जापानमा बजेका १०८ घण्टहरु र हाम्रा १०८ कमी कमजोरी : “जोया नो काने”


एशियाली देशहरुमा १०८ घण्ट या १०८ धाराहरु र १०८ भजन तथा मन्त्रहरुको ठूलो महत्व छ । नेपालमा शुभ तथा वैदिक कार्यहरुमा १०८ पटक अंकको धार्मिक, सांस्कृतिक विश्वास तथा प्राचिन मान्यता हामीले सुन्दै बुझ्दै अनि देख्दै आएका हौं । १०८ धारामा नुहाउनुको फल, १०८ दिनको जाप, १०८ मन्त्रोच्चारण, १०८ परिक्रमा लगायत अन्य धेरै विश्वासहरु रहेको छ ।

सुर्योदयको देशको उपनामले विश्व प्रविधि जगतमा परिचित देश जापानमा नयाँ वर्षको दिन गएर मन्दिर या गुम्बाहरुमा १०८ पटक घण्ट बजाउने चलन सदियौंदेखि चलिआएको छ छ । यस वर्ष अर्थात् सन् २०२१ को जनवरी १ मा छापिएको जापान टाइम्सको ताजा संस्करणले “नयाँ वर्षमा मन्दिरमा गएर १०८ घण्ट बजाउनु भयो?” (Happy  New Year! Did you visit a temple (or shrine) on the first of January, and ring the bell 108 times, per Japanese tradition?) भनी लेख नै प्रकाशित गरेको थियो ।


१०८ पटकले १०८ बोनो अर्थात मान्छेका १०८ कमजोरीहरुलाई प्रतिबिम्बित गर्ने गर्दछ । महत्वाकांक्षा, नास्तिकता, परस्त्रीगमन, जुवा, रिस, राग, हेपाई, निराशावाद, घोचपेच, कम आत्मविश्वास, द्वेश, पीडा, ईष्र्या, झुठ, नकारात्मकता लगायत अन्य धेरै भावनाहरु र सोचहरुलाई १०८ कमजोरीमा जापानी रितले राखेको छ । जापानी रितका अनुसार एउटा पीडकले आफूले सँधै आफू पीडाको विरोधमा भएको र आफूजस्तो सज्जन कोही नभएको बिश्वास राख्दछ । तसर्थ आफ्ना कमजोरी पत्ता लगाउन सबैले पूनरावोलोकन गर्नै पर्दछ ।

लेखकः सुयोग ढकाल

यसरी १०८ पटक घण्ट बजाएपछि मानवले हरेक घण्टको पछाडिका कारणहरु र कमजोरीहरुलाई पुनरावलोकन गर्दै आफू स्वच्छ हुने प्रयास गर्नु पर्दछ भन्ने जापानी संस्कारमा उल्लेख छ ।

कोही पनि मान्छे यी १०८ कमजोरीबाट मुक्त त हुनै सक्दैन तर मान्छेको प्रयास भने सँधै यि कमजोरीबाट पर जान सक्नु हुनपर्ने कुरा बताइन्छ । जापानमा नयाँ वर्षका दिन हरेक मन्दिर र गुम्बाहरुमा १०८ घण्टहरुको अविछिन्न आवाजहरु गुञ्जीए । अन्य वर्षहरु भन्दा यस वर्ष त्यहाँ १०८ घण्टहरु बजाउन जाने मान्छेहरुको सँख्या बढि थियो, भौतिक दुरी कायम गर्दै घण्ट बजाएका मान्छेहरुका आँखामा जीवनका कमजोरी र पापाबाट मुक्ति पाउँदै स्वच्छताको आशा स्पष्ट देखिन्थ्यो ।

‘जोया नो काने – Joya-no-Kane’ अर्थात् जापानी वाक्यांश जसको अर्थ हुन्छ “१०८ पटक घण्ट बजाउने”, यस वर्ष जापानी सामाजिक सञ्जाल र अधिकांश जनजीवनका बोलीचालीमा निकै सुनियो । जापानी बुद्धिज्मका अनुसार मान्छेहरु सबै भौतिक चाहहरुबाट तठस्त रहनुपर्दछ र यि १०८ घण्टमध्य १०७ घण्टले पुराना वर्षका चाहहरु लाई पर भगाएको हो र अन्तको एउटा घण्ट चाँही नयाँ वर्षका लागि हो । सनातन हिन्दु सभ्यतामा झैं त्यहाँ पनी घण्ट बजाउने मात्र नभई घण्ट श्रवण गर्ने सबैलाई समेत यस्को सकारात्मक उर्जा प्राप्त हुन्छ । जापानका स्थानीय केहि शहरका मन्दिरहरुका घण्टहरु त यति ठूला छन् कि तिनलाई बजाउन पनि दर्जनौं मान्छेहरु वरिपरि बस्नुपर्ने हुन्छ ।

“जोया को काने”का बारेमा जापानी समाचार एजेन्सी क्योतो, जापान टाइम्स लगायत अन्य थुप्रै जापानी समाचार एजेन्सीहरुले लेखेका थिए ।

यसरी घण्ट बजाउन र आवाज सुन्न मन्दिर जानेहरुले मन्दिरको काठको बाकसमा ५ ऐनको सिक्का चढाउने चलन हुन्छ जस्लाई साइसेन भनिन्छ । यसरी सिक्का चढाउन अघि सिक्कालाई हावामा उछालेर दुई पटक ताली बजाउने र मन्दिर भित्र हेर्ने चलन छ । यसो गर्दा सम्बन्धमा राम्रो हुने र सकारात्मक समय (Good Luck – गुड लक) आउने मान्यता छ ।

जापानका घण्टहरुले विश्वबन्धुत्व र विश्वशान्तिको पैरवी गरुन, नयाँ वर्षको शुभकामना !

तस्वीरहरुः जापानी युवाहरुको सामाजिक सञ्जाल

 


Loading comments...