अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने,के-के चाहिन्छ कागजात ? यस्तो छ प्रक्रिया


काठमाडौँ । आजदेखि संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने भएका हुन् ।

एकपटक विभागको अनलाइन प्रणालीबाट Biometrics (Iris आँखाको स्क्यान बा Fingerprint औंठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाहरुले अनलाइनबाट पुनः श्रम स्वीकृति सेवा लिन सक्ने बैदेशिक रोजगार विभागले जनाएको छ ।

अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न बैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np को *अनलाइन श्रम स्वीकृति (FEIMS)’ मार्फत फारम भर्नुपर्ने छ । फारम भरिसकेपछि शाखा छान्ने बेलामा Online Branch छान्नुपर्नेछ ।

श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन Reject भएमा त्यसको कारण सहितको SMS आवेदकको मोबाइल नं र आवेदन गर्दाको User Account मा सूचना जाने भएकाले आफ्नो मोवाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ । त्यस्तै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको Username र Password सुरक्षित राख्नुपर्नेछ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको FEIMS को User Account र इमेल ठेगाना दुबैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेभएकाले आवेदक आफैले आवश्यकता अनुसार प्रिण्ट गर्न सकिनेछन । त्यस्तै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भूक्तानी प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिनेछ । यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुनेछ ।


Loading comments...