bibeksheel sajha ekata

विवेकशील-साझाबीचको एकीकरण अन्तिम चरणमा


काठमाण्डौ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ । दुवै दलले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर पार्टी एकीकरण हुन लागेको जनाएका छन् ।

दुवै दलले गठन गरेका संवाद समितिले एकीकरणका लागि तयार पारेको संयुक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र संघीय समितिमा छलफल र अनुमोदन गरेर आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकीकरण प्रक्रियाले पूर्णता पाउने बताइएको छ ।

विवेकशीलले निर्देश सिलवाल र साझा पार्टीले समीक्षा बास्कोटाको संयोजकत्वमा संवाद समिति गठन गरेर एकीकरण प्रक्रियाको थालनी गरेका थिए । गत असार ३१ गतेदेखि संवाद समितिहरुले एकीकरणका लागि वार्ता सुरु गरेका थिए ।

प्रेस विज्ञप्ति

विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा यहि २०७७ असोज २९ गते साझा पार्टिका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो ।

आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघिय / केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको सर्वविदित नै छ ।

विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता सुरु गरेका थिए।

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय / सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ ।

वार्ता प्रक्रियामा साथ र सहयोग दिनुहुने पार्टी नेत्रित्वका साथै वार्ताको माहौल बनाउन सकारात्मक भुमिका खेल्नुहुने दुवै पार्टीका सदस्य पङ्तीलाई हामी धन्यवाद ज्ञापन गर्दछौं । दुवै पार्टीका समर्थक, शुभचिन्तक तथा वैकल्पिक राजनीति प्रति भरोसा राख्ने तमाम नेपाली नागरिकप्रति आभार प्रकट गर्दछौं ।

निर्देश सिलवाल,
संवाद समिति संयोजक
विवेकशील नेपाली दल

समीक्षा बास्कोटा
संवाद समिति संयोजक
साझा पार्टी
मिति: ०४ कार्तिक २०७७


Loading comments...