ग्लोबल टाइम्सको लेख विरुद्ध यस्तो आयो काँग्रेसको आपत्ति


काठमाण्डौ । चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेख प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप समेत लगाएको छ । साथै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता श्री जीवनबहादुर शाहीको सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा पनि दिएको छ ।

:: यो पनि पढ्नुहोस् ::

सर्वप्रिय टेलिभिजन प्रस्तोता दिलभुषण पाठकको चर्चित टिभी शो “TOUGHtalk” मा नेपाली काँग्रेसका प्रभावशाली नेता तथा कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीसँग यही प्रसङ्गमा कुराकानी भएको थियो ।

ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ ।

यसै बीच नेपाल स्थित चिनिया दुतावासले नोभेम्वर १३ मा नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई आधारविहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैत्रीपूर्ण पनि भनिएको छ । यसप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

जहाँसम्म श्री जीवनबहादुर शाहीको हुम्लामा सीमा अतिक्रमण भएको प्रतिवेदनको सन्दर्भ छ, उहाँले ७ वुँदे सार सहितको निष्कर्ष र ति निष्कर्षहरुलाई पुष्टि गर्ने १८ वुँदे प्रमाण र आधारहरु समेत प्रस्तुत गर्नु भएको छ । यस सम्बन्धमा श्री शाहीले नेपाल सरकारलाई आफ्नो टोलीले निकालेको निष्कर्षका आधारमा नेपाल सरकारले गर्नु पर्ने कामका सम्बन्धमा ३ वुँदे सुझाव र सिफारिश पनि दिनु भएको छ र उहाँको प्रतिवेदन सीमा सुरक्षाको सरकारको जिम्मेवारीप्रति लक्षित छ ।

यदि चिनियाँ सरकारले भने जस्तै हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण नभएको हो भने यसको निक्र्योल दुई सरकार बीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्य सहित आएको तथ्य, सीमा स्तम्भहरुको अवस्था लगायतको प्राविधिक मूल्याङ्कनको आधारमा टुङ्गो लगाउन आपत्ति हुनु पर्ने कुनै कारण छैन । यसले नेपाली जनता माझ रहेको आशंका निवारण गर्न मद्दत गर्नेछ ।

नेपाली कांग्रेस के स्पष्ट गर्न चाहन्छ भने सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी जुन सम्झौता चीन सरकारसँग गर्नु भएको थियो, त्यसकै आधारलाई टेकेर दुई देश बीच एक अर्का बीच अहस्तक्षेप र एक अर्काको भू–भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको छ । आगामी दिनमा पनि पालना गर्नेछ । नेपाली कांग्रेस दुई देशको मैंत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदन सम्बन्धमा काठमाडौं स्थित चिनिया राजदूतावासको आधारहिन आरोप लामो समयदेखि नेपाली कांग्रेस तथा चिनिया सरकार र जनता बीच रहेको मैंत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत भएको कुरामा सम्बन्धित पक्षको ध्यानाकृष्ट गर्दछ ।

हुम्लामा नेपाली भू–भागमा अतिक्रमण भएको भन्ने समाचारहरु सार्वजनिक भएपछि नेपाल सरकारको हुम्लामा रहेको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले त्यस सम्बन्धमा प्रतिवेदन दिनु पूर्व नै परराष्ट्र मन्त्रालयले कुनै अतिक्रमण नभएको विज्ञप्ति सार्वजनिक गर्‍यो । यस सम्बन्धमा नेपाली कांग्रेस पार्टीले तत्कालै सरकारको ध्यानाकर्षण गराएको थियो । यसै बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभाका सदस्य तथा विपक्षी दलका नेता श्री जीवनबहादुर शाही सहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी त्यहाँ नेपाली भूमिमा अतिक्रमण भएको प्रतिवेदन दिएपछि पनि नेपाल सरकारले यस सम्बन्धमा कुनै छानविन गर्न पहल नगर्नु र अर्को तर्फ चिनिया सरकारले हुम्लामा कुनै नेपाली भूमि नमिचिएको विज्ञप्ति आएको स्थितिले नेपाली जनतामा थप अन्यौलता छाएको छ । नेपाली कांग्रेस पार्टी सरकारको यस्तो गैर जिम्मेवार प्रवृत्तिको निन्दा गर्दछ ।

नेपाली कांग्रेस दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाई, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्याङ्क र श्री जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गर्दछ । यसले सीमा सम्बन्धमा पैदा भएको अन्यौललाई चिर्न मद्दत पुग्ने मात्रै नभएर नेपाली जनतालाई नेपालको भूमिको सुरक्षा सम्बन्धमा सिर्जित अन्यौलको अन्त्य हुनेछ । साथै, यसबाट दुई देशको जनता बीच आउन सक्ने अनावश्यक तिक्ततालाई पनि समाप्त पार्न मद्दत पुग्नेछ ।

नेपाली काँग्रेसले जारी गरेको विज्ञप्तीको वास्तविक प्रतिः

यही सन्दर्भमा चीनले आफ्नो आधिकारिक धारणा सहितको ४ पाना लामो पत्र संलग्न गर्दै नेपाली काँग्रेसको आधिकारीक इमेल [email protected] ठेगानामा पठाएको छ ।

नेपाली काँग्रेसको इमेल ठेगानामा चीनले पठाएको इमेलको पूरा पाठ


हुम्लामा चीनले नेपाली भूमी मिचेको सम्बन्धी सबै सामाग्रीहरु

१) नेपाली भूमीमा चीनको भवन निर्माण, नेपालीलाई प्रवेशमा रोक
२) हुम्लामा चिनले गरेको भूमी अतिक्रमण विरुद्ध ‘लुम्बिनी नागरिक समाज’को विरोध
३) नेपाली भूमि मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि युवाहरुको ब्यापक प्रदर्शन
४) हुम्ला घटनाका विरुद्ध सुर्खेतमा प्रदर्शन, ‘राष्ट्रिय एकता अभियान’का दुईजना पक्राउ
५) नेपाली भूमी अतिक्रमणविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ
६) भूमि अतिक्रमण विरुद्ध ‘नेपाल रिपब्लिकन’द्वारा चिनियाँ दूतावास अगाडी प्रदर्शन
७) राष्ट्रिय एकता अभियानद्वारा चीनद्वारा अतिक्रमण गरिएको भूमी सम्बन्धमा नापी विभागसँग सूचना माग
८) नेपाली काँग्रेसका सांसदद्वारा हुम्ला निरीक्षण : चिनियाँ अतिक्रमणमा परेको लिमीवासी भन्छन् ‘चिनियाँले धम्की दिए’
९) सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोलीलाई चीनको अपमान !
१०) चीनद्वारा नेपालको भूमी मिचिएको विरोधमा दार्चुलामा विरोध र्‍याली
११) चीनले मिचेको भूमी फिर्ता माग्दै ‘विश्व हिन्दू महासंघ’को र्‍याली
१२) ‘ग्लोबल टाइम्स’द्वारा नेपाली काँग्रेस, भारत र पश्‍चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवादमा मलजल गरिरहेको आरोप


Loading comments...