भारतले नेपाललाई दियो १० लाख डोज कोरोना भ्याक्सिन


काठमाडौं। भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन दिने भएको छ। स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् । खोप भोली (बिहीबार) काठमाडौं आइपुग्नेछ। भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्रिपाठीले बताए।
पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ। जसमा सरसफाइकर्मी, स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने मन्त्री त्रिपाठी बताए।

उनका अनुसार खोप ल्याउने सबै तयारी पूरा भइसकेको छ। उनले यो सहयोग नेपाल र भारतबीच मित्रताको एउटा अनुपम उदाहरण भन्दै भारत सरकारलाई धन्यवाद दिए।

‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै-धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ, ‘उनले भने ।

उनले भ्याक्सिन खरिदमा कुनै जटिलता नभएको समेत बताए । मन्त्री त्रिपाठीका अनुसार बाँकी रहेको खोप जोखिम रहेका अन्य जनसंख्यालाई दिइनेछ। बाँकी खोप खरिद प्रक्रिया पनि अब छिट्टै अगाडी बढाउने समेत उनले बताए। कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने नेपाल सरकारो तयारी छ।

भारतले नेपाललगायत भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ।


Loading comments...