
प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा छौँ : भट्टराई
कास्की । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपानिकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई बिहीबार पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए ।
उनले भने, ‘‘पूर्वप्रधानन्यायाधीश, बारका पूर्वअध्यक्षहरु, कानुन व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाइ चलिरहेकोे छ, हामीलाई विश्वास छ अदालतले संसद् पुनःस्थापना गर्नेछ ।’’ नेता भट्टराईले प्रचण्ड–माधव नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी रहेकाले सूर्य चुनाव चिह्न पनि यही पार्टीको हुने दाबी गरे । नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले प्रधामन्त्रीले अन्तै बाटो लिएपछि आफ्नो पार्टी जनताको परिर्वतन र समृद्धिका लागि नयाँ सङ्कल्पसहित जनतामाझ आएको बताए । उनले भने, ‘‘हामीले सुशासन र समृद्धि भनेका थियौँ, स्थायित्वका साथ समाजवादको यात्रामा अघि बढेका थियौँ । तर, अहिले बाध्यताबस नयाँ बाटो हिँड्न बाध्य छौँ । जनताको सपना पूरा गर्न निरन्तर लागिरहन्छौँ ।’’ नेता पौडेलले प्रधानमन्त्रीलाई काम गर्न पार्टीमा कुनै अवरोध र घेराबन्दी नभएको दाबी गरे ।