‘ग्लोबल टाइम्स’द्वारा नेपाली काँग्रेस, भारत र पश्‍चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवादमा मलजल गरिरहेको आरोप


चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने समाचारहरु प्रकाशित भएपछि चिनियाँ मुखपत्र ‘ग्लोबल टाइम्स’ ले नेपाली काँग्रेस, भारत र पश्‍चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवाद उक्साइरहेको आरोप लगाएको छ ।

चिनियाँ सैनिकले नेपाल-चीन सीमा पार गरेर हुम्लामा सीमा स्तम्भ उखेलेको र नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने ‘आधारहीन’ समाचारहरु फैलाउन पश्‍चिमा शक्ति र भारतीय सञ्‍चारमाध्यमहरु तथा नेपाली कांग्रेस लागिरहेको समाचार ग्लोबल टाइम्सले लेखेकाे छ।

कर्णाली प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले चीनविरोधी गतिविधिको नेतृत्व गरेको गरिरहेकोसमेत आरोप लगाइएको छ ।

उक्त आरोपलाई नेपाली काँग्रेसले खण्डन गरेकाे छ। चीन सरकारकाे मुखपत्र ग्लाेबल टाइम्स पत्रिकालाई उदृत गर्दै अनलाइन खबरसहितका केही मिडियाले ‘कांग्रेससहितकाे शक्तिले नेपाल र चीन सीमा विवादकाे आधारहीन हल्ला फैल्याए’ भन्ने शीर्षकमा म जीवनबहादुर शाही र म आबद्द संस्था नेपाली काँग्रेस पार्टीलाई जाेडेर प्रकाशित भएकाे समाचार प्रति गम्भीर ध्यानाकर्षण भएकाे छ।

जारी विज्ञप्तीको वास्तविक प्रति

नेपाल र चीन बीच सीमा विवाद देखिएकाे हुम्ला जिल्लाकाे उत्तरी क्षेत्रकाे स्थलगत निरीक्षण पश्चात गरिएकाे सुक्ष्म अध्ययन एवं विश्लेषण र तथ्यका आधारमा नेपाली भूमि अतिक्रमण भएकाे निष्कर्षलाई छाँया पार्ने गरी आफ्नाे मुख पत्र ग्लाेबल टाइम्स पत्रिका मार्फत चीनकाे सरकारले लगाएकाे सम्पुर्ण मिथ्या आराेपलाई खारेज गर्दछु। र एक इन्च नेपाली भूमी नमिचेकाे प्रमाण पेश गर्ने चीन सरकारलाई चुनाैती दिन्छु भन्दै शाहीले प्रेस विज्ञप्ति निकालेका छन्।

शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरी चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाएका थिए ।नेपालमा पश्चिमा देशहरुको गतिविधि बढ्दै गएकोप्रति नेपाली बुद्धिजीवीहरुले शंका व्यक्त गर्ने गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । गैरसरकारी संस्थाहरुले पश्चिमा देशको राजनीतिक स्वार्थमा नेपालभर गतिविधि सक्रिय पारेको काठमाडौंका एक स्थानीयलाई उद्धृत गरी टाइम्सले समाचार लेखेको छ ।

केही भारतीय टेलिभिजनहरुले नेपालको सार्वभौमसत्ता विरोधी खबर प्रसारित गरेको र नेपाल–चीन सम्बन्धमा खेल्न खोजेको आरोपसमेत लगाइएको छ । टाइम्सले भनेको छ, “नेपाल एउटा सानो देश हो । जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन् ।”


Loading comments...