प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखियो, यसको अनुसन्धान हुनुपर्छ


काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले निकालको प्रेस नोट अनुसार प्रम र भारतिय गुप्तचर प्रमुख बिच ‘शिष्टाचार भेट’ भएको हो । प्रधानमन्त्री र विदेशी गुप्तचरबिचको भेटलाई ‘शिष्टाचार भेट’ भन्नुनै अकुटनीतिक र हास्यासपद छ। साथै लडाईको (War time) समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसंगको प्रधानमन्त्रीको वा राजनीतिक नेतृत्वको भेटलाई जायज वा सामान्य मान्न सकिन्न । परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो । प्रधानमन्त्रीको यस्तो गैर-राजनीतिक र विशुद्ध गुप्तचरसंग भएको ‘शिष्टाचर भेट’ माथि अनुसन्धान हुनु पर्छ । यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ।

यस प्रकरण पश्चात पनि प्रधानमन्त्रीको बचाउमा केही बुद्धिजीविहरुले (public intellectuals) सामाजिक सञ्जालमा दुई देश विचको सम्बन्धमा सुधारका लागि यो भेटघाट आवश्यक थियो भनेर बचाउ गरेको देख्दा उदेक लागेको छ । कुटनीतक हिसाबले नेपाल भारत सम्बन्ध यतिखेर जटिल अवस्थामा छ । यस विच नेपाल सरकारले आफ्नो कुटनैतिक कौशल भारतिय राजनीतिक नेतृत्वलाई छलफलमा ल्याउनेमा प्रयोग गर्नु पर्ने थियो । नेपाल-भारत विच छलफल र वार्ता हुनुपर्छ भन्नेमा अलमल नै छैन । छलफल उच्च स्तरिय राजनीतिक तहमा हुनुपर्छ भन्नेमा हामी स्पष्ट हुनुपर्ने हो । भारतिय गुप्तरचरसंगको कुनै पनि प्रकारको छलफलले नेपाल-भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामर्थ्य राख्दैन । हाम्रो कुटनीतिमा हेक्का राख्नु पर्ने छलफल गर्नुपर्छ भन्ने मात्र होईन, को संग कसरी छलफल गर्ने भन्ने पनि हो।

अत: नेपाल भारत सम्बन्धको पछिल्लो समस्या र जटिलतातको समाधान उच्च स्तरको राजनीतिक तहबाट मात्र सम्भव छ । भारतको राजनीतिक तहलाई वार्ता र छलफलमा ल्याउने जिम्मेवारी प्रधानमन्त्री र सरकारको हो । सबै राजनीतिक तथा कुटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसंगको भेटघाटबाट नेपाल-भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मुर्खता हो । राजनीतिक तहमा दुईपक्षिय सम्बन्धलाई सामान्य बनाउन छलफल गरेको भए निसन्देह हामीले स्वागत र समर्थन गर्ने थियौं । तर कहिले वेप्रसङ्ग, केवल आन्तरिक खपतका लागि, राम जन्मभूमीको कुरा निकालेर दुईपक्षिय सम्बन्धलाई झन् जटिल बनाउन तिर लाग्ने, अनि कहिले लत्रक्क परेर गुप्तचरसंग भेट्ने प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण उत्ताउलो व्यवहारमा हाम्रो प्रश्न हो । प्रधानमन्त्रीको यस्तो अप्रत्यासित व्यवहार आन्तरिक राजनीतिमा हामीले भोगेकै हौं । तर अन्तराष्ट्रिय सम्बन्धमा समेत यस्तो व्यवहार हुँदा हामी गम्भिर हुनै पर्छ।

यो प्रकरण संगै प्रधानमन्त्री खड्ग प्रसाद ओली नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई सहि दिशानिर्देश तथा राष्ट्रिय हितमा प्रयोग गर्न पूर्ण रुपेण असक्षम भएको प्रष्ट पारेको छ । साथै मुख्य सचिव परराष्ट्र सेवाको, सचिवालयमा अन्तराष्ट्रिय सम्बन्धका विज्ञ हुँदा हुँदै प्रधानमन्त्री निर्लज्ज भएर विदेशी गुप्तचरसंग भेट सम्भव भएबाट राज्यको कुटनीतिक कौशल मात्र नभई प्रधानमन्त्री वरपरका विज्ञहरुको हैसियत पनि सबै सामु प्रष्ट पारेको छ । र भेट पश्चातको बचाउको प्रायसले सम्पूर्ण राजनीतक व्यवस्थाकै उपहास गरेको छ । यस प्रकरणबाट देश भित्रको समस्याबाट हात उठाएको ओली सरकार कुटनीतिमा पनि पूर्णत असक्षम रहेको पुष्टि भएको छ।

गगन थापाको फेसवुकबाट

 


Loading comments...