दाजू-भाई, दिदी-बहिनीको सम्बन्धको एउटा प्रेमिल चाड ‘भाइटिका’


काठमाण्डौ, मंसिर १ । दाजू-भाई, दिदी-बहिनीको सम्बन्धको एउटा प्रेमिल चाड हो ‘भाइटिका’ । तर सदियौंदेखि निरन्तर सौहार्दता, आत्मियता, प्रेम तथा विशेष सम्बन्धको यो चाड विगतका सम्झनाहरु भन्दा फरक छ । कोभिड-१९ का कारण विश्व आज पीडाले आक्रान्त छ । जसका कारण धेरै दिदी-बहिनी तथा दाजू-भाइले आज सप्तरङ्गी टिकासहितको एउटा विशेष उत्सवलाई मनाउन सक्नेछैनन् । प्रथम पटक चिनको वुहानस्थित एक विसाल मासु पसलबाट फैलिएको कोरोनाभाइरसको संक्रमणले वैश्विक स्वास्थ्य संकटको रुप लिएको यस महामारीले संसारभरका विभिन्न रितितिथी, चाडबाड, उत्सवहरुलाई सिमित गरिदिएको छ ।

विगतका सम्झना अथवा जति दिदि-बहिनीहरु, दाजू-भाई घरमैं छन्, सुरक्षित तरिकाले यो विशेष चाडलाई उस्तै महत्वका साथ मनाउनुहुनेछ । बिहेवारी भई गएका दिदि-बहिनीहरुले तथा दाजू-भाईहरुले भने यस पटक खुब मिस गर्नेछन् रमाइला पलहरु । भाइटिका अर्थात दिदि-बहिनीहरुले दाजू-भाइको सुख, समृद्धि र लामो आयुको कामना गर्दै सप्तरङ्गी टीका लगाउने दिन ।

जहाँ इच्छा त्यहाँ उपाय
भनिन्छ नि “जहाँ इच्छा त्यहाँ उपाय” । हामी पक्कैपनि प्राचिन यूगमा त छैनौ । २१ औं शताब्दिको हरेक प्रविधिमय सुखः सुविधा हातैपिच्छे धेरैको पहूँचमा छ । प्रविधिको प्रयोग गरी अनुहार नै हेरेर तत्कालको तत्काल प्रत्यक्ष जोसँग पनि जुनसुकै समय बात मार्न सक्छौं । इन्टरनेटको बढ्दो ब्यापकता तथा न्यून खर्चका स्मार्ट फोनहरुले अहिले संसारमा जहाँसुकै जोसँग पनि आमने सामने कुराकानी गर्न सम्भव छ । खुशीयाली खोज्न संघर्ष हैन म्यासेन्जर, भाईबर, ह्वाट्सएप, स्काइपीमा आफ्ना दिदि-बहिनी, दाजू-भाईलाई भिडियो फोन गरी यस वर्षको भाइटिकाको माया र आशिष साटासाट गर्नुहोस् ।

आजको भाइटिकाको साइत
मान्यतानुसार तिहारको भाइटीकामा साइत आवश्यक हुन्न तै पनि साइत खोजेर टीकाको प्रक्रिया थाल्नेहरुका लागि आज विहान ११ः३७ मिनेट उत्तम रहेको छ । वैदिक मान्यता अनुसार सर्वसाधारणले टिकाको दिनभर आफ्नो अनुकूल समय मिलाएर टीका लगाए पनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । भाई टिका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ ।

विहान सबेरैदेखि घर-घरमा चहलपहल शुरुभइसक्यो होला, दिदीवहिनीहरु दाजूभाइलाई टीका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजू-भाई आउने प्रतिक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ? सप्तरङ्गी टीकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, काजू, किसमिस, नरीवल, छोकडा, मिठाइ मरमसाला सेलरोटी लगायतका खानेकुराहरु सहित आज दिदीवहिनीले दाजूभाईको पूजागर्ने चलन छ । भाइटीकाका विषयमा एउटा अत्यन्त प्रचलीत जनउक्ति रहेको छ, एकपटक एकजना चेलीले आफ्नो दाजू-लाई टीका लाउँदै गर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ, यमदुतका अनुसार उनको दाजूको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदुतलाई टीकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टीकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टीकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजू-लाई नलग्नु भनेर वरदान मागेर बचाएको अर्थात चेलीको मायाले दाजूभाईको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ । यमराजले पनि आफ्नो वहिनीसँग यमपञ्चकको पाँचौ दिन टीका लाउँदा वहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टीका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटीकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।

तिहारको रौनक उत्कर्षमा छ । सात रगंका टीका, फुलका मालाहरु, भोगटे बिमिरो लगायतका फलहरु, झिलीमील बत्तिहरु अनि झिल्केमिल्के कागज अनि सजावटहरु । काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरियो अब पालो छ दाजू-भाईको पूजा गर्ने, स्वागत छ यसवर्षको भाईटीकामा ।

निधार रंगाउने हातहरु छन् या रगांएका यादहरु मात्र छन् या अलि फरक मेसो छ यस बर्ष ? जे छ जहाँ हुनुहुन्छ अनि जे गर्दै हुनुहुन्छ भाइटीकाको दिनको कृपाले सबै दिदीबहिनी दाजू-भाइको कल्याण होस् ।

यमपञ्चकको पाँचौ तथा अन्तिम् दिन “भाईटीका”
दिदीवहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजू-भाइलाई भाईटीकाको निम्तो दिने चलन छ, यसरी निम्तो पाएका दाजूभाईहरु आज दिदी-बहिनीसँग टीका लगाउँदछन् । टीका लगाउनुपूर्व दिदीवहिनीले दाजूभाईलाई विशेषपूजा गर्नकालागि भूँई चकटि ओछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल र पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलार्इ भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाईको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ ।

शिरमा तोरिको तेल लगाएर दाजू-भाईको कपाल कोरेर अनि सप्तरङ्गी टीकाहरु लगाईदिएपछि दाजूभाईले पनि दिदी-बहिनीलाई टीका लगाईदिन्छन्, सप्तरङ्गी टीकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदी-बहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजू-भाईलाई प्रदान गर्दछन भने दाजू-भाईले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदी-बहिनीको पाउमा राखेर ढोग्दछन् । आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदी-बहिनी नभएकाहरुले कसैलाई दिदी-बहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टीका लगाउने अनि सामूहिक भाइटीकामा जाने चलन पनि छ ।

लामो समयदेखि भेटघाट नभएका दाजू-भाई तथा दिदी-बहिनीको आज भेटघाट हुँदैछ, आपसमा माया अनि सदभाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आआफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । यस महान पर्व तिहारको आज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ ।


Loading comments...