
क्यान्सरपछि कोरोनालाई जितेकी शान्ता चौधरी भन्छिन् – बाँच्छु जस्तै लागेको थिएन
८ कार्तिक २०७७, शनिबार ११:११
काठमाडौं । नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमण निको भएको छ । उनले आफु कोरोना संक्रमण मुक्त भए पछि पुनर्जीवन पाएको बताएकी छन् ।
विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् ।
शुक्रबार उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आए पछि सामाजिक सन्जालमा लामो स्टाटस राख्दै उनले पुनर्जीवन पाएको बताएकी हुन् ।
उनले आफ्नो सामाजिक संजालमा यस्तो लेखेकी छन्
जोगिने कति नै कोशिस गर्दा पनि आखिर कोरोनाले आक्रमण गरिछाड्यो। पुरै १९ दिनको अस्पत्ताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न सकिंदैन। पहिले देखिका गम्भीर रोगहरुको कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ। पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकोले पनि बाँच्छु जस्तै लागेको थिएन। यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना निगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन पाएँ।
वीर अस्पत्तालका अति सघन उपचार कक्षको बेडमा बडो मुश्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसूस गर्थे। बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो। तर म हजारौ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसूस गर्थें। यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ।
अझै म डिस्चार्ज भएकी छैन। यसैबिचमा बाफ लिंदा तातो पानीले खुट्टा पोलेर अर्को असह्य पीडा थपिएको छ। त्यसैले कोरोनामुक्त भएपनि आफ्नै नित्य दैनिकीमा फर्कन मलाई समय लाग्नेछ।
मैले लाखलाख धन्यवाद दिनुपर्ने पार्टीका श्रध्देय कामरेडहरू हुनुहुन्छ। मेरा समर्थक, शुभचिन्तक र नातागोताहरू हुनुहुन्छ। उहाँहरूलाई अहिले एकमुष्ट धन्यवाद दिन्छु। वीर अस्पत्तालका सबै डाक्टरहरू, मेरो सेवामा अहोरात्र खटिने नर्सहरू र समस्त अस्पत्ताल परिवार प्रति म कृतज्ञ छु। उहाँहरुले मृत्यूको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो। बेलाबेलामा हौसला दिइरहनु भयो। विशेष विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें। उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला।
अन्तमाः सबै सबैमा धेरै आधार व्यक्त गर्न चाहन्छु। अस्पत्तालबाट विदा हुँदाको दिन फेरि लेखुँला। विजया दशमीको सबैमा शुभकामना दिन चाहन्छु। कसैका परिवार पनि यो समयमा अस्पत्ताल बस्नु नपरोस्। अस्पत्ताल खोज्दै हिड्नु नपरोस्। हामी सबैमा यो कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्न शक्ति मिलोस्। धन्यवाद।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा