सन् २०२० लाई सब माफ!


नयाँ वर्षको प्रारम्भमा पुरानो वर्षलाई दोष दिने चलन नयाँ हैन तर सन् २०२० ले जति गाली त कुनै अरु वर्षहरुले पनि पाएको छैन । यो वर्ष यस्तो भयो, त्यस्तो भयो, मान्छे मरे, मेरो मनपर्ने कलाकार मर्यो, मेरो आफन्त बिते, ब्यापारमा घाटा भयो आदिजस्ता कुराहरु झिकेर वर्षलाई दोष थापेर्नु चाँही बचपना हुनसक्दछ । विश्वको रित नै यहि हो, यहाँ राम्रा अनि नराम्रा, चाहेका र नचाहेका सबै कुराहरु भइनैरहन्छन्, वर्ष त केवल समय मापनको एउटा आधार न हुन् ।

सन २०२१ को पहिलो दिन, म सन् २०२० लाई धन्यवाद दिन चाहन्छु । विश्वलाई पछिल्ला १००औं वर्षहरुले गर्न नसकेको परिवर्तन यस वर्षले आफ्नो कार्यकालमा गरिदिएको छ । अफिसहरु घरघरवाट चलिरहेछन्, स्कुल घरघरमा नै छन्, मास्कले मुख ढाकेको छ, सेतो कोट लगाउनेहरुको भूमिकालाई लडाकू सेना सरहको बनाएको छ यो वर्षले ।

कोभिडको पनि कुरा गर्दा कोभिड १९ भनेपछि सन् २०१९ मा नै देखिएको कोभिडलाई सन् २०२० मा आएको भनि सराप्नुको के तर्क होला र ? अनि फेरि यस्ता कोभिड जस्ता अनेकन महामारीहरु यस विश्वले देखिसकेको अनि भोगिसकेको छ, कोभिड पनि चक्र झैं आफ्नो पालोमा आएको किटाणु होला जस्लाई हामी सबै मिलेर परास्त गर्नेछौं ।

शितयूद्धमा नै रहेको यस विश्व पछिल्ला वर्षहरुमा अमेरिका चीन, इरान, सिरिया, लिविया लगायतका द्धन्दहरुमा बिभाजित थियो, कोभिडले विश्वलाई एकतत्र बनायो कोभिडसंग लड्नका लागि , यो राम्रो पक्ष हो । नत्र पछिल्ला वर्षहरुमा विश्व समुदाय यसरी कुनै पनि कुरामा एकसाथ भएको पाइन्न ।

मान्छेहरु मारिनु राम्रो कुरा हैन तर फेरि मृत्यू र जीवन हाम्रो हातमा छैन । कोभिड फगत एउटा कारण थियो, यस अघि पनि गरिबी र भोकमरीले मात्र प्रतिवर्ष लाखौं मान्छे मरिरहेका नै हुन्, सफा पानी पिउन नपाँउदा मर्नेको लर्कोको फेरिहिस्त त कसैले राखेकै छैन, यस वर्ष कोभिड ले जतिकै गरिबीले पनि मान्छेहरु मरे । चाहे २०१९ होस्, २०२० होस् या २०३० होस्, हरेक वर्ष मान्छेहरु मर्नेछन्, मर्ने कारण फरक होला, किटाणु फरक होला र हाम्रा आफन्तहरु पनि त्यस सूचीमा पर्लान तर मान्छेको मृत्यूले वर्षको प्रभाव मापन गर्दैन ।

आफ्नो घरभित्र बस्ने फुर्सत नपाएका व्यस्त मान्छेहरुका लागि सन् २०२० नै त्यस्तो वर्ष हो जहाँ सर्वाधिक धेरै समय घरभित्र बित्यो । व्यापारहरु डामाडोल भए तर व्यापारहरु आँफैमा चुनौति हुन्, चनाखो भएर सोचौं यी समस्याको हल सन् २०२१ ले दिनेछ ।

सन् २०२० मा पनि अन्य वर्षह्रु झैं मान्छेहरुले बाँचे, हाँसे र माया गरे, आँशु झर्ने बग्रेल्ति कारणहरु यस वर्षले पनि दियने, अन्य वर्षहरु झैं तर अनेकन आशा र उपलव्धीहरु यस वर्षले दिएर नगएको हैन ।

घरभित्रै बसेर सामान किन्न, पढ्न, काम गर्न अनि भिडियो च्याट मार्फत कुरा गर्न अपरिहार्य बनाइदिएको यस वर्षमा मान्छे मान्छे बिचमा अंगालोहरु च्याट वक्सको ईमोजीले प्रतिस्थापन गरेको छ, मायालाई लभ रियाक्टले प्रतिस्थापन गरेको छ, चियागफलाई जुमले अनि अनेक मानविय संवेदनाहरुको स्वरुपहरु परिवर्तन भएको छ ।

यस वर्षले हामीलाई भाइरस विरुद्ध लड्न सिकायो, एकजुट हुन सिकायो, कोरोना लागेर क्वारेन्टाइनमा बस्दा र निको हुँदा जीवनको अर्को परिभाषा कैयौंलाई दिएर गयो । यस वर्षमा कोभिडका कारणले मृत्यू भएका सबैप्रति हार्दिक श्रद्धासुमन छ, आगामी वर्षमा मृतकको सख्याँ क मगर्न सबै निकायहरु लाग्नका लागि सन् २०२० ले नै सिकाएर गएको हो ।

भ्याक्सिनको आशा , प्रतिवद्धता र प्रारुप पनि सन् २०२० ले नै दिएर गयो । डोनाल्ड ट्रम्पकलाई हटाएर बाइडेनलाई सर्वशक्तिशाली राष्ट्रको सर्वोच्च नेतृत्वमा राखेको यस वर्षले भारतीय अफ्रिकी अश्वेत महिला कमला ह्यारिशलाई अमेरिकी भूमिको उपराष्ट्रपति जस्तो गरिमामय पदमा राखिदियो ।

नेपालका सेफ सन्तोष साहले विश्वप्रसिद्ध पककलाको टेलिभिजन शो ‘मास्टरशेफ युके’मा नेपाली खानालई यसै वर्ष विश्व सामु राखिदिए । उता अमेरिकी आइडलमा नेपाली मूलका आर्थर गन, दिवेश पाख्रेलले नेपाली आवाजमा पश्चिमी सङ्गीतले नेपाल र नेपालीलाई चिनाए ।

भने पछि के दिएन यस वर्षले ?

राजनितिलाई पर सार्दछु, जनताको नासो जनतालाई फिर्ता दिएको वाक्याशंमा साथ विगठन गरिएको संसदका मुद्धाहरु सन् २०२१ मा केलाइनेछ । सन् २०२० मा त हामीले संघीय गणतान्त्रिक नेपालका अनेक पक्षहरुको अभ्यास गर्यौं । उखु किसानका उदेक लाग्दा पिडाहरु पनि सन् २०२० मा सम्वोधन हुन सकेनन, आगामी वर्षले यसलाई निर्णयक चरणमा लानेछ ।

ग्लोवलाइजेशनका आधारहरु सन् २०२० ले निकै कमजोर बनायो, दोश्रो विश्वयूद्ध पछि संसार यति शून्य र शान्त भएको थिएन । उड्ययन र पर्यटन पूर्णत प्रभावित भए, कैयन हवाइजहाजहरु थन्किएर बसेका छन् । एयरवसले आफ्नो विशाल ए३२० को उत्पादन रोकने निर्णय पनि सन २०२० को फे्ब्रुअरी १४ मा गरेको थियो, उता बोइगं कम्पनी पनि ७४७ म्याक्सको एमक्याश प्रविधीका कारणले प्रभावित छ । यी सबै रुटिनका कुराहरु हुन्, तलमाथि भएन भनें वर्षहरु बाँचनुको के मज्जा ?

सन् २०२० आँफैमा एउटा उत्कृष्ट वर्ष थियो, रोलर कोस्टर जस्तो कहिले के होला भन्ने उत्साह र त्रास दुबै । घरै बसि बसि एड्रेलिन चल्यो यस वर्ष, जस्तै लिंगे पिंग मच्चिएर माथिवाट तल झर्दा फ्रि फल हुन्छ त्यस्तै सन् २०२० ले अनेक पटक फल गरायो र उठायो ।

होटलहरुका कोठाहरु विदेशी पर्यटकका कारणले नभरिएपनि नेपाली पर्यटकहरुले साथ छाडेका छैनन, पोखरार काठमाण्डौ लगायत अन्य पर्यटकीय गन्तव्यमा मान्छेहरुको चहलपहलमा कमि छैन । यस वर्षले नेपाली पर्यटन व्यवसाहीलाई स्वदेशीय पाहुनाहरुको पनि महत्व देखाइदियो ।

बिश्वास राख्नुहोस् सन् २०२० फलदायी थियो, यस वर्षलाई हामीले शताव्दी सम्म भुल्ने छैनौं । सबैको कार्यसिद्धि होस् ।

 


Loading comments...