बोनसाई मुनाहरु नबनुन्


✍️ बिभूता सिटौला

लकडाउनको समय माईतीमा थिएँ । आमा भाइसँग केहिसमय बिताउने समय पाइयो । र यतिमाझ भाइको शैक्षिक स्थितिको बारेमा थाहा पाएँ । भद्रगोल रहेछ । चिन्ता लाग्यो, यस्तो फुर्सदको समय उसलाई केहि सिक्नमा सहयोग गर्न सक्छु की भन्ने आशमा घर ल्याएँ ।

लेखकः बिभूता सिटौला

नजान्ने भनुँ भने चित्रकलामा मन लगाएको हेर्छु । नाँच हेरेर गम्छु । फेरी उसको पढाइतिरको ध्यान हेर्छु । पढाईमा उसको उति ध्यान जाँदैन र मेरो प्रयास लगातार यतिमै हप्तादिन चलिरह्यो । हप्तादिनसम्म चुनौतीपुर्ण सिलसिला । पढाईसँगको उसको छत्तिसको सम्बन्ध, कस्तो संयोग भने उसको उमेरमा म ठ्याक्कै यस्तै थिएँ । सम्भवतः धेरै अभिभावकहरुले हाम्रो जस्तै समस्यालाई आफ्नो जीवनमा सापेक्ष पाउन सक्छन् । सायद! तपाईले पनि ।

पढाउँदा मेरो सिर्फ एक चाहना थियो, उसले पुस्तकसँग प्रेम गरोस् । यद्यपी उसको व्यवहारमा मैले पुस्तकप्रतिको डर र संकोच मात्र पाइरहेको थिएँ । कहिँ केहि सोधिहाले, आएको अक्षर भन्न, लेख्ने एकदम सामान्य कुरा पनि बिगारीरहेथ्यो । पटकपटक । ऊ निहुरिएर धेरै बेर सम्म पढ्न कोसिस गरे जस्तो त गथ्र्यो, तर उसको व्यवहार वा शरिरले अर्कै भनिरहेको हुन्थ्यो । पढ्दैछु, सिक्दैछु भन्ने उत्साह हुनुपर्नेमा, अपराधबोध गरे जसरी डराएको देख्दा आखिर उसले सोच्न बाध्य बनाईछाड्यो । लाग्यो, यो पक्का मेरोजस्तो सामान्य घटना हैन । कुरा के हो ? कमजोरी कहाँ भइरहेको छ ? अभिभावकत्वको नाममा कहिँ मैले निक्कै कडा स्वभाव त देखाइन ? सोचि हेरेँ, हामी अभिभावकहरु आफ्नो दैनिकीले थाकेर कहिलेकाँही चिढिएको व्यवहार गर्छौँ । कतै त्यस्तै व्यवहार त गरिरहेको छुईन ? यस्तै सोचेर म नरम बनिदिएँ ।

तर त्यसरी त झन संकट पर्‍यो । अब मसँग भाइका समस्याहरु सुक्ष्म गरि केलाउन बाहेक अरु उपाय बाँकी रहेन । भाइ आमासँग बस्थ्यो । यस्तोमा मैले नै नजानेको हो कि झैँ लाग्नथाल्यो । त्यसै पनि आमाजत्तिकै हुन कहाँ सजिलो छ त । त्यसपश्चायत भने, दैनिक भाइसँग सहज वातावरण मिलाउने कोसिस गर्न थालेँ । दैनिकी सामान्य थियो हाम्रो, तर पढाईको सवालमा उसको स्वभाव अझै सामान्य थिएन । बनेन भनम् । र उसको अवस्थाले मलाई झनै असहज महसुस हुनथालिसकेको थियो ।

मेरो लगातारको उसलाई बुझ्न कोसिस गरिरहेको थिएँ । तरिका फेरिरहेको थिएँ । र केहि समय पश्चात भाइ खुल्न थाल्यो । उसका गल्तीहरुलाई पहिलेजति महत्व दिन छोडेर उसँग जोडिने प्रयासले भन्नुपर्ला । म उसको स्वभावसँग पनि सहज महशुष गर्दै जान थालेँ । यसै क्रममा एकदिन उसका मनका कुराहरु भन्ने वातावरणको सिर्जना भए जस्तो लाग्यो र पढाइको सिलसिलामै सोधेँ ।

‘‘भाइ तँ ज्ञानी पनि छस् आफ्नो काम आफै गर्छस् । भनेको पनि मान्छस् … अनि पढ्दा चाँहि यसरी किन डराएको ? पढ्दै छस्, नयाँ कुरा सिक्दै छस् । बिस्तारै पढ्दै गएपछि बुझीहाल्छस् नि … ।’’ तर उसले सदाझैँ टाउको मात्र हल्लाएर प्रतिक्रिया गरिदियो ।

‘‘किन डराएको भन त । म देखि डर लाग्छ, हो ? पढदा खेरी ?’’ उसको शैली फेरिएन । चुपचाप फेरी टाउकोले नै हैन भनेर उत्तर दियो । तर मैले आश मारिन । कोसिस गरिनैरहे, यद्यपी उसको मौनताले म निस्सासिन थालिसकेको थिएँ ।

अचानक ऊ रुन थाल्यो । अनि एकोहोरो बोल्न थाल्यो । उसका बोली सुरुमा अस्पष्ट सुनिए । सायद भक्कानोहरुको कारणले होला । मैले पनि रोकिन । ऊ लगातार रोइरह्यो । भाईले केहि हलुका महसुस गरे जस्तो लाग्यो । त्यसपश्चायत जे भन्यो म कल्पना पनि गर्न सक्थिन । मैले सुनिरहेँ ।

उसको पढाई कमजोर छ घरमा हामी सबैलाई थाहा थियो र उसको स्कुलमा पनि । तर यहि कुराको हिनता ‘भयानक बम’ बनेर उभित्र गुम्सिएको थाहा थिएन ।

‘‘दिदी बच्चालाई त उसको जन्मदिनमा सबैले माया गर्छन् नी । तर मेडमले.. मेडमले.. ढिलो लेखिस् भनेर मलाई… मलाई… कराउनु भयो र मेरो बर्थडेको दिन… झन् धेरै होमवर्क थपिदिनु भयो ।’’ हिक्कासँगै भाइको आशुँ बगेको म देखिरहेको थिएँ । ‘‘मलाई ! मलाई ! बर्थडेको दिन ।’’

‘‘हामी पढ्ने कोठाको सिसा साथीले फुटाएछ, प्रिन्सिपल सरले मैले होइन भन्दा पनि पत्याउनु भएन ।’’ उसको सानो हातले आशुँ पुछिरहेको थियो, ‘‘मलाई नै पिट्नु भयो । कति धेरै । सर मेडमहरुले जान्नेहरुलाई कहिँले कराउनु हुन्न म नजान्ने छु भनेर सँधै साथीहरुको अगाडी गाली गर्नुहुन्छ र मेरो कोही साथी छैन ।’’ आशुँ पुछिरहेको उसका साना हातहरुलाई साथ दिने मसँग हिम्मत भएन । न सहानुभुतिका कुनै शब्दहरु नै थिए त्यसपल । केबल ग्लानीसहित उसको कुरा सुनिरहन बाहेक । लाग्यो यो नै महत्वपुर्ण थियो ।

‘‘एक पटक साथीले मेरो ब्यागमा चुरोटको ठुटा हाल्देछ, पछि प्रिन्सिपल सरले मैले होइन भन्दा पनि पिट्नु भयो । क्लासको जान्ने साथीले हालेको थियो । मलाई थाहा थियो । तर मलाई सरले विश्वासै गर्नुभएन सबै साथीहरुले म सँधै चुरोट खान्छु भन्दै गिज्याए । म ट्वाइलेटमा गएर कति रोएँ ।’’ मान्छेका आफ्नै दुःखको पहाडहरु हुन्छन् । र उसको यो जीवनको पहाडले मेरो मन थिच्न थालिसकेको थियो । उसका कुराहरु जतिजति सुनिरहेको थिएँ म त्यति त्यति नै गल्न थालिसकेको थिएँ ।

सुनिसकेपछि धेरैँ सोचेँ । धेरै कुरा मनमै छुरा बनेर बिझ्यो । यस्तो स्थितिमा ऊ भविष्यमा कसरी अघि बढ्ला ? भाइको मामुले जस्तै कति अभिभावकहरु राम्रो शिक्षा पाउने भ्रममा छोराछोरीलाई बोर्डिङ्गका महंगो बिल तिरिरहेका होलान्, दिनहुँ संघर्ष गर्दै ? छोराछोरीको भविष्यलाई तथाकथित ढर्राको शैक्षिक संस्थाभित्र पहिरन, केहि फाट्टफुट्टको अंगे्रजी, अनि नक्कलमा किन जिम्मा दिएका होलान् ? किन बच्चाको मानसिक विकासको कुरालाई सामान्य मानेर वेवस्ता गरिरहेका होलान् ?

कमसेकम मेरो सानो प्रयासले ऊ आफ्नो दिदीसामु त खुलिदियो र आफ्नो कुरा राख्न सक्यो । तर आफ्ना सन्तानहरुका यस्ता समस्याहरु सोधिदिने बाबा/आमा, दिदी/दादा, सर/मिस, काका÷काकी, मामा/माइजु, आमा या समाजका समाजसेवी या राष्ट्र पिता माता कतिलाई यहाँ फुर्सद होला ? औपचारिक शिक्षा भन्दै गर्दा निजि विद्यालयहरुको दौडाहा प्रवृत्तिले बच्चा भित्रको भावनात्मक विकासको खाँबो नै कमजोर बनाएर कस्तो जनशक्ति निमार्ण गर्ने कल्पना गरिरहेछ यो शिक्षा प्रणाली ? के सहि र के गलत भन्ने प्रारम्भिक शिक्षाको जिम्मा घरबाहेक अरुले लिने कि नलिने ? र, यदि बच्चाको सम्पुर्ण हेरचार र शिक्षा अभिभावकको जिम्मेवारी हो भने बच्चाले दिनको आधा समय विताउने शैक्षिक संस्थाको जिम्मेवारी के ?

यहि घटनासँगै केहि समयअघि मेरा एक साथीसँग सामान किनमेलका क्रममा भएको कुराकानीको याद आयो । साथीका काकाको छोरा, उनका भाइ सानो उमेरमा नपढेका कारण उनीसँग पढ्न राखेको थियो रे भाइले नजान्दा साथीले रिसमा भाइलाई धेरै गाली गरेछन् । रिसैमा थप्पड पनि थपेछन् । पछि साथीलाई थाहा भएछ भाइ नजान्ने भएका कारण स्कुलमा धेरै पिटाइ खाएर घर आउँदो रहेछ । हिनताबोधमा आजसम्म पनि भाइ ठुलो हुदाँ साथीले अरुलाई भन्दा उसलाई धेरै उपहार लिएर भेट्न जान्छन अरे । कारण भाइसँगको सम्बन्ध उनलाई सुर्धानु छ । र उनी आशावादी पनि थिए हाम्रो सम्बन्ध सुध्रिनेछ तर भाइले कक्षा आठबाट उसँग बसेर पढ्न छोडेर भागेर गाँउ गइदियो । यो कुराले उसको पश्चाताप स्थायी बनाइदियो ।

ती साथीभित्र कताकता म आफैँलाई पनि देख्छु । हो, अरुले जस्तै शिक्षण संस्था माथि पुर्ण विश्वास गरेर भाइको कुरामा खासै ध्यान मैले पनि दिइन, कुनैदिन । सधै मेरो तरिकाले सोँचिरहे । आफ्नै अनुमानको भरमा उसलाई बुझ्न खोजिरहेँ । यतिमा मैले सोच्न भुलँे कि सबै शैक्षिक संस्थाहरु शिक्षा प्रदान गर्न खोलिएका हैनन् । बरु ती त शिक्षाको नाममा ‘नाफा आर्जन गर्न खोलिएका व्यवसाय’हरु हुन । जहाँ अभिभावकहरुले सुम्पेका कलिला मुना निमोठ्ने पेशासँगै आफ्नो व्यवसाय अझ बिस्तार गर्ने योजना बनाइरहेका हुन्छन् ।

यस्ता घटनाले शैक्षिक संस्थाले चलाएका प्रणाली मात्र ‘शिक्षाका आधार हुन्’ भन्ने कुराप्रति शंका बलियो बनाएको छ । साथै अभिभावको जिम्मेवारीप्रति पनि प्रश्न खडा गरिदिएको छ । कतै हामी अभिभावकहरुले हाम्रा बच्चाहरु सुसंस्कृत, सभ्य बनाउने नाम अनि होडमा विरुवा सरहझैँ बच्चाहरुलाई “बोनसाइ” गरिदिने हातहरुमा त सुम्पिएका छैनौँ ? जहाँ बच्चाको आकार र क्षेत्रफल स्वतन्त्रता साँघुरो बनिदियोस् ।

कोरोना महामारीका कारण यसबेला बच्चाहरुसँग अभिभावकको सम्बन्ध नजिक भएको हुनपर्छ । व्यस्त समयबाट फुर्सद मिलेको हुनपर्छ । यस्तोबेला के भएन भनेर समय बिताउने भन्दा के गर्न सक्छौँ भनेर घरका बच्चाहरुका शैक्षिक सवालमा उत्तरदायी हुने की ?

हालै शैक्षिक संस्थाहरु सञ्चालन नभइरहदाँ नेपाल सरकारले शिक्षालाई स्वतःस्र्फुत बनाउन पहल गरिरहेको छ । शिक्षा मन्त्रीद्धारा पनि विद्यालय तथा शिक्षालय अवरुद्द भए पनि विधार्थीको सिकाइ अवरुद्ध कहिल्यै हुदैन भन्ने बहसलाई अगाडि बढाएर घरको शिक्षालाई जोड दिइरहेछन । वास्तवमा हामी भन्ने त गर्छौ बच्चाको पहिलो पाठशाला उसको घर हो के यो साच्चै हुन पाइरहेको छ त अहिलेको समयमा ? परिवारभित्र उसले सामाजिक मूल्य मान्यता, तर्क, अधिकार, आदि कुरा जान्ने अवसर पाएको हुन्छ त ? आफ्नो कुरा खुलेर राख्न सक्ने आत्मविश्वासको वातावरण के हामीले प्रदान गर्न सकेका छौ ?

जहाँसम्म मलाई लाग्छ, जबसम्म अभिभावहरुकले आफ्ना सन्ततिलाई भविष्यका भर मानेर पालनपोषण गरिरहन्छन् । अप्रत्यक्ष जिम्मेवारीहरुका बोझले उनीहरुका उडान भर्ने काँधहरु सदैव गल्नेछन नै । बुझ्नपर्छ हामीले, सन्तान जिम्मेवारी बोक्ने काँधहरु मात्र हैनन् । उनीहरुभित्रको आत्मविश्वास र व्यक्तित्व विकासप्रति हाम्रो पनि साझेदारी भुमिका छ । कठोर गरि सोच्दा हामीले बुझ्न पर्छ कि हाम्रो आवश्यकतामा उसको जन्म भएको हो । आजको समय सम्म आइपुग्दा बच्चाहरुको स्वभाव र चरित्रको सुरुवादि क्षणहरुमा अभिभावकहरुको साझेदारिले सहज र शान्त परिवारको कल्पना गर्न सकिन्छ ।

समाजमा बच्चाहरुको विकासको कुरालाई एक प्रचलित भनाई छ ‘बच्चाहरु भनेको काँचो माटो हुन गिलै हुँदा जस्तो आकार दिइन्छ त्यस्तै आकारका बन्छन् ।’ समय सँगै यो मानसिकता बद्लिन आवश्यक भए जस्तो देखिन्छ । कि र भन्न सकिन्छ ‘बच्चाहरु भनेका काँचा माटा हैनन् बरु विउहरु हुन् । जेका हुन् त्यहि फल्छन् । फुल्छन् । र हामी कृषक हौँ । माली हौँ ।’ र हरके विउबाट अभिभावक, समाज, देशले गर्व गरुन् आफ्ना विरुवाहरुको विकाससँगै ।

©BibhutaSitaula2077


Loading comments...