केरुङ–रसुवागढी बन्द नाकाले ब्यवसायीलाई पीडा थप्दै – एक ब्यवसायीद्वारा आत्महत्या


काठमाण्डाै । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनद्वारा जारी अघोषित नाकाबन्दीका कारण लामो समयदेखि सीमापारी नै धेरै नेपाली व्यवसायीहरुको विभिन्न सामानहरु लोडभएका हज्जारौं कन्टेनर अड्किएका छन् । यस्तै ठूलो धनराशीको सामान अड्किएका सिन्धुपाल्चोकका एक व्यापारीले आत्महत्या गरेका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसेका ब्यवसायी हरेराम पौडेलले आत्महत्या गरेका हुन् । २७ असोजकाे साँझपख ३५ वर्षीय पौडेलले पेप्सीकोलाको आफ्नो निवासमै पासो लगाएर आत्महत्या गरे । प्रहरीका अनुसार अपरान्ह साढे ४ बजे पौडेल मृत भेटिएका थिए । कमाउने मुख्य व्यक्ति नै नरहेपछि दसैँ मात्र खल्लो रहेन, जीवन नै अप्ठेरोमा धकेलिएको छ । उनका सात वर्षका छोरा र १० वर्षकी छोरी छन् ।

चीनबाट नेपाल सामान आयात गर्ने व्यावसायी हुन् पौडेल । सात वर्षदेखि यो व्यवसायमा लागेका उनी पछिल्लो समय व्यापारमा राम्ररी जमिरहेका थिए । तर विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीसँगै नेपाल–चीन सीमानाका बन्द भएपछि धेरै व्यावसायीलाई झैँ पौडेललाई पनि प्रतिकूल बन्दै गयो । लामो समयसम्म नाका नखुल्दा व्यापार चौपट बन्दै गयो ।

प्रहरीका अनुसार पौडेलको आर्थिक व्यवहार बिग्रिएको अनुसन्धानबाट खुलेको छ । पौडेलको आत्महत्याको कारण यही हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ‘तर ठ्याक्कै यही कारण हो भन्ने निचोडमा भने पुग्न सकिएको छैन,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक प्रहरी अधिकृतले भने, ‘परिवारले समेत आत्महत्याबारे बाहिर नभन्न हामीलाई भनेको छ । मोबाइलको फरेन्सिक परीक्षणपछि थप खुल्नेछ । त्यसको रिपोर्ट आएको छैन ।’ प्रहरीले पौडेलको ऋण भएको तथ्य फेला पारे पनि त्यसको आकार भने पत्तो पाउन सकेको छैन ।

कोभिड–१९ को संक्रमणपछि भने गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गर्‍यो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएको थियो । त्यसबेला तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किए । ती सामान अहिलेसम्म कुन हालतमा पुगे भनेर अनुमान मात्र गर्न सकिन्छ । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार भन्दा बढी लोड गरिएका कन्टेनरहरु थन्किएका छन् ।


Loading comments...