कृषि पेशामा रमाउदैँ नुवाकोटका कृष्णप्रसाद


नुवाकोट । बेलकोटगढी–२ खनियानखर्कका कृषक कृष्णप्रसाद तिमल्सिना २० वर्षदेखी आफ्नो गाउँठाउँमा एक नमूना कृषकका रूपमा स्थापित रहदै आएका छन् । करिब ५ रोपनी जमिनमा तिमल्सिनाले विभिन्न प्रकारका फलफूल तरकारी तथा पशुपालन गर्दै आएका छन्  ।

कृषि र पशुपालनमा सक्रिय तिमल्सिनाले वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी गरिरहेका बताउछन् । उनको बगैंचामा सुन्तला, अम्बा, कागती, निबुवा, केरा, लिची, लप्सी लटरम्मै फलेका छन् । मौसम अनुसारको तरकारी बन्दकोपी, काउली, गोलभेडा, सीमी, केराउ, हरियो खुर्सानी, बकुल्ला, साग, लसुन, प्याज, आलुलगायत पनि उत्पादन भईरहेको छ । ‘यहाँ उत्पादन भएका तरकारी तथा फलफूल काठमाडौको कालिमाटी तरकारी तथा फलफूल बजारबाट बिक्रीवितरण हुन्छ’, कृषक तिमल्सिनाले भने ।

त्यतिमात्रै होईन तिमल्सिनाले ‘तिमल्सिना गाई फार्म’ सञ्चालन गरिरहेका छन् । उनको आफ्नै दुग्ध उत्पादन केन्द्र (डेरी) पनि रहेको छ । गाई फार्ममा अहिले चार ओटा गाई तथा बाच्छा बाच्छी छन् । आफ्नो फार्ममा उत्पादन भएको र गाउँघरबाट संकलन गरिएको दैनिक तीन क्यान बढी दुग्धबाट पनिर, दही, दूध तथा दुग्धजन्य परिकारहरू उत्पादन गर्दै आएको कृषक तिमल्सिना बताउँछन् ।

उनले आफ्नै घरमा बाख्रा पालन र गाई पालनलाई पनि साथसाथै अगाडि बढाईरहेका छन् । ‘बर्षिनै १५ देखि २० ओटासम्म खसीबोका बिक्रि गर्छुु,’ तिमल्सिनाले भने-‘मेहनत अनुसारको आम्दानी भईरहेको छ ।’ आफूले गरेका कृषि पेशाबाट घरपरिवार चलाउन समस्या नभएको उनको भनाई छ ।

कोरोनाको कहरबीच पनि तिमल्सिनाको जोस जाँगर हराएको छैन । उनको दैनिकी तरकारी उत्पादन, मलजल तथा गोडमेलसँगै बिक्री वितरणका लागि बजार धाउनु बनेको छ । उनका अनुसार बजारमा अघिल्लो वर्ष झै यस वर्ष तरकारी तथा फलफूलहरू माग कम छ । ‘उत्पादन भएका कत्ति तरकारी र फलफूल फ्याँनु परेको छ’, तिमल्सिनाले भने-‘स्थानीय सरकारले बजार व्यवस्थापनमा सहजिकरण गरे यसरी दुःख गरेर उब्जनी गरेको तरकारी, फलफूल फाल्नु पर्दैनथ्यो ।’

यसैगरी उनले आगामी दिनमा स्थानीय सरकारले केही आर्थिक तथा बिक्रीवितरणका लागि सहज बाताबरण बनाईदिए आगामी दिनमा थप तरकारी फलफूल तथा खसी बोका उत्पादन गर्न सक्ने उनको ठहर छ ।

 


Loading comments...