Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

भारतीय विदेश सचिव हर्षवर्द्वन श्रृंगलाको नेपाल भ्रमण: सकारात्मक संवादबाट अघि बढ्दै

१२ मंसिर २०७७, शुक्रबार ०७:०७

भारतीय विदेश सचिव हर्षवर्द्वन श्रृंगलाले आजबाट नेपालको दुई दिने औपचारिक भ्रमण सुरु गर्नुभयो । भ्रमणको पहिलो दिन विदेश सचिव श्रृंगलाले नेपालका परराष्ट्र सचिव भरतराज पौड्याललाई भेट्नुभयो । सोही क्रममा विदेश सचिव श्रृंगलाले नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली तथा माननीय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटवार्ताहरु सौहार्दपूर्ण र सकरात्मक वातावरणमा सम्पन्न भएको थियो ।

बैठकमा दुई परराष्ट्र सचिवले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल एवम् समीक्षा गर्नुभयो । उहाँहरुले महामारीले निम्त्याएको विषम परिस्थितिको बाबजुद सहकार्यको विविध क्षेत्रमा भएका उल्लेखनीय प्रगतिमा सन्तुष्टि व्यक्त गर्नुभयो । यस अवधिमा सीमामा व्यापार र वाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरूको सक्रिय कार्यान्वयन सुनिश्चित गर्न भारत सरकारले खेलेको भूमिकाको नेपाली पक्षले सराहना गयो । दुवै परराष्ट्र सचिवले सीमा सम्बन्धी विषयमा छलफल गर्नुका साथै बाँकी खण्डमा सीमा सम्बन्धी कार्यहरु सम्पन्न गर्ने बारे आफ्ना विचारहरु साटासाट गर्नुभयो । दुवै देशका परराष्ट्र सचिवले उच्चस्तरीय द्विपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशहरूबीच परम्परागत रूपमा घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमति जनाउनु भयो ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा विदेश सचिव श्रृंगलाले भारतका सम्माननीय राष्ट्रपतिको सन्देश सुनाउनु भयो । उहाँहरुले दुई देशबीचको घनिष्ट सम्बन्ध र यसलाई अझ मजबुत बनाउने तरिकाहरु बारे छलफल गर्नुभयो। नेपालका सम्माननीय प्रधानमन्त्रीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव श्रंगलाले प्र धानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश सुनाउनुभयो । वहाँले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र समकक्षी भरतराज पौड्यालसँग भएको फलदायी भेटवार्ताबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

माननीय परराष्ट्रमन्त्रीसँगको भेटका क्रममा दुबै पक्षबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरण र द्विपक्षीय आदानप्रदान र सहकार्यको दिशालाई अघि बढाउनेबारे विचार आदानप्रदान भयो । विदेश सचिव श्रृंगलाले कोभिड-१९ को चुनौतीलाई सामना गर्न भारतले गरेको उल्लेख्य प्रगतिबारे माननीय परराष्ट्रमन्त्रीलाई जानकारी गराउनुभयो । विदेश सचिव श्रृंगलाले माननीय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाउनुभएको निमन्त्रणा पनि सुनाउनुभयो। बैठकपछिको एउटा छुट्टै समारोहमा भारतीय विदेश सचिव श्रृंगलाले माननीय परराष्ट्रमन्त्री ज्ञवालीलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि २००० थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गर्नुभयो । भारत सरकारले गत अप्रिल महिनादेखि नै कोभिड-१९ विरुद्ध लड्न आवश्यक औषधी, उपकरण तथा क्षमता विकासमा नेपाललाई सहयोग पुयाइरहेको छ। अहिलेको सहयोग पनि त्यसकै निरन्तरता हो । कोभिड-१९ सम्बन्धी हर सहयोग पुयाउन नेपाललाई भारतको निरन्तर साथ रहने कुराको आश्वासन पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।