स्थायी समिति बैठकमा नगएका प्रधानमन्त्रीले पठाएको पत्र (पूर्णपाठ)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्थायी समिति बैठकमा पत्र पठाएर आफ्नो कुरा राखेका छन्। आजको बैठकमा अध्यक्ष ओली उपस्थित थिएनन्। तर, उनले आफू निकट नेता ईश्वर पोखरेल मार्फत पत्र पठाएका हुन।

पत्रमा ओलीले अर्का अध्यक्ष दाहालको प्रस्तावमाथि छलफल गर्न नसकिने दोहोर्‍याएका छन्।

के लेखिएको छ पत्रमा?

स्थायी कमिटीका प्रिय कमरेडहरु,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक २८ अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव’ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ । पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत वहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग-पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ । एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्ताव सहित पर्याप्त तयारीका साथ बैठकमा जान पर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।

तर उक्त अभियोग-पत्र सहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरुलाई सार्वजनिक गरिएको छ । आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्र्याएको त्यस्तो सङ्गीन आरोप-पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु । परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु ।

कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतत्व गर्न सक्ने विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्बीर मात्रै मेरो मनमा अङ्कित थियो । हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गर्र्यौं र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गर्र्यौँ । एकीकरणको मल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखें । त्यसै अनुरुपका संरचाना निर्माण गरिए।

तर मलाई थाहा थिएन- खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु खेलको नियम’ नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । आज पनि म दोहोर्याउन चाहन्छु-महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्न पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनरुप सहमतिका आधारमा चल्नु पर्दछ।

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो। सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छ ।

अत्यन्त उज्ज्वल संभावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गभीर सङ्कटमा छ। यो सङ्कट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह / सत्तामोहका कारण निम्तिएको छ । मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु । तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयाश रहिरहेको छ।

मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ । गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो। आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुने छ।

हार्दिक अभिवादन सहित,
केपी शर्मा ओली
अध्यक्ष एवं प्रधानमन्त्री
२०७७ मङ्सिर २१

पत्रको वास्तविक प्रति


Loading comments...