आफ्ना १९ बुँदा माग सम्बोधन नभएसम्म बन्चरेका युवाहरुले काठमाडौंको फोहोर फाल्न नदिने


काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न रोजिएको नयाँ स्थल बन्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका युवाहरुले काठमाडौं महानगरपालिकासहित सरोकारवालाहरुलाई बिहीबार विभिन्न मागहरुसहितको ज्ञापनपत्र बुझाएका छन् ।

ककनी गाउँपालिकाभित्र रहेका तीन वटा युवा क्लबहरुले आफ्ना १९ बुँदे माग सम्बोधन नभएसम्म बन्चरेमा काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने अडान राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ककनी प्रगतिशील युवा क्लव, करुण युवा क्लव र रोयल युथ क्लबले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटसहित अन्य सरोकारवालाई शुक्रबार ज्ञापनपत्र बुझाइने क्लबका सदस्यहरुले बताएका छन् ।

उनीहरुको विज्ञप्तिअनुसार काठमाडौँ उपत्यका भित्रको फोहोरमैला कहाँ र कसरी व्यवस्थापन गर्ने ? भनी रुमलिएको नेपाल सरकारले विकास निर्माणको अभावमा तड्पिरहेको नुवाकोटको तत्कालिन ओखरपौवा गाविसमा केन्द्रीय तथा स्थानीय राजनीतिक दलको सहभागितामा विकास निर्माणको आशा बोकेका स्थानीय वासिन्दाहरुको सहमतिमा काठमाडौं, नुवाकोट र धादिङको त्रिवेणी खोच सिसडोल ल्याण्डफिल्ड साइड नाम दिएर २०६२ जेठ २२ गतेबाट उपत्यकाको फोहोर मैलाको व्यवस्थापन गर्न शुरु गरिएको थियो ।

तीनवटा जिल्लाको संगमस्थल भएकोले आफ्नै जिल्लाको स्थानीय ठाउँअनुसार फरक फरक किसिमका विकास निर्माणका आवश्यकताहरु अनगिन्ति थिए । तत्कालिन समयमा बनेको समन्वय समितिसँग समेत स्थानीय विकास मन्त्रालय, फोहोर मैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्र, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा अन्य निकायहरु, यसमा सरोकारवाला पक्षको रुपमा रहेका थिए । स्थानीय वासिन्दाहरु विकास निर्माणका सुबिधा भोग गर्न पाइने आशाले फोहोर थुपार्दा बसोबास गरिरहेको बस्तीमा फोहोरको दुर्गन्धको प्रवाह नगरी सरकारको फोहोर फाल्ने निर्णयलाई खुशीसाथ स्वीकार गरेका थिए ।

सरकारले स्थानीय वासिन्दासँग गरेका अनेकौँ सम्झौता तथा स्थानीय जनताका विकासका चाहनाहरु राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुको स्वार्थमा सीमित रहने गरी जस्ताको तस्तै जहाँको तही रहेको जनाउँदै क्लबहरुले सोही कारण अहिलको आवश्यकतालाई अध्ययन गरी तीन वटा क्लबका पदाधिकारीहरुको संयुक्त निर्णयबाट विभिन्न मागहरु राखेर संघर्षमा उत्रिएको जानकारी दिएका छन् ।

स्थानीय जनताका माग र आवश्यकताका विषयहरुलाई सम्बोधन गर्दै विकास निर्माण गर्ने–गराउने प्रतिबद्धतासहित फोहोरमैला व्यवस्थापन गर्न दिन आफूहरु तयार रहेको बताउँदै क्लबहरुले तर ती कुराहरुलाई सम्बोधन नगरी टालटुले तरिकाले काम गर्ने कुरा आफूहरुले स्वीकार नगर्ने बताएका छन् । आफ्ना मागहरुका सम्बन्धमा मंसिर ४ गते पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने युवा क्लबहरुले बताएका छन् ।

क्लबहरुले अघि सारेका माग यस्ता छन्ः
१. वैज्ञानिक ढंगबाट फोहोर मैला व्यवस्थापन गर्नुपर्ने ।
२. मानव स्वास्थ्यको पूर्ण ग्यारेन्टीसहित जीवन बीमा हुनुपर्ने ।
३. विकास निर्माणका कार्यहरु तत्काल जनताले भनेबमोजिम शुरुवात गर्नुपर्ने ।
४. १५ वर्षसम्म जनअधिकारमाथि गरिएको किन लापर्वाही गरियो ? स्थानीय वासिन्दाप्रति जवाफदेही नभएकाले १५ वर्षसम्मको क्षतिपूर्ति दिनुपर्ने ।
५.राजनीतिक दलका सीमित व्यक्तिको स्वार्थका कारण व्यवस्थित र न्यायोचित ढंगबाट जग्गा अधिग्रहण हुन नसकेकाले त्यसलाई औधित्यताका आधारमा अधिग्रहण गरिनुपर्ने ।
६. नाष्टको अध्ययन प्रतिवेदनको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने ।
७. विकास निर्माणका नाममा विगत १५ वर्षदेखि भइरहेको खर्चको हरहिसाव र प्रगति सार्वजनिक हुनु पर्ने ।
८. स्थानीय वासिन्दाहरुले मनन् गर्न योग्यढंगले विकास कार्यहरु सञ्चालन गर्नुपर्ने ।
९. एक सय शैयाको हस्पिटल तत्काल निर्माण गर्नुपर्ने ।
१०. यातायात, शिक्षा, स्वास्थ्य, जीवन बीमा, पशु बीमा, बाली बीमाको ब्यवस्था तत्कालै गर्नुपर्ने ।
११. बातावरणलाई पहिलेकै प्राकृतिकस्वरुपमा फर्काइनुपर्ने ।
१२. फोहोरको प्रभावबाट मुक्त गरी मानिस, पशुपन्छी, बोटबिरुवाहरुलाई सुगन्धित हुने ग्यारेन्टी गर्नुपर्ने ।
१३. हस्पिटलजन्य फोहोरबाट समाजमा पर्ने प्रभावमा सरकारी लापर्वाही अन्त्य गर्नुपर्ने ।
१४. फोहोरबाट निस्कने लिचेड पद्धार्थ जनतालाई असर नहुने गरी व्यवस्थापन गर्नुपर्ने । यस्तो फोहोरलाई खोलामा मिलाइनु नहुने ।
१५. ल्याण्डफिल साइटका प्रभावित वासिन्दाहरुलाई प्राथमिकताका साथ तत्कालै रोजगारको व्यवस्था हुनुपर्ने ।
१६. फोहरमैला बोक्ने सवारी साधनबाट हुने मानव दुर्घटनामा पीडितको परिवारसँगको सहमतिमा त्यस परिवारलाई संरक्षिणको कार्यक्रम ल्याइनुपर्ने । सवारी साधनको गतिको सीमा तोकिनुपर्ने ।
१७. विकास निर्माणका कुराहरुमा राजनीतिक दलका प्रतिनिधिहरुलाई सल्लाहकारको रुपमा लिने क्रममा क्लबका प्रतिनिधिहरुलाई पनि सहभागी गराइनुपर्ने ।
१८. मानव बसोबासरहित क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्नुपर्ने, त्यसैको आधारमा जग्गा अधिग्रहण गर्नुपर्ने ।
१९. फोहोरमैला विसर्जन गरिएको स्थानबाट हुने बिस्फोटबाट सुरक्षित हुने सुनिश्चितता गरिनुपर्ने ।


Loading comments...