सुवास नेम्वाङको निरीहता देख्दा दया लागेको छ – गगन थापा


काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले संसद विघटनविरुद्ध आजदेखि संबैधानिक इजलासमा हुने सुनुवाईका बारेमा टिप्पणी गर्दै तत्कालिन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै नेता थापाले नेम्वाङ अहिले कसैले केही सोध्लान की भनेर लुकेर बसेको भन्दै प्रश्नबाट भागेको आरोप लगाएका छन् । उनले आफैले बनाएको संविधानमा ”कु” हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको बताएका छन् ।

गगनले भनेका छन् – 

प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ । म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ, मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर-”श्रीमान्  प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो।मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय (Legislative Intent)यस्तो हुँदै होइन”भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ ।

अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ । आफैले बनाएको संविधानमा ”कु” हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।

संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन । मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ ।


Loading comments...