नयाँ प्रजातिको कोरोना संक्रमणको जोखिमबाट जोगिन कतारस्थित नेपाली दूतावासको आग्रह


दोहा। नयाँ प्रकारको कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूलाई साबधानी अपनाउन आह्वान गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ ।

दूतावासाले कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु( तोकिएको संख्याभन्दा बढी हुने गरी भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन भनेको छ ।

यस्तै विभिन्न पर्व उत्सवहरु मनाउँदासमेत स्थानीय नियम कानून तथा संस्कति अनुरुप मर्यादित ढंगले तथा भीडभाड नगरी मनाउन पनि अनुरोध गरिएको छ ।

यद्यपि कतारमा कोरोना बिरुद्धको खोप भने सुरु भैसकेको छ । कतारमा हिँडडुल गर्दा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अहिलेसम्म मास्क नलगाउने ४ हजार १०५ जनालाई पक्राउ गरिसकिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

नयाँ प्रकारको कोरोनाको जोखिम बढ्ने भन्दै साउदी, कुवेत, ओमान लगायतका मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाएका छन् । ती देशहरूले सीमा क्षेत्रका स्थल मार्ग र जल मार्ग पनि बन्द घोषणा गरेका छन् ।


Loading comments...