तो मनभित्रको प्रश्न सोध्नु भयो । म उनीहरूलाई कठैबरा भन्छु । एउटा उदाहरण दिऊँ है – मेरै अगुवाइमा २०७६ साल भदौ ३ गते विभिन्न लघुकथाकारका १८ वटा कृति एकैसाथ विमोचन भएका थिए । त्यसको भोलिपल्ट लघुकथा सम्बन्धी अर्कै कार्यक्रम थियो । कार्यक्रममा एकजना लघुकथाका स्थापित हस्तीले ‘लुघकथाको बाढी आयो, स्तर खस्क्यो’ भन्न भ्याए । जवकी उनले ती पुस्तकहरू पढ्न त परे जाओस्, छोएका पनि थिएनन् । म प्राय सबै लघुकथाकारका लघुकथा नछोडी पढ्छु । त्यसकारण मैले धेरै नवप्रतीभाका लघुकथासङ्ग्रह पढेको छु । भूमिका लेखेको छु । पढ्छु । प्रतिकृया पनि दिन्छु । सबै विधा त पढ्न कहाँ भ्याइन्छ र !

कथामा पात्रहरूले बोल्ने हो वा कथाकारले बोल्ने हो ? अर्थात समाजमा जे घटिरहेको हुन्छ त्यो कथाकारले आफू केवल एक माध्यम बनेर देखाउने हो वा उसले आफ्ना सोंचहरु कथामा लेख्ने हो?
कथामा पात्रका माध्यमबाट कथाकारको चेत बोल्ने हो । कथाकारले आफ्नो दृष्टिकोण पस्किने हो । समाजमा त जस्ता पनि घटना घट्छन् । कथाकारलाई जँचेका, छोएका र सम्वेदनशील बनाएका घटना र परिवेश मात्र कथा बन्ने हुन् ।

समाजमा र खास गरी प्रेम र यौनको क्षेत्रमा नलेखिएका कथाहरू थुप्रै छन किनभने मानिस एकैसाथ दुई संसारमा बाँच्ने गरेको हुन्छ । एउटा दृश्य अर्को अदृश्य संसारमा बाँचेको हुन्छ । एउटा संसारको कुरा भन्ने गरिन्छ अर्कोको भनिंदैन। त्यस्ता नलेखिएका कथाहरू बारे के भन्नु हुन्छ?
नेपाली समाजमा यो प्रश्न निकै जटिल हो । किनकि अक्सर मान्छे यौनको मामलामा कम्मल ओढेर घिउ खान्छन् । यसो हुनुको कारण हाम्रो नेपाली समाज यौनका मामलामा अनुदार भएकाले हो । तर हामी कथाकारले ती नलेखिएका विषयवस्तुमा पनि कथा लेख्ने आँट गर्नु पर्छ जस्तो लाग्छ मलाई । आवश्यक परे ‘बिहे पहिले मेरो अरूसँग यौन सम्बन्ध थियो’ भनेर आफ्ना परिवेशमा भन्दा के फरक पर्छ उदार जीवनमा ! नेपाली समाजमा अर्काकी श्रीमतीलाई विवाह गर्ने भर्जिन पुरुष र विवाहित पुरुषसँग विहे गर्ने भर्जिन कन्या पनि त छन् । के यो विहेपूर्वको यौन सम्बन्ध होइन ! यो कुरालाई हाम्रो समाजमा लुकाउनु पर्छ । त्यसकारणले यो कथालेखनको एउटा नवीन विषय हो । यसमा सकारात्मक सोच राखेर अग्रगामी कथाहरू लेख्नु पर्छ कथाकारले ।

अन्त्यमा विश्वराज सर, यो अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु ।


सान एण्टोनियो, अमेरिका
अन्तर्वाताकारः विश्वराज अधिकारी


Loading comments...