Lifestyle Portal
  •   १३ माघ २०७७, मंगलवार

नेपालमा महँगीका कारणहरू के के हुन्?

१७ मंसिर २०७७, बुधबार ०८:४०

नेपाल संसारकै महँगो राष्ट्र हुनुपर्छ । नेपालका बजारहरूमा उपलब्ध वस्तु एवं सेवाको मूल्यले यस कुराको पुष्टि गर्दछ ।

हुन पनि नेपालमा सस्तो कुनै कुरा छैन । स्वास्थ्य सेवा, शिक्षा, आवास, यातायात, मनोरञ्जन, ऊर्जा, खाद्यान्न, औषधि सबै महँगो छ। नेपाल यस्तो देश हो जहाँ मध्यमवर्गीय परिवारले पनि बचत गर्न सक्तैन । अर्थात् मध्यमवर्गीय परिवारले पनि आफ्नो आम्दानीको सम्पूर्ण भाग केवल आजीविका चलाउनमैं खर्च गर्छ । उच्चवर्गले भने केही बचत गर्न सक्छ तर पनि अपेक्षित मात्रामा होइन । विकसित देशका उच्चवर्गलेझैं नेपालको उच्चवर्गले बचत गर्न सक्तैन। नेपालमा कुनै पनि कुरा अति सस्तो छ भन्ने छैन। यो कारणले गर्दा पनि नेपालको राष्ट्रिय पूँजीको आकार ठूलो हुन सकेको छैन ।

नेपालका निम्नवर्गीयहरूको स्थिति त झन् कष्टकर छ, कहालीलाग्दो छ। उनीहरूको स्थिति जहिले पनि ऋणात्मक रहन्छ । निम्नवर्गीयहरूका लागि आफ्नो आवास दुर्लभ छ । काठमाडौ, वीरगंज, विराटनगर, पोखराजस्ता ठूला–ठूला शहरमा निर्धन व्यक्तिले आफ्नै घर बनाएर बस्न पाउनु लगभग असम्भव छ। यस्तो हुनुका दुई कारण छन् । पहिलो– निम्न आय भएकासँग बचत नै हुँदैन । दोस्रो–अकुशलता, प्रबन्धकीय क्षमताको अभाव, उच्च प्रविधिको कम प्रयोगजस्ता कारणले गर्दा नेपालमा भवन निर्माण विश्वमा नै ज्यादै महँगो छ । अनावश्यक खर्चहरूले गर्दा भवन निर्माण ज्यादै खर्चिलो र बोझिलो हुन पुगेको छ । भवन निर्माणलाई कम खर्चिलो बनाउन सरकारले पटक्कै ध्यान दिएको पाइँदैन । निजी क्षेत्रले पनि प्रयास गरेको देखिंदैन ।

लेखकः विश्वराज अधिकारी

नेपालमा अति महँगी भए पनि जीवन भने चलेकै छ । कसरी होला ? नेपालको अर्थतन्त्रमा विप्रेषण (रेमिट्यान्स) को ठूलो प्रभाव छ । नेपालमा ठूलो मात्रामा रेमिट्यान्स आउने गर्दछ । कुल गार्हस्थ्य उत्पादनको तुलनामा विश्वमैं सर्वाधिक विप्रेषण प्राप्त गर्ने राष्ट्रहरूको श्रेणीमा नेपाल तेस्रोमा पर्दछ । नेपालले आफ्नो गार्हस्थ्य उत्पादनको लगभग ३० प्रतिशत बराबर आय विप्रेषणबाट प्राप्त गर्दछ । अर्थात् नेपालको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा ३० प्रतिशत रहेको छ । विप्रेषण अधिक पाउने राष्ट्रहरूको श्रेणीमा एक र दुई नम्बरमा क्रमशः टोंगा र हाइटी पर्दछन् । नेपालको स्थिति यस्तो रहनु अर्थतन्त्रको लागि ज्यादै दुःखद कुरा हो । यो स्थितिले नेपाल विप्रेषणले चलेको देश हो भन्ने बुझाउँछ जुन लज्जास्पद हो ।

लगभग पचास लाख नेपाली अहिले देश बाहिर छन् । खासगरी अन्तर्राष्ट्रिय श्रम बजारमा काम गर्ने नेपालीहरूले ठूलो परिमाणमा स्वदेशमा विप्रेषण पठाइरहेका छन् । विप्रेषणले गर्दा नै नेपालमा जेनतेन जीवन चलेको छ । विप्रेषणले देश नधानेको भए नेपालमा गरीबी ठूलो मात्रामा वृद्धि भएर जीवनयापन अति कठिन हुने थियो । भोखमरीको अवस्था हुने थियो । तर धन्य, नेपाललाई विप्रेषणले थेगेको छ ।

नेपालमा महँगी उच्च बिन्दुमा पुग्नुका अनेक कारण छन् । ती सबै कारण यो छोटो लेखमा प्रस्तुत गर्न नसकिने भएकोले केवल दुई कारण प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

नेपालको महँगी आकाश छुने हुनुको प्रमुख वा पहिलो कारण हो सरकारहरू गैरजिम्मेवार हुनु । कम लागतमा ठूलो परिमाणमा उत्पादन गर्न सकिने वा उत्पादन लागत घटाउन सकिने उपायको खोजी नेपालमा गठन भएका सरकारहरूले कहिले पनि गरेनन् । महँगी नियन्त्रणलाई कुनै पनि सरकारले गम्भीर विषयको रूपमा लिएन । कम्युनिस्ट वा काङ्ग्रेस कुनैको सरकारले पनि महँगी नियन्त्रणलाई प्रमुख प्राथमिकताको सूचीमा राखेन । सबै सरकार गरीबप्रति गैरजिम्मेवार र असंवेदनशील देखिए ।

महँगी नियन्त्रण, उत्पादन वृद्धि, लागत कटौति, उत्पादकत्व वृद्धिजस्ता कार्य कुनै पनि मुलुकमा अर्थमन्त्रीको नेतृत्वमा रहेको विज्ञहरूको समूहले गर्दछ । विज्ञहरूको समूहले महँगी नियन्त्रणका उपायहरूको खोजी गर्दछ । तर दुर्भाग्य! भागबण्डाको राजनीतिले गर्दा नेपालले योग्य, कुशल र आफ्नो क्षेत्रमा राम्रो दखल भएको अर्थमन्त्री पाउन सकेन । विज्ञहरूले पनि महँगी नियन्त्रणमा योगदान पु–याउने सुझाव सरकारलाई दिन सकेनन् । दलीय राजनीतिको निहित स्वार्थले गर्दा विज्ञहरूको पहुँच सरकारसम्म हुन सकेन । उनीहरूको विज्ञताको उपयोग देशले गर्न सकेन ।

२०४६ सालको राजनीतिक परिवर्तन पछि, केही अपवादलाई छाडेर, नेपालमा योग्य व्यक्ति अर्थमन्त्री चयन भएको पाइँदैन । अनुभवहीन, योग्यता नभएका, सम्बन्धित क्षेत्रको पटक्कै ज्ञान नभएका, शैक्षिक योग्यता शून्य, निक्म्मा व्यक्तिहरू नेपालका अर्थमन्त्री भएका छन् । ताजा उदाहरणको रूपमा केपी ओलीको सरकारमा रहेका अर्थमन्त्रीलाई लिन सकिन्छ । ओलीको सरकारमा रहेका वर्तमान अर्थमन्त्री विष्णु पौडेलसँग अर्थ क्षेत्रमा काम गरेको न अनुभव छ, न उनी अर्थ क्षेत्रको ज्ञाता हुन्, न उनीसँग शैक्षिक योग्यता नै छ । यस्ता अर्थमन्त्रीबाट आर्थिक सुधारको अपेक्षा गर्नु आकाशको फलजस्तै साबित हुन्छ ।

सरकारहरूको गैरजिम्मेवारीले गर्दा नेपालले योग्य अर्थमन्त्री पाउन सकेको छैन । स्थिति यस्तै रहने हो भने भविष्यमा पनि पाउने सम्भावना देखिंदैन । दलहरूको भागबण्डाको राजनीति, निहित स्वार्थले गर्दा अर्थमन्त्री र अर्थ मन्त्रालय उपहासको विषय हुन पुगेको छ। महत्वहीन बनाइएको छ ।

भारतका निवर्तमान प्रधानमन्त्री मनमोहन सिंह त्यस देशको अर्थमन्त्री (सन् १९९१–१९९६) भएको बेला उनले देशको आर्थिक स्थितिमा चमत्कारी सुधार मात्र ल्याएनन्, बर्बादीको नजीक पुगेको भारतीय अर्थतन्त्रलाई जोगाए पनि। त्यस बेलाको काङ्ग्रेसको अदूरदर्शी र अव्यावहारिक आर्थिक नीति र ‘लाइसेन्स राज’ ले गर्दा भारतको अर्थतन्त्र अति नै समस्याग्रस्त हुन पुगेको थियो, बर्बादीको नजीक पुगेको थियो। भारतले अनेक अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग लिनुपरेको थियो । समग्रमा देशको अर्थतन्त्र कठिन स्थितिमा थियो । तर देशलाई त्यो कठिन स्थितिबाट मनमोहन सिंहले पार लगाए । देशको अर्थतन्त्र बर्बाद हुनबाट जोगाए । यस कार्यको जस, उनले लामो समयसम्म प्रधानमन्त्री भएर काम गर्न पाए ।

देशको अर्थतन्त्र उकास्न अर्थमन्त्रीको ज्यादै ठूलो भूमिका हुन्छ । तर यो गम्भीर विषयलाई नेपालका राजनीतिक दलहरूले उपहासको रूपमा लिए । जतनाले पनि राजनीतिक दलहरूको यो गैरजिम्वेवारीलाई दण्डित गरेन । चुनावमा त्यस्ता दलहरूलाई पराजित गरेन । दोषी जनता पनि छ, मुलुकको आर्थिक स्थिति यस्तो हुनुमा ।

नेपालको महँगी आकाश छुने हुनुको दोस्रो कारण हो देशमा बृहत् उत्पादन (Mass production) हुन नसक्नु । सानो सानो परिमाणमा उत्पादन हुनु । यस तथ्यका धेरै उदाहरणहरू छन् । यहाँ मात्र एउटा उदाहरणको रूपमा कृषि क्षेत्रलाई लिउँ ।

नेपालको कृषि क्षेत्रको स्थिति कस्तो छ भने कृषियोग्य भूमि सानासाना टुक्रामा विभाजित छ । स्वामित्वको आधारमा कृषियोग्य भूमि अनेकौं टुक्रामा विभक्त छ । स्वामित्वको निर्धारण वा रेखाङ्कन (आली, बार) मा कृषियोग्य भूमिको ठूलो भाग अनुत्पादक भएर गएको छ । यसरी टुक्राटुक्रा भएर रहेको भूमिमा कृषकहरूले खेती गर्दा वा बाली लगाउँदा महँगो हुन पुग्छ । र यो कारणले गर्दा कृषि उपज महँगो हुन जान्छ ।

यदि कुनै एक व्यक्तिले सानासाना टुक्रामा विभक्त भूमि भाडामा लिएर, ठूलो आकार बनाएर खेती गर्ने हो भने उत्पादन लागत नियन्त्रण हुन्छ र कृषि उत्पादनको मूल्य उपभोक्ताहरूको लागि कम हुन पुग्छ । अर्कोतिर बृहत् उत्पादन भएको कारण उत्पादकले पनि ठूलो नाफा हात पार्न सक्छ ।

नेपालको कृषि क्षेत्रमा लागत नियन्त्रणको लागि उच्च प्रविधिको प्रयोग हुनु पनि उत्तिकै आवश्यक छ । तर कृषि क्षेत्रमा अहिले पनि कोरा श्रम (Direct labor) को प्रयोग भएको पाइन्छ । कृषिका लागि प्रयोग हुने विधि, प्रक्रिया, सामग्रीहरू अहिले पनि परम्परागत नै छन् । यसले गर्दा पनि नेपालमा कृषि उत्पादन महँगो हुन पुगेको छ, सस्तो पार्न सकिएको छैन ।

नेपालको गैरकृषि क्षेत्रमा पनि उत्पादन लागत कम पार्न उच्च प्रविधि प्रयोग भएको पाइँदैन । बृहत् उत्पादन गरिएको पाइँदैन । कृषि मात्र होइन, अन्य क्षेत्रमा पनि बृहत् उत्पादन गरेर, लागत नियन्त्रण गर्न सकिन्छ र वस्तु एवं सेवाको मूल्य कम पार्न सकिन्छ ।

वस्तु एवं सेवाको मूल्य कम पारेर उपभोक्तालाई राहत दिन हामीले बृहत् उत्पादन गर्नुको विकल्प छैन । उत्पादकत्व वृद्धि गर्नुको विकल्प छैन ।

सरकारलाई जिम्मेवार बनाएर तथा बृहत् मात्रामा वस्तु एवं सेवा उत्पादन गरेर मात्र पनि लागत नियन्त्रण गर्न सकिन्छ । महँगी धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । तर सरकारलाई जिम्मेवार बनाउने कार्य जनताले नै गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी। अमेरिकी फार्मा कम्पनी मडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले कोरोना भाइरसको नयाँ स्वरुपविरुद्ध पनि प्रभावकारी काम गर्ने दावी गरिएको

हामी साधन भएर पनि साधनविहीन छौं। हातमा सीप छ तर सृजना गर्दैनौं। पूँजी छ, लगानी गर्दैनौं। एउटा सफल औद्योगिक राष्ट्र

काठमाडौं। नेपाल प्रहरीको उपरीक्षक (एसपी)मा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बढुवा समितिको

सरकारले नेपाल–चीन सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि ‘राष्ट्रिय एकता अभियान’ धर्ना बसेको हो । राष्ट्रिय एकता अभियानले सीमा क्षेत्रका