एटीएम फोडिरहेको अवस्थामा पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । नेपाली एटिएम मेशिन राखिएका स्थान तथा सुरक्षा मापदण्डमा बैंकद्वारा अपनाइएका असावधानीका कारण विगतमा नेपाली अपराधीहरु लगायत विदेशी अपराधीहरुको निशानमा एटिएम मेशिन पर्दै आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस अघि नेपाल प्रहरीले एटिएम मेशीनमा छेडछाड तथा पीन नम्बर ह्याक गरी रकम निकाल्ने विदेशी नागरिकविरुद्ध गरिएको कारबाहीमा चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीय गरी जम्मा १८ जना विदेशी नागरिक पक्राउ परेका थिए ।

यस बाहेक गत वर्ष नेपाली एटिएममार्फत पैसा चोरी गर्ने चिनियाँ अपराधीहरुविरुद्ध सबैभन्दा ठूलो अप्रेशन सफल भएको थियो । दरवारमार्गस्थित नविल बैंकको एटिएमबाट एकैजना ब्यक्तिले फरक-फरक भिसाकार्ड प्रयोग गरी नगद निकाल्दै गरेको दृश्य देखेर बैंकका एक आइटी कर्मचारीको सतर्कताका कारण उक्त अप्रेशन सफल भएको थियो ।

उक्त घटनामा दरवारमार्गस्थित नविल बैंकको एटिएममा अपरिचित ब्यक्तिको शंकास्पद गतिविधि सिसिटिभी क्यामेराबाट नियाली रहेका बैंकका कर्मचारी प्रहरी सहित एटिमबुथ पुग्दा एक चिनियाँ नागरिक २० वटा भिषाकार्ड प्रयोग गरी लगातार नगद झिक्दै झोलामा राख्दै गरिरहेको अवस्थामा पक्राउ परेपछि एटिएमको पिन नम्बर ह्याक गरि बैंक लुट्ने थप ४ जना चिनियाँ नागरिक पनि पक्राउ परेका थिए ।


Loading comments...