अमेरिकी बजारमा मूल्य कम गर्न प्रतिस्पर्धा


सामान्य व्यापारिक प्रचलन अनुसार चर्को मूल्य कायम गरेर छोटो समयमा नै व्यापारीहरूले बढी मुनाफा हात पार्ने उद्देश्य राखेका हुन्छन्। यसका लागि वस्तु वा सेवाको मूल्य चर्को राख्ने प्रयास गर्छन्। बजारमा आपूर्तिकर्ताको सङ्ख्या धेरै नभएर बिक्री गर्न तीव्र प्रतिस्पर्धा नहुँदा उनीहरूले निर्धारण गरेको चर्को मूल्यको प्रतिस्पर्धा गर्दै अन्य आपूर्तिकर्ताहरू कम मूल्य निर्धारण गरेर बजारमा आउन सक्तैनन, बरु त्यसरी कायम हुन गएको चर्को मूल्यको अनुसरण बाँकी अन्य आपूर्तिकर्ताले पनि गर्छन् र वस्तु एवं सेवाको मूल्य चर्को पार्छन्। बजारमा आपूर्तिकर्ताको सङ्ख्या कम भएको र उनीहरूलाई चुनौती दिन सक्ने क्षमता क्रेता वा उपभोक्ताहरूमा नभएकोले क्रेताहरू चर्को मूल्यमा वस्तु एवं सेवा खरीद गर्न बाध्य हुन्छन्। यस किसिमको अवस्था दक्षिण एशियाका बजारहरूमा प्रचुर मात्रामा देख्न पाइन्छ। मूल्य निर्धारण सम्बन्धमा व्यापारीहरूले गर्ने यस्तो अभ्यास नेपालमा त झनै बढी देख्न पाइन्छ। मूल्य निर्धारणसम्बन्धी यस्तो रणनीति दक्षिण एशियामा निकै प्रचलित छ। र उपभोक्ताहरू ठगिएका छन्। यो परम्परागतरूपमा आएको व्यापारिक समस्या पनि हो।

आपूर्तिकर्ताहरूको सङ्ख्या धेरै नभएर र उनीहरूले कायम गर्ने जस्तोसुकै चर्को मूल्य पनि क्रेता एवं उपभोक्ताहरूद्वारा स्वीकार्य हुने भएकोले नेपालमा उत्पादक एवं आपूर्तिकर्ता (विक्रेता)ले आफ्नो वस्तु एवं सेवाको मूल्य कम पार्ने वा आफ्नो वस्तु वा सेवाको मूल्य कम आय भएका उपभोक्ताहरूको क्रयशक्ति अनुसार बनाउने प्रयास कहिले गर्दैनन्। मूल्य निर्धारणसम्बन्धी यो परम्परागत धारणा हो र मूल्य निर्धारण गर्ने प्राचीन तरीका पनि। यस धारणा अन्तर्गत छोटो समयमा धेरै मुनाफा गरेर बढी आर्जन गर्ने उद्देश्य निहित हुन्छ भने उपभोक्ताको क्रयशक्तिको पूर्ण बेवास्ता गरिएको हुन्छ। उपभोक्ताहरूलाई ‘चुस्ने’ उद्देश्य राखिएको हुन्छ। यसले गर्दा दक्षिण एशिया, खासगरी नेपालमा, उत्पादक एवं आपूर्तिकर्ताहरूले आफ्ना वस्तु एवं सेवाको मूल्य कसरी कम पार्ने सम्बन्धमा न कुनै उपायको खोजी गर्छन्, न विशेष किसिमको अध्ययन एवं अनुसन्धान नै गर्छन्। यसले गर्दा पनि नेपालमा उपभोक्ताहरू जहिले पनि मूल्यवृद्धिको भारले थिचिएका हुन्छन्। त्यस कारण मूल्य निर्धारण सम्बन्धी यो धारणा उपभोक्ताहरूको हित प्रतिकूल छ। अज्ञानताले गर्दा पनि आपूर्तिकर्ता (उत्पादक एवं विक्रेता)हरूले आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य कम पार्ने प्रयास गर्दैनन्।

लेखकः विश्वराज अधिकारी

आफ्नो वस्तु एवं सेवाको मूल्य कसरी कम पारेर उपभोक्ताहरूलाई सस्तोमा दिन सकिन्छ, सो सम्बन्धमा गहन अध्ययन एवं अनुसन्धान गर्दैनन्। कम मूल्य निर्धारण गरेर, धेरै मुनाफ नलिएर, ठूलो परिमाणमा लामो समयसम्म बिक्री गर्दा उद्देश्यअनुरूप मुनाफा प्राप्त गर्न सकिन्छ भन्ने धारणाको अभाव ठूलो मात्रामा नेपालका व्यापारीहरूमा रहेको पाइन्छ। हो, यो नै मूल्य निर्धारणसम्बन्धी ठूलो अज्ञानता हो। नेपालका व्यापारीहरू ‘पटके’ व्यापारमा विश्वास गर्छन् र चर्को मूल्य निर्धारण गरेर छोटो समयमा ठूलो मुनाफा हात पार्ने दाउमा रहन्छन्। बजारमा दीर्घकालसम्म रहेर, कम मूल्य निर्धारण गरेर, कम तर निरन्तर मुनाफा गरेर व्यापारमा कायम रहने, राम्रो मुनाफा हात पार्ने धारणाको नेपाली व्यापारीहरूमा ठूलो अभाव रहेकोले उनीहरू कसरी मूल्य कम पार्न सकिन्छ भन्ने कुरामा गम्भीर भएर सोच्दैनन्। मूल्य कम पार्ने ठोस प्रयास गर्दैनन्। मूल्य कम गर्न सकिने अनेक उपायको खोजी गर्दैनन्, अध्ययन–अनुसन्धान त परको कुरा भयो। यसले गर्दा नेपाली बजार केवल बलियो आर्थिक स्थिति भएकाहरूको अनुकूल छ र कमजोर आर्थिक स्थिति भएकाहरूको प्रतिकूल छ। र यसै कारणले नेपालको गरीबी सोचेजति मात्रामा घटाउन सकिएको छैन। नेपाली बजार उपभोक्ताहरूको लागि रहर कम र बाध्यता ज्यादै हुन पुगेको छ।

मूल्य निर्धारण सम्बन्धमा अमेरिकी बजारहरूमा भने दक्षिण एशियाका बजारहरूभन्दा पृथक स्थिति देखिन्छ। अमेरिकामा आपूर्तिकर्ताहरूले मूल्य निर्धारण सम्बन्धमा, केही अपवादलाई छाडेर, दक्षिण एशियाभन्दा पृथक तर उपभोक्ता–उपयोगी धारणा राखेका हुन्छन्। अमेरिकामा आपूर्तिकर्ताहरूले आफ्ना वस्तु एवं सेवाको मूल्य निर्धारण गर्दा उपयोक्ताको क्रयशक्तिको विचार गर्छन् र उद्देश्य यो राख्छन् कि जति सक्यो, जति मूल्य कम गर्यो, सोही मात्रामा उपभोक्ताहरूले वस्तु वा सेवा बढी खरीद गर्छन्, बढी बिक्री गर्न सकिन्छ र यसरी वस्तु वा सेवा ठूलो परिमाणमा बिक्री गरेर राम्रो मुनाफा हात पार्न सकिन्छ। आफ्नो उत्पादनको मूल्य कम पार्न उत्पादक एवं आपूर्तिकर्ताहरूले गहन अध्ययन एवं अनुसन्धान गर्छन्। र यो कार्य पटके किसिमले नगरेर निरन्तररूपमा गर्छन्। यसरी मूल्य कम पार्न गरिने अध्ययन एवं अनुसन्धान उत्पादक एवं विक्रेताहरूको लागि नियमित कार्य हुन पुग्छ। ‘उपभोक्ताहरूको क्रयशक्ति बलियो भए भने मात्र हामी उनीहरूलाई निरन्तर सामान बिक्री गर्न सक्छौं, बजारमा हाम्रो अस्तित्व रहन्छ’ भन्ने धारणामा विश्वास गरेर अमेरिकी आपूर्तिकर्ताहरूले कार्य गरिरहेका हुन्छन्। उपभोक्ताहरूको क्रयशक्तिको निगरानी गरिरहेका हुन्छन्।

अमेरिकी बजारहरूमा, भन्ने हो भने मूल्य कम पार्न आपूर्तिकर्ताहरूबीच ठूलो प्रतिस्पर्धा नै चलिरहन्छ। मूल्य कम पारेर धेरैभन्दा धेरै बिक्री गर्न सकिन्छ, थोरै मुनाफा तर ठूलो परिमाणमा बिक्री गरेर ठूलो मुनाफा हात पार्न सकिन्छ, बजारमा दीर्घकालसम्म रहन सकिन्छ भन्ने उद्देश्य अमेरिकी उत्पादक एवं विक्रेताहरूको रहेको पाइन्छ। आपूर्तिकर्ताहरूले पटके व्यापारमा विश्वास नगरेर दीर्घकालीन व्यापार गर्ने लक्ष्य राखेका हुन्छन्। ‘डलर ट्री’, ‘फेमिली डलर’, ‘अल्डी’, ‘वालमार्ट’ जस्ता अमेरिकी खुद्रा भण्डारहरूले प्रतिस्पर्धीहरूभन्दा आफ्नो वस्तुको मूल्य कम पारेर आफ्नो कुल बिक्री बढाउन उद्देश्य राखेका हुन्छन्। अमेरिकी बजारमा त्यस्ता अनेक अन्य खुद्रा भण्डार देख्न सकिन्छ, जसले सस्तोभन्दा सस्तो मूल्य कायम गरेर बढी वस्तु बिक्री गर्ने प्रयास गरेका हुन्छन्। ‘म्याक डोनाल्ड’ त्यस्तो अमेरिकी फास्ट फूड रेस्टुराँ हो, जसले सस्तो खानेकुरा बेच्न अमेरिका मात्र होइन, संसारभरि नै ख्याति आर्जन गरेको छ। अमेरिकी बजारका म्याक डोनाल्ड रेस्टुराँबाट अहिले आजको दिनमा पनि केवल एक डलरमा सेन्डविच किन्न सकिन्छ। उत्पादन लागत नियन्त्रणको दुनियाँमा म्याक डोनाल्ड एउटा आधुनिक चमत्कार नै हो।

सर्वाधिक ठूलो अमेरिकी खुद्रा भण्डार ‘वालमार्ट’को एभ्री डे लो प्राइस (Everyday Low Price) मूल्य निर्धारण रणनीति रहेको छ। यो रणनीति प्रयोग गरेर वालमार्टले लाखौं अमेरिकी उपभोक्तालाई ज्यादै सस्तोमा अनेक सामग्री उपलब्ध गराउँदै आएको छ भने वस्तुको बिक्री मूल्य सस्तो पार्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सफल भएको छ। बिक्री गर्ने वस्तुको मूल्य कसरी कम पार्न सकिन्छ भन्ने सन्दर्भमा ‘वालमार्ट’ आधुनिक व्यापारिक युगको ठूलो चमत्कार नै हो, सर्वाधिक ग्राह्य उदाहरण पनि हो। बिक्री गर्ने वस्तुको मूल्य कसरी कम पार्न सकिन्छ भन्ने सम्बन्धमा वालमार्टले निरन्तर अनेक अध्ययन एवं अनुसन्धान गर्दछ।

कम मूल्यमा अनेक घरायसी तर अत्यावश्यक वस्तु कमजोर क्रयशक्ति भएका अमेरिकी उपभोक्तालाई एकै थलोमा निरन्तर उपलब्ध गराउने वालमार्टले लक्ष्य राखेको छ। वालमार्टको मूल्य निर्धारण रणनीति (मूल्य कम पार्ने)बाट लाखौं अमेरिकीलाई प्रत्यक्ष आर्थिक फाइदा पुगेको छ।


Loading comments...