
बैकल्पिक राजनीतिको निर्विकल्प बन्दै : विवेकशील साझा
काठमाडौं । करिब १ बर्ष सम्मको सहयात्रा पश्चात् अलगअलग भएका विवेकशील र साझा पुनः २ बर्ष पछि आफ्ना मतदाताहरु र आम नेपाली जनतासंग क्षमायाचनाको विनम्र अनुरोध गर्दै आत्मालोचना सहित एकताको लागि एउटै बिन्दुमा उभिएका छन् ।
गत स्थानीय निर्वाचनको मत परिणामले विवेकशील र साझा एकताको लागि अदृश्य रुपमा सशक्त चाप दिएअनुरुप एकीकृत भएको “विवेकशील साझा” संविधान सभाको निर्वाचनमा बैकल्पिक शक्तिको रुपमा स्थापित हुँदै सम्मानजनक मत बटुल्न सफल भयो । राष्ट्रिय पार्टी बन्न नसके पनि नजानिदो तरिकाले जनमानसमा बैकल्पिक राजनीतिको गतिलो छाप नमेटिने गरि डामेरै छाड्यो ।
दुर्भाग्यवश विवेकशील साझा फुटको समाचार मिडियामा आयो । युवाहरूलाई पाखा लगाइएको र बैकल्पिक राजनीति बुझाईको धरातल नै फरक भएको भन्ने तर्क विवेकशीलको थियो भने साझा पार्टीका अधिकांश नेताहरुले उज्ज्वल थापा आफू छायामा परेकाले पार्टी फुटाएको बताएका थिए । विवेकशील र साझाले एकाअर्कालाई गम्भीर आरोपप्रत्यारोप भने लगाएनन् बरु शुभकामना आदानप्रदान गरे । भबिस्यमा एउटा त्यस्तो बिन्दु आओस् जहाबाट पुनः हामी एक भएर हिड्न सकियोस् भन्ने प्रार्थना सम्म गरे ।
अलग्गिए पश्चात् विवेकशील नेपालीले “नीति सम्मेलन तथा राष्ट्रिय अधिवेशन” मिति तोक्यो तर उक्त अधिवेशनमा तत्कालीन विवेकशील संस्थापक अध्यक्ष उज्ज्वल थापाले आफुले पुनः अध्यक्षको लागि उम्मेद्बारी नदिई नया पुस्ताको नेतृत्वलाई खुलेर स्वागत गरे । उज्ज्वल थापाको नेतृत्व हस्तान्तरणको नवीन शैली ऎतिहासिक भएको भन्दै अधिकांशले खुलेर प्रशंसा समेत गरेका थिए । फुटको बेला साझाका नेताहरूले उज्ज्वल थापालाई लगाएको आरोप यहाँनेर गतिलो तरिकाले झुठो साबित भएको थियो । अधिवेशन पश्चात् मिलन पाण्डेको अध्यक्षता विवेकशील नेपाली अगाडि बढ्दै गयो । त्यसैगरी साझा पार्टी पनि आफ्नै तरिकाले संगठन निर्माण गर्दै विभिन्न अभियानहरुमा सामेल हुँदै अगाडि बढ्दै गर्दा साझा पार्टीका तत्कालीन प्रबक्ता सुर्यराज आचार्य र केन्द्रिय सदस्य मुमाराम खनाले राजिनामा दिए ।
अलग्गिए पछिको आन्दोलन, अभियानको क्रममा दुबैले एकाअर्काको अभावलाई महसुस गरेका थिए । साझा पार्टीमा युवा पंक्तिको अभाब खड्किएको थियो भने विवेकशीलका युवाहरुलाई गतिलो मार्गदर्शन गर्ने पाकोपुस्ताको अभाव नराम्रो संग खड्किएको थियो । विवेकशील नेपालीले आफ्ना सम्पुर्ण सार्वभौम सदस्यहरु बिच भोटिङ गराएरै दुई तिहाई सदस्यको मतको आधारमा एकताको तयारी गरेको थियो भने साझा पार्टीको केन्द्रिय समितिले एकताको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो ।
करिब ६ महिनाको एकताको प्रयासले सम्पुर्ण बिषयहरु टुङ्गो लगाएको छ । बराबरी सिद्धान्तलाई आत्मसात गर्दै जसअनुसार एकीकृत पार्टीको पुरानै नाम “विवेकशील साझा” र चुनाव चिन्ह “तराजु” नै रहने भएको छ । एकीकृत पार्टीको अध्यक्षमा रबिन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहने भएका छन् । हाललाई दुबै पार्टीले बोकेका सिद्धान्तलाई स्विकार्ने सहमती भएको छ । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षमा जनमतसंग्रह गर्नुपर्ने साझाको जोड छ भने विवेकशीलले हालको संविधानलाई शिरोधार्य गर्नुपर्ने बताउदै आएको छ । यद्यपि एकीकृत पार्टीको सैद्धान्तिक बिषयहरुलाई एकता महाधिवेशन बाट टुङ्गो लगाउने सहमति भएको छ।
संगठन बिस्तारलाई प्राथमिकतामा राख्दै प्रत्यक्ष जननिर्वाचित कार्यकारी नेतृत्व, बिदेशमा रहेका नेपालीको मताधिकार, भ्रष्टाचारको भन्डाफोर अभियान, शिक्षा, स्वास्थ, बिजुलीपानी लगायत आम नेपाली जनताको सामान्य जनजीवन संग सम्बन्ध राख्ने मुद्दाहरुलाई मुख्य एजेन्डाको रुपमा घोषणापत्रमा समाबेश गरेर बृहत अभियानमा लाग्न सके बैकल्पिक राजनीतिको निर्विकल्प “विवेकशील साझा” बन्न सक्ने संभावना अधिकांशले देखेका छन् । “विवेकशील साझा” शुभेच्छुक सम्पुर्णमा मेरो तर्फबाट बधाई तथा शुभकामना ।। नेपालको जय होस्
-मनिष प्रयास