नेपाल वेदविद्याश्रम ४७ औं वर्ष प्रवेश


काठमाडौं । नेपाल वेद विद्याश्रम आजबाट ४७ औं वर्ष प्रवेश गरेको छ। २०३१ सालमा स्थापना भई हालसम्म अनवरत रूपमा सेवारत यस विद्यालयले आफ्नो सफल ४६ औं वर्ष पूरा गरि ४७ वर्षमा प्रवेश गरेको हो ।

नेपाल वेदविद्याश्रम पशुपति क्षेत्र विकास कोषको शैक्षिक उपक्रम हो । पशुपति क्षेत्रमा अवस्थित यो विद्यालय गुरुकुल धारका संस्कृत विद्यालयहरूको केन्द्र हो।यो विद्यालय २०२६ सालमा निर्माण प्रारम्भ भई २०३१ बाट पठनपाठन आरम्भ भएको र साथसाथै २०४३ सालबाट प्रवेशिका परीक्षामा सामेल भई हालसम्म निरन्तर रूपमा अघि बढिरहेको छ। आरम्भमा व्यवस्थापनको सम्पूर्ण जिम्मा गुठीसंस्थानले लिएपनि २०५६ सालदेखि पशुपति क्षेत्र विकास कोषले यसको सञ्चालन र व्यवस्थापन गरिरहेको छ ।

हाल यस विद्यालयमा कक्षा ४ देखि १२ कक्षा सम्म सञ्चालन हुँदै आइरहेको छ। यहाँ हाल वेद,व्याकरण, नेपाली , अङ्ग्रेजी, गणित ,सामाजिक,रुद्री, गीता , चण्डी, कर्मकाण्ड , वेद संस्कृत भाषाव्याकरण, ज्योतिष, उपनिषद्, साहित्य लगायतका विषयहरूको अध्ययन अध्यापन हुँदै आइरहेको छ।

सम्पूर्ण आवासीय निस्शुल्क सुविधासहित लगभग ६० जिल्लाका ११० जना विद्यार्थी छात्रवासमा रहेर अध्ययन गरिरहेका छन् । यस विद्यालयले धर्म संस्कृतिका रक्षार्थ तत्पर कर्मनिष्ठ जनशक्तिको उत्पादनलाई आफ्नो लक्ष्य बनाएको छ ।

यस वर्ष कोरोना महामारीका कारणले यहाँ पनि विद्यार्थीहरूलाई भर्चुअल माध्यमबाट दूरशिक्षणविधिअनुरूप पठन पाठन सञ्चालन गरिएको छ । यसै कारणले गर्दा औंपचारिक कार्यक्रम हुन नसकेपनि महामारीको शान्तिको सङ्कल्पका साथ राष्ट्रदेव पशुपतिनाथको मन्दिरमा रुद्राभिषेक गरी विद्यालयले वार्षिकोत्सव मनाएको छ ।


Loading comments...