बेइजिङमा हजारौँले लिए खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन सुरु


बेइजिङ । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौँ बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ ।

खोप लिन हजारौँ मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् ।दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन् ।

स्वास्थ्य अधिकारीहरुले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेका छन् । यस खोपको प्रभावकारिता झन्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ ।

बेइजिङमा ठूलो संख्यामा मानिसहरु स्थानीय अस्पतालहरु र सामूदायिक स्वास्थ्य केन्द्रहरुमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सीसीटीभीले प्रसारण गरेको छ । स्वास्थ्य अधिकारीहरुले जिम र कारखानाका खाली भवनहरुलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।

चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोगअन्तर्गत् करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ । जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरु रहेका छन् ।

अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी सुरु गरेको छ ।

यसैबीच, बेलायतले पनि सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ ।

अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो ।

निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एकजना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान सुरु गरिएको छ ।

विश्वभर कोरोनाभाइरसको संक्रमणबाट १८ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झन्डै आठ करोड ५० लाख मानिस संक्रमित भएका छन् । संक्रमण दर लगातार वृद्धि हुनुका साथै मानिसको मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ ।

बेलायतले पहिलो चरणमा अस्ट्राजेनिकाको खोप पाँच लाख ३० हजार डोज उपलब्ध गराउँदैछ ।

प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढ्दै गएकाले आगामी दिनहरु निकै कठिन रहेको बताउँदै खोप अभियान व्यापक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।


Loading comments...