Lifestyle Portal
  •   ३१ बैशाख २०७८, शुक्रबार

के कोरोना भाइरसले आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउला?

९ कार्तिक २०७७, आईतवार १६:३७

चीनको हुबेई प्रान्तको वुहान शहरबाट सन् २०१९ को डिसेम्बर महीनाको अन्त्यबाट संसारभरि फैलिएको कोरोना भाइरसले अहिलेसम्म ४२ हजार ३५४ व्यक्तिको ज्यान लिइसकेको छ। ८ लाख ६१ हजार व्यक्तिमा यो रोगको लक्षण देखिएको छ। अन्टार्कटिकाबाहेक यो रोग अहिले सबै महादेशमा फैलिएको छ। यो रोगको चपेटमा संसारका लगभग सबै देश परेका छन्। कस्तो अचम्म! अन्तरिक्षको यात्रा गर्दै, चन्द्रमामा पुगेर मङ्गल (ग्रह) मा पुग्न खोज्ने मानवजाति अहिले स्थिर हुन पुगेको छ। निरीह हुन पुगेको छ। गतिहीन हुन पुगेको छ। संसारलाई एक मिनेटमा ध्वस्त पार्न सक्छु भन्नेहरू अहिले एक्लो, लुकेर, डराएर, थुनिएर कोठामा बसेका छन्। कोरोनाले अहिले मानवजीवनमा अकल्पनीय परिवर्तन ल्याइदिएको छ।

अहिले, जो जहाँ छ, ऊ त्यहीं थुनिएको छ। कोरोना भाइरसले मानवजीवनलाई गतिविधिविहीन तुल्याइदिएको छ। प्रत्येक पल, के दिन के रात क्रियाशील रहने, खोलाझै बग्ने मानवजीवन अहिले स्थिर हुन पुगेको छ। यतिमात्र होइन, कोरोनाको कारण अचम्मका स्थितिहरू पनि देखिएका छन्। कतिपय देशका अनुभवहीन सरकारले आफ्नै देशका नागरिकलाई आफ्नो देशभित्र पस्न दिएका छैनन् भने कतिपयले ‘लकडाउन’को विरोध गर्नेलाई अपराधीझै कुट्न लगाएका छन्। अन्य प्रभावकारी विकल्पको खोजी नगरेर ‘लकडाउन’लाई मात्र कोरोनाबाट छुटकारा पाउने रामबाण मानेर कतिपय सरकारले कोरोनाभन्दा पनि, काम गर्न नपाएर भोकभोकै हजारौं मान्छेहरू मर्ने स्थिति सृजना गरिदिएका छन्। रोजगारका लागि गाउँ छाडेर ठूला–ठूला शहर पसेका कामदारहरू अहिले शहर त्यागेर आफ्नै गाउँ जान खोजिरहेका छन्। जीवनरक्षाका लागि, शहरबाट गाउँतिर जान खोज्नेहरूको लस्कर भारतमा अहिले सन् १९४७ को भारत–पाक विभाजनको बेलाजझैं देखिएको छ। त्यसताका कोही भारत पस्न खोज्ने, कोही पाकिस्तान पस्न खोज्नेहरू लस्करै हिंडेझै अहिले शहरबाट गाउँ जान खोज्ने कामदारहरू लस्करमा हिंडेका छन्। कस्तो अचम्मको स्थिति! कस्तो भयावहको स्थिति! कति ठूलो परिवर्तन! कति डरलाग्दो मानवीय सङ्कट!

कोरोनाले हाम्रो जीवनपद्धतिमा ज्यादै ठूलो परिवर्तन ल्याउने सङ्केत देखिन थालेको छ। मुख्यगरी, हाम्रो आर्थिक जीवनमा कोरोनाको कारण नयाँनयाँ परिवर्तन देखा पर्नेछन्। कोरोनाका कारण हुने परिवर्तन यस किसिमका हुन सक्छन्:
(क) जीवनपद्धतिमा परिवर्तन
(ख) परस्पर निर्भरतामा कमी
(ग) भौतिक दूरी राखेर कार्य गर्ने नयाँ पद्धतिको विकास
(घ) ठूला शहरहरूको खण्डीकरण एवं साना शहरहरूको विकास
(ङ) निको पार्न नसकिने रोगहरू आउनेक्रम जारी

(क) जीवनपद्धति
कोरोना–सङ्कट लम्बियो भने वा कोरोनाजस्तो निको नहुने रोग आउने र फैलिने कार्य जारी रह्यो भने हाम्रो वर्तमान जीवनपद्धतिमा ठूलो परिवर्तन आउनेछ। यस किसिमका रोगहरूले हामीलाई एक्लो पारेर, परिवार र समाजसँग छुट्टिएर बस्न बाध्य पार्नेछन् र मानव सभ्यता त्यो परिवर्तन मान्न तयार पनि हुनेछ। सयौं व्यक्ति मिलेर गरिने काममा कमी आउने छ। मानव सभ्यताले परस्पर निर्भरता कम गर्ने प्रयास गर्नेछ। मानिसले उद्योग र सेवा व्यवसायभन्दा कृषिलाई महत्व दिनेछ। कुनै समयमा कृषि नै मानिसको लागि जीवनको मुख्य आधार भएझैं यो परिवर्तित समयमा कृषि पुनः मानवजीवनका लागि मुख्य आधार हुन सक्नेछ। हुनत अहिले पनि औद्योगिक विसर्जनले गर्दा यो पृथ्वी अति प्रदूषित हुन पुगेको छ। कार्बन इमिसन र प्रयोग गरेर फालिएका प्लास्टिकले यो पृथ्वीलाई आक्रान्त पारेर पर्यावरण दूषित पारेको छ।

(ख) परस्पर निर्भरतामा कमी
अहिले बहुसङ्ख्यक मानिस परस्पर निर्भरतामा बाँचिरहेका छन्। कुनै पनि व्यक्ति एक्लै बाँच्न सक्ने अवस्था छैन। जीवन गुजाराका लागि हामीले अनेकौं व्यक्ति वा सेवाप्रदायकसँग सम्बन्ध गाँस्नुपर्छ। हामी बहुसङ्ख्यक व्यक्ति श्रममात्र उत्पादन गर्छौं र त्यो श्रम बिक्री गरेर जीवन निर्वाहका लागि आवश्यक पर्ने हजारौं वस्तु एवं सेवाहरू खरीद गर्छौं। कृषि युगमा यस्तो थिएन। परिवारले खाना पकाउन आवश्यक पर्ने इन्धन (गोहरा, गुइँठा, चिपरी आदि) समेत आफैले उत्पादन गर्दथ्यो। तेलहन, दलहन, तरकारी, अन्नसमेत उत्पादन गथ्र्यो। यसरी अनेक कुरा उत्पादन गरेर परिवारले परस्पर निर्भरता कम पारेको थियो। परस्पर निर्भरता कम भएकोले वितरण व्यवस्था (Supply Chain) बन्द हुँदा पनि मानिस भोकै मर्ने स्थिति हुन्थेन। तर अहिले वितरण व्यवस्था अवरुद्ध हुनेबित्तिकै मानिस भोकभोकै बस्नुपर्ने स्थिति उत्पन्न हुन पुग्छ। कोरोना जस्ता महामारी, पछि आउन सक्ने यस किसिमका प्राणघातक रोगले वितरण व्यवस्था अवरुद्ध हुन सक्ने अनुमानबाट भयभीत भएर अब धेरै व्यक्तिले परस्पर निर्भरता कम पार्नेछन् र स्वउत्पादनमा जोड दिनेछन्।

(ग) भौतिक दूरी राखेर कार्य गर्ने नयाँ–नयाँ पद्धतिको विकास
कोरोना होस् वा अन्य महामारी, प्राणघातक रोग होस् वा सामान्य, प्रायः सबै रोग सम्पर्क गर्दा वा नजीक पर्दा सर्ने भएकोले अब एक निश्चित भौतिक दूरी कायम गरेर कारोबार गर्न सकिने यन्त्र, प्रक्रिया, प्रविधि, पद्धतिहरूको विकास अब तीव्र गतिमा हुनेछ। हुनत विकसित देशहरूमा यस किसिमका पद्धतिहरूको यथेष्ठ विकास भइसकेको छ तर अब यस्ता पद्धतिहरूको विकास विकासशील राष्ट्रहरूमा तीव्र गतिमा हुनेछ। एटिएम, सेल्फ चेक आउट, टुगो, ड्राइभ थ्रु, टेक–होम, अनलाइन सपिङ, अनलाइन अर्डरजस्ता मानव–सम्पर्क कम हुने पद्धतिको प्रयोग विकासशील राष्ट्रहरूमा पनि हुनेछ। विकसित मुलुकहरूमा भने यस्ता पद्धतिको थप विकास एवं प्रयोगमा झनै व्यापकता आउनेछ। परिवर्तित समय र परिस्थितिले त्यस्तो गर्न बाध्य पार्नेछ।

(घ) ठूला शहरहरूको खण्डीकरण एवं ससाना शहरहरूको विकास
चीन होस् वा अमेरिका वा इटाली कोरोना भाइरस सबैभन्दा बढी ठूला शहरहरूमा छिट्टै फैलिएको देखिएको छ। साना शहरहरूमा छिट्टै फैलिएको देखिएको छैन। र साना शहरहरू ठूलाभन्दा सुरक्षित देखिएका छन्। ठूला शहरहरूमा सम्पर्क दर बढी र सम्पर्क बाध्य भएकोले पनि कोरोना तीव्र गतिमा फैलिएको हो। त्यस कारण कोराना र कोरोनाजस्ता प्राणघातक रोगबाट जोगिन मानिस अब साना–साना शहरतिर बस्न इच्छुक हुनेछन्। यसरी एकातिर सानासाना शहरहरूको विकास हुनेछ भने अर्कोतिर स्वास्थ्य सुरक्षाको कारण ठूला–ठूला शहरहरूको खण्डीकरण हुनेछ। यो नयाँ परिस्थितिमा अब सानासाना शहरहरूको विकास तीव्र गतिमा हुनेछ। ठूला शहरहरूबाट मानिसहरू पलायन हुनेछन्।

भारत, नेपालजस्ता देशहरूको सन्दर्भमा ठूला शहरहरू रोजगार रहुन्जेल बस्न उपयुक्त तर रोजगार नभएपछि ती शहरले नै लखेट्ने भएकोले अब ठूला शहरहरूलाई मान्छेहरूले विश्वास गर्न छाड्नेछन् र दुःख गरेर भएपनि आफ्नै साना शहर वा गाउँहरू उपयुक्त भन्ने मनोविज्ञान निर्माण गर्न बाध्य हुनेछन्। अहिले नै यस्तो भएको देखियो पनि। कोरोनाका त्रासका कारण नेपाललगायत भारतका अनेक ठूला शहरबाट मानिसहरू ठूलो सङ्ख्यामा आफ्नो गाउँतिर लागेको देखियो। यो एक किसिमको नौलो एवं ऐतिहासिक मनोवैज्ञानिक परिवर्तन हो। हुनत ठूला शहरहरू पर्यावरण प्रदूषणका कारण उहिलेदेखि नै अनेकौं रोगको उद्गमस्थल भएर बस्न अनुपयुक्त हुँदै आएका हुन्। उद्योग र सवारीका साधनहरूले वायु प्रदूषित पारेर ठूला शहरहरूलाई जहर भरिएको शहर पार्दै आएका छन्। यो तथ्यलाई अब मानिसहरूले गम्भीरतापूर्वक लिनेछन्।

(ङ) निको पार्न नसकिने रोगहरू आउनेक्रम जारी
विकासशील राष्ट्रहरूजस्तै चीन, भारत तथा धनी राष्ट्रहरूजस्तै अमेरिका, फ्रान्स, जर्मनीले औद्योगिक विसर्जन र कार्बन इमिसन पर्यावरणमा यति बढी मात्रामा छाडिरहेका छन् कि हामी बाँच्ने पर्यावरण नराम्ररी बिथोलिएको छ, प्रदूषित भएको छ। पर्यावरण बिथोलिने क्रम यस्तै रहिरहने हो भने कोरोना भाइरसजस्ता घातक रोग लगाउने अन्य भाइरस पनि आउनेक्रम जारी रहनेछ। र ती भाइरसहरूले मान्छेहरूको ज्यान लिनेक्रम पनि जारी राख्नेछन्। तसर्थ कोरोना निको पार्ने औषधि आउँदैमा यस किसिमको समस्या सदाका लागि समाधान हुनेछ भनी ढुक्क हुने स्थिति छैन। दूषित पर्यावरणको कारण मानवजीवन सङ्कटमा रहनेक्रम समाप्त हुनेछैन। यस्तो चिन्ताले मानिसलाई एक्लो बस्न वा भौतिक दूरीमा जीवन निर्वाह गर्न, अन्तर्निर्भरता कम पार्न, एवं आफूले पनि अनेक किसिमका वस्तु एवं सेवा उत्पादन गर्न बाध्य पार्नेछ र सानासाना शहरहरूमा बस्न बाध्य पार्नेछ।

सम्पूर्ण विषम परिस्थितिहरूको अध्ययन, विश्लेषण एवं मनन गर्दा कोरोना वा अब आउने यस किसिमको रोग-सङ्कटले मानवजीवन पद्धतिमा परिवर्तन ल्याउने निश्चित छ। आर्थिक जीवनमा त परिवर्तन ल्याउने निश्चित नै छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको

काठमाडौं । केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता

काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि बैंकिङ सेवामा व्यापक कटौती भएको छ । यसअघि सिमित शाखामात्र खुल्दै आएकामा बैंकहरुले सिमित

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश