कोरोनाविरुद्धको खोप ओमानमा पनि लगाउन सुरु


ओमान। फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमान पनि पुर्‍याइएको छ । पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमानमा लगिएको हो । पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ल्याइएको ओमानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओमानले भाइरसविरूद्ध फाइजर र बायोएनटेकले निर्माण गरेको खोप खरिद गरेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । मन्त्रालयले आउँदो आइतबारदेखि खोप अभियान सुरु गर्ने पनि जनाएको छ ।

यस अभियानको नेतृत्व त्यहाँका स्वास्थ्य मन्त्री डा.अहमद बिन मोहम्मद अल सईदीले गर्ने छन् । पहिलो चरणमा फ्रन्टलाइन काम गर्नेहरु, दीर्घ रोगी, वृद्ध वृद्धालाई खोप दिइनेछ । मन्त्रालयले ६० प्रतिशत जनसंख्यालाई खोप दिने तयारी गरेको छ ।

ओमानमा कार्यरत नेपालीसहित आप्रवासी कामदारले पनि यो खोप पाउने छन् । दोस्रो ब्याचको भ्याक्सिन भने आगामी जनवरीमा ल्याइने ओमान सरकारले जनाएको छ ।


Loading comments...