
‘बीबीसी मास्टर सेफ’ शाहलाई एनआरएनएको बधाई तथा शुभकामना
लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्रि फाइनलिस्टमा पुग्न सफल गैरआवासीय नेपाली सन्तोष साहलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सफलताको लागि बधाई तथा शुभकामना दिएको छ ।
संघले आफ्नो आधिकारीक टुवीटर ह्याण्डल मार्फत विहिवार रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाइरहेका ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्रि फाइनलिस्ट सन्तोष साहलाई सफलताको लागि शुभकामना दिएको हो ।
नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन्। योसँगै उनी फाइनल राउन्डमा प्रवेश गरेका छन्। ।
बीबीसी वानमा प्रशारित फाइनल राउन्डको पहिलो चरणबाट ७ प्रतियोगीबाट अघि बढ्दै उनी टप ३ मा पुगेका हुन्। विहीवार (आज) आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन्।
बुधवारको शोमा सन्तोषले जिम्बुले झानेको भेडाको मासुलाई गुन्द्रकमा बेह्रेर चर्चित सेफको टेबलमा पस्केका थिए। साथै उनले स्पाइसी सोयाबिन क्रम्ब्स, पुदिनाको पराठा, बोन म्यारो ससलगायतका खाना पकाएर निर्णायकहरुको मन जित्न सफल भए।
रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाइरहेका ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्रि फाइनलिस्ट सन्तोष साहलाई हार्दिक बधाई तथा सफलताको कामना । pic.twitter.com/D0HLMHoue1
— NRNA Official (@NrnaOfficial) December 17, 2020
प्रतियोगिताको दोस्रो राउन्डमा सन्तोषलगायत त्यहाँ उपस्थित सेफलाई आफूलाई सबैभन्दा मनपर्ने मानिसका लागि खाना बनाउन भनिएको थियो।
सन्तोषले आफू १२ वर्षको हुँदा स्थानीय नहरमा काम गर्दाको समयलाई सम्झदै आफ्नी आमाका लागि परिकार बनाए। कामको बीचको ब्रेक हुन्थ्यो । ब्रेकमा आमाले उनलाई खाजा ल्याइदिन्थिन्। आमा–छोरा दुबै सँगै खान्थे। उनले आफ्नो विशेष समयलाई स्मरण गर्दै अन्जिर र अदुवा भरेर चिप्ली भिन्डी तारे, आँप र नरिवलको चटनी बनाए, आलु, मेथी र अनारको सलाद बनाए, केसर हालिएको भात, गँगटोको तरकारी सस, तारेको हरियो खुर्सानीसँगै पुरी बनाए। साथै उनले चकलेट र ऐंसेलुको सम्मिश्रणले उत्कृष्ट पकवान तयार पारे।
‘मास्टरसेफ च्याम्पियन २०२०’ को उपाधिका लागि सन्तोषसँगै अन्य दुई सेफसँग कडा प्रतिस्पर्धा हुदैछ ।