यस्तो छ बैठकमा उपस्थित नहुनुको कारणबारे सभामुखको प्रष्टोक्ति (प्रेसनोटसहित)


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले उनी मंगलबार संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुनुको कारणबारे प्रस्ट्याउँदै प्रेस नोट जारी गरेको छ ।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान ८ः३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक रहेको र त्यसको अध्यक्षता स्वयम् भएको सभामुखले गरेको प्रेस नोटमा जनाइएको छ ।

यस्तो छ प्रेस नोट

सम्माननीय सभामुखको सचिवालय
प्रतिनिधिसभा, संघीय संसद
प्रेस नोट

संवैधानिक परिषद्को मिति २०७७ साल मंसिर २८ र ३० गतेको बैठकमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिलाई लिएर उठेका प्रश्न स्पष्ट पार्न यो प्रेस नोट जारी गरिएको छ ।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८ : ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नु भएको यस अघि नै जानकारी गराइसकिएको छ । स्मरण रहोस्, त्यस दिन विहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो ।

जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो । राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।

नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको छ ।

उहाँले संसदलाई जीवन्त र जनमुखी बनाउने सूत्र वाक्यलाई हृदयङ्गम गरि जननिर्वाचित सर्बोच्च निकाय संघीय संसदको गरिमालाई माथि उठाउने विषयलाई सदैब जोड दिँदै आउनु भएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको अवगत नै छ ।

उहाँ संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैब सचेत हुनुहुन्छ ।

श्रीधर न्यौपाने
प्रेस विज्ञ,
२०७७ मंसिर ३०


Loading comments...