हुम्लाको दार्मास्थित विद्यालय भवन विस्तार निर्माणका लागि भारतद्वारा साढे ४ करोड आर्थिक सहयोग


भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली-दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जिल्लाको चंखेली-दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि आज एक सम्झौतापत्रमा हस्ताक्षर भयो । नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको यस परियोजनाका लागि भारत सरकारले रु. ४.४१३ करोड आर्थिक सहयोग प्रदान गरेको हो।

सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग आबद्ध रहेको छ।

साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ । सो परियोजना अन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । यी मध्ये १४ बटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् जसमा हुम्ला जिल्लामा निर्माण सम्पन्न एक विद्यालय तथा चार विद्यालय निर्माण परियोजना विविध चरणमा रहेका छन्।

नजिकका छिमेकी भारत र नेपालबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध रहेको छ । प्राथमिकताको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको प्रयासलाई पूर्णता दिन भारत सरकारको निरन्तर प्रतिबद्धतालाई पनि दुई देशबीच सम्पन्न आजको यस सम्झौतापत्रले प्रतिबिम्बित गरेको छ।


Loading comments...