के छ एन्फाले गरेका महत्वपूर्ण १८ निर्णयमा?


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि भएको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।

अब खेलाडीहरुले समान १८ हजार पाउने निर्णय गरेको छ । यसअघि राष्ट्रिय पुरुष टोलीका खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।

यस्तै, फिफा रेफ्रिको तलब ६ हजारबाट बढाएर १० हजार बनाउने निर्णय एन्फा कार्यसमितिले गरेको छ । कर्मचारीको तलबका विषयमा भने अझै कार्यदल गठन गरी टुङ्ग्याउने एन्फाले जनाएको छ ।

प्रेस विज्ञप्तीको पूरा पाठः

अखिल नेपाल फुटबल संघ (एन्फा) को मिति २०७७ मंसिर २५ गते ११औं केन्द्रिय कार्यसमिति बैठक सफलतापूर्वक सम्पन्न भयो । स्वर्गिय अर्जेटिनी फटबलर डिएगो अरमान्डो म्याराडोनाको सम्झनामा एक मिनेट मौन धारण गर्दै शुरु भएको बैठकमा निम्न बमोजिमका निर्णयहरु पारित गरियो।

१. एन्फा क्लब लाइसेन्सिङ्गका मापदण्डहरु पारित गर्ने निर्णय गरियो

२. एन्फाका विभिन्न डिपार्टमेन्टहरुको स्ट्राटेजिक प्लान अनुमोदन गर्ने निर्णय गरियो

३. युवा विकास परियोजना पारित गर्ने निर्णय गरियो

४. वर्ल्ड कप क्वालिफाइङ्ग प्रतियोगिताको तयारी गर्न उपाध्यक्ष उपेन्द्र मान सिंहको संयोजकत्वमा, स्थानीय संयोजक (लोकल जेनरल कोअर्डिनेटर) विजय घले र सुरक्षा समिती संयोजक दिनेश व्यन्जनकार सहित समन्वय गरि मैत्रीपुर्ण खेलहरुमा सहभागिता तथा आयोजना गर्ने निर्णय गरियो र उक्त कार्यको लागी मंसिर २८ बाट बन्द प्रशिक्षण शुरु गर्ने निर्णय गरियो

५. एन्फाको कार्यक्रम अनुसार स्थगित भएका प्रतियोगिताहरु शहिद स्मारक बी डिभिजन लिग २०७६/७७ का बाँकी खेलहरु, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय महिला लिग, राष्ट्रिय लिग लगायतका प्रतियोगिता आयोजनाकालागि राष्ट्रिय खेलकुद परिषद्मा स्वीकृति माग्ने निर्णय गरियो

६. एन्फा कांग्रेस (साधारण सभा) बैठक माघ ६ गते गर्न राष्ट्रिय खेलकुद परिषद्मा स्वीकृतिका लागि पठाउने निर्णय गरियो

७. राष्ट्रिय पुरुष र महिला टोलीको तलबभत्ता समान १८,००० कायम गर्ने, फिफा रेफीहरुको तलबभत्ता ६,००० बाट बढाएर १०,००० पुर्याउने । कर्मचारीको पारिश्रमिक सम्बन्धमा कार्यदल गठन गरि उक्त कार्यदलले तीन दिनभित्र अध्ययन गरि प्रतिवेदन पेश गरि नियमाअनुसार तलब वृद्धि गर्ने, कर्मचारी नियमावली पारित गर्ने निर्णय गरियो

८. खेलाडी दर्ता नियमावली संशोधन गर्न उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा आगामी कार्य समिति बैठकमा पारित गर्ने गरि प्रतिवेदन पेश गर्ने निर्णय गरियो

९. एन्फाको कृत्रिम घाँसे खेल मैदानमा ट्रेनिङ्ग फ्लडलाइट जडान गर्ने निर्णय गरियो

१०. फुटसल र बीच सकर प्रतियोगिता आयोजना गरिने र उक्त कार्यकोलागि फुटसल र बीच सकर समितीले अध्ययन गरि प्रस्ताव पेश गर्ने निर्णय गरियो

११. कास्की स्थित एन्फा बहुउदेश्य फुटबल टेक्निकल सेन्टर निर्माणकोलागि टेण्डर आह्वान गर्ने

१२. जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना तथा निर्माण गर्न सम्पुर्ण प्रकृया पुरा गरेका ११ जिल्ला (धनुषा, कैलाली, गोरखा, बाँके, मकवानपुर, इलाम, बर्दिया, नुवाकोट, उदयपुर, झापा, सिन्धुपाल्चोक) मा स्थानीय सरकारले कुल लागतको ५० प्रतिशत साझेदारी गर्ने गरि निर्माण कार्य गर्ने निर्णय गरियो

१३. एन्फा फिटनेश सेन्टर स्तरउन्न्ती कार्य गर्न मेडिकल कमिटी संयोजक निरज खड्गीलाइ जिम्मेवारी दिने गरि र सोभीनियर सप निर्माण गर्न तथा एन्फा एकाडेमी र होस्टेल संचालन गर्न दिनेश व्यन्जनकारको संयोजकत्वमा राजेन्द्र न्यौपाने र अरुणमान जोशीलाइ जिम्मेवारी दिने निर्णय गरियो

१४. नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जोहान कालिनले नोभेम्बर १ बाट लागु हुने गरि दिएको राजीनामा स्वीकृत गर्ने, हाललाइ बाल गोपाल मर्हजनलाइ कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्त गर्ने निर्णय गरियो

१५. कास्की जिल्ला संघका अध्यक्ष मिलन गुरुङ्गसँग सम्बन्धित विषयमा प्राप्त प्रतिवेदन सहित अनुशासन र कानुन समितीमा राय माग गर्दै पेश गर्ने निर्णय गरियो

१६. किरण राइको संयोजकत्वमा गठित विधान संसोधन मस्यौदा समितीले सम्पुर्ण सदस्य संस्थाहरुसँग तालिका तयार गरि देशव्यापीरुपमा विधान संसोधनकोलागि मस्यौदा तयार गरि आगामि कार्यसमितीको बैठकमा पेश गर्ने निर्णय गरियो

१७. सुदुरपश्चिम प्रदेश फुटबल संघमा दिनेश श्रेष्ठ र प्रदेश नम्बर २ मा नेपाल कार्कीको नेतृत्वमा गठित प्रदेश फुटबल संघलाइ अनुमोदन गरियो साथै प्रदेश फुटबल संघ गठन तथा समन्वयकालागि निम्न प्रतिनिधिहरु तोक्ने निर्णय गरिएको छ
• कर्णाली प्रदेश: कुमार के. सी
• बाग्मती प्रदेशः पुर्णमान चित्रकार
• लुम्बिनी प्रदेशः कृष्ण थापा
• गण्डकी प्रदेशः प्रकाश पंगेनी

१८. एन्फा पूर्व उपाध्यक्ष स्वर्गीय ललित कृष्ण श्रेष्ठ तथा नेपाली फुटबलको दिग्गा पूर्व खेलाडी स्वर्गीय मणि शाहको अर्धकदको शालिक एन्फा परिसरमा निर्माण गर्ने निर्णय गरियो

किरण राई
प्रवक्ता, एन्फा

प्रेस विज्ञप्तीको वास्तविक प्रति

 


Loading comments...