प्रतिनिधीसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा (भिडियो सहित)


काठमाण्डौ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा विघटित संसद पुनर्स्थापनाको माग गर्दै विरोधमा ओर्लिएको नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमूहको नेकपाले दोस्रो चरणको ब्यापक आन्दोलनको घोषणा गरेको छ ।

दोश्रो चरणको आन्दोलनका सम्बन्धमा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत प्रेस विज्ञप्ती जारी गर्नुभएको छ ।

जारी विज्ञप्तीको पूरा पाठ जस्ताको त्यस्तैः

प्रिय पत्रकार मित्रहरु,
सर्वप्रथम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय संघर्ष समितिको तर्फबाट सम्पूर्ण पत्रकार मित्रहरुलाई संघर्षको दोस्रो चरणको कार्यक्रम घोषणा गर्न आयोजित यस पत्रकार सम्मेलनमा स्वागत गर्दछौं । सदा झै यहाँहरुले आ-आफ्नो सञ्चार माध्यम मार्फत् हाम्रो विचार-धारणा र संघर्षको कार्यक्रम जनस्तरसम्म पुयाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं ।

हाम्रो पार्टीले वर्तमान सरकारको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको घोषणा असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी भएकोले त्यसको विरुद्धमा संघर्षको घोषणा गरेको र पहिलो चरणको संघर्षको कार्यक्रम व्यापक जनसहभागिता सहित सफलतापूर्वक सम्पन्न भएको सर्वविदितै छ । पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न भएपछि हामीले प्रतिनिधि सभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमको विरुद्धमा रहेका सबै राजनीतिक पार्टीहरुसँग संयुक्त संघर्ष गर्ने पहलकदमी स्वरुप वार्ता गयौं । तर अझ सम्म पनि त्यस बारेमा निर्णय भई नसकेकाले संविधान र लोकतन्त्रको रक्षाको लागि विरोध एवम् संघर्षका कार्यक्रममा समन्वय कायम गर्दै संयुक्त प्रहार केन्द्रित गर्ने गरी आज हामीले आफ्नो तर्फबाट संघर्षको दोस्रो चरणको कार्यक्रम घोषणा गरेका छौं ।

वर्तमान के पी ओली सरकारले संविधानमाथि हमला गर्दै लोकतन्त्रको सबै मान्यतालाई क्षत विक्षत बनाएको छ । आफैले प्रतिनिधिसभा विघटनको घोषणा गराउने काम गरिसकेपछि सरकार स्वतः काम चलाउ हुने संवैधानिक एवम् लोकतान्त्रिक मान्यताका विरुद्ध नियमित सरकार झै मन्त्रिपरिषद पुनर्गठन लगायतका जथाभावी निर्णयहरु गरिरहेको छ । संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णयमा सामेल भएर पनि अध्यादेश कायमै राख्ने र संवैधानिक परिषद्को बैठक बसेको पछिल्लो मितिमा कुनै निर्णय भएको छैन भनी रेकडेड अभिव्यक्ति दिएर पनि त्यही बैठकबाट विभिन्न नियुक्तिको सिफारिस गरेको लज्जास्पद गतिविधि समेत देखिएको छ । संविधान र लोकतन्त्रको न्यूनतम मान्यता र मर्मको विरुद्धमा यस प्रकारका गतिविधिहरुको तीव्र भर्त्सना गर्दछौं।

हामी पुन स्पष्ट रुपमा जोड दिन चाहन्छौं, असंवैधानिक कदमलाई पूर्ण रुपमा असफल पारेर प्रतिनिधि सभा सुचारु नगर्दासम्म र प्रतिगमनको खतरालाई निस्तेज नपार्दासम्म हाम्रो संघर्ष जारी रहनेछ । हाम्रो आन्दोलन पूर्णरुपमा शान्तिपूर्ण हुनेछ ।

भिडियो हेर्नुहोस्ः

पहिलो चरणको संघर्षको कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने र आ-आफ्नो तर्फबाट असंवैधानिक एवम् प्रतिगामी कदमको विरुद्ध आवाज उठाउर्दै विभिन्न प्रकारका विरोध कार्यक्रम गर्नहुने राजनैतिक पार्टीहरु, नागरिक समाज, विभिन्न संघसंस्था, पत्रकार र आम जनसमुदाय सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । दोस्रो चरणको संघर्षको कार्यक्रम सफल पार्नका लागि सबैको सहभगिता र सहयोगको लागि अपील गर्दछौं ।

दोस्रो चरणको संघर्षको कार्यक्रम
१. २०७७ पौष २० गते सम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
२. २०७७ पौष २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समति गठन ।
३. २०७७ पौष २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया कार्यक्रम ।
४. २०७७ पौष २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम ।
५. २०७७ पौष २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विरोध पत्र । विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
६. २०७७ पौष २६ गते सडक संविधान वाचन-व्याख्या कार्यक्रम ।
७. २०७७ पौष २७ गते (सुदूरपश्चिम, टिम्बनी र प्रदेश १), २८ गते प्रदेश २, गण्डकी र कर्णालीमा) र पौष २९ गते बागमतीमा वृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम ।
८. २०७७ पौष २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुद्ध सबै वडाहरुमा व्यानर राख्ने कार्यक्रम ।
९. २०७७ पौष २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला ।
१०. २०७७ माघ २ गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा ।
११.२०७७ माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
१२. २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्र्याली ।
१३. २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा मा विरोध प्रदर्शन र सभा । माघ १७ गते प्रदेश नं. २ मा विरोध प्रदर्शन र सभा ।
१४. २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस ।
१५. २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा ।
१६. यस बीचमा उद्योग व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम र लेखक-कलाकारहरु, संस्कृतिकर्मीहरु र बुद्धिजीवीहरुको विशिष्ट प्रकारको कार्यक्रमहरु आयोजन गरिने ।
१७ यस बीचमा दोस्रो चरणको कार्यक्रमको शुरु देखिनै स्थानीय पार्टी र जनवर्गीय संगठनहरुले सिर्जनात्मकरुपले कार्यक्रमलाई निरन्तरता दिने ।

धन्यवाद !
नारायणकाजी श्रेष्ठ
संयोजक केन्द्रीय संघर्ष समिति

विज्ञप्तीको वास्तविक प्रति


Loading comments...